१० चैत्र २०८२ मंगलबार
image/svg+xml
समाज

पक्की पुल बनेपछि स्थानीय खुसी

फाइल तस्बिर

भोजपुरको हतुवागढी गाउँपालिका र आमचोक गाउँपालिकालाई जोड्ने एखुवा खोलामा पक्की पुल बनेपछि स्थानीयवासीले वर्षौँदेखिको सास्तीबाट राहत पाएका छन्। खोलामा पक्की पुल नहुँदा लामो समयदेखि जोखिम मोलेर आवत–जावत गर्दै आएका स्थानीय अहिले सहज रूपमा सडक यातायात उपयोग गर्न सक्षम भएका छन्।

कोशी प्रदेश सरकारअन्तर्गत पूर्वाधार विकास कार्यालय भोजपुरको सात करोड ३७ लाख रुपैयाँ लागतमा निर्माण सम्पन्न गरिएको पुलको लम्बाइ ३७ मिटर रहेको पूर्वाधार विकास कार्यालयका प्रमुख राजनराज रेड्डीले जानकारी दिए। एक स्पानमा निर्माण भएको यो पुलले हतुवागढी–९ हसनपुर र आमचोक–८ लाई प्रत्यक्ष रूपमा जोडेको छ।

पुल बनेपछि स्थानीयमा खुसी छाएको छ। पहिले वर्षातको समयमा खोला तर्न नसक्दा बिचमै रात बिताउनुपर्ने अवस्था रहने गरेकोमा अब सडकमार्ग सहज बनेको स्थानीय सन्तोष राई बताउँछन्। पुल निर्माणले गाउँघरमा उत्पादन भएको कृषि उपजको बजारीकरणमा सहज भएको उनको भनाइ छ।

‘एखुवा खोलामा पुल नहुँदा हामीले धेरै सास्ती भोग्यौँ,’ उनले भने, ‘अब कृषि उपज बजारसम्म सहजै पुर्‍याउन सकिने भएको छ।’

पुल सञ्चालनमा आएपछि दक्षिणी क्षेत्रमा बसोबास गर्ने स्थानीयको आवत–जावत सहज भएको हतुवागढी–९ हसनपुरका वडाध्यक्ष सञ्जाल राईले जानकारी दिए। उनका अनुसार वर्षौँदेखिको समस्या अन्त्य गर्दै पक्की पुलले स्थानीय विकास र आर्थिक गतिशीलतामा सकारात्मक असर पार्ने देखिएको छ। एखुवा खोलाको यो पक्की पुल राउत कन्स्ट्रक्सनले निर्माण गरेको हो। रासस

प्रकाशित: ६ मंसिर २०८२ ०६:३७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App