८ चैत्र २०८२ आइतबार
image/svg+xml
समाज

भारतीय पक्षले बाँध नखोल्दा गौर डुबानमा

लगातारको अविरल वर्षा र भारतीय पक्षले सीमामा रहेको बाँधको ढोका नखोल्दा रौतहट सदरमुकाम गौरसहित दर्जनौं सीमावर्ती गाउँहरू निरन्तर डुबानमा परेका छन्।

बाढीको पानीले निकास नपाउँदा गौर र ईशनाथ नगरपालिकाका सयौं घर डुबानमा परेका छन् भने जनजीवन कष्टकर बनेको छ।

नेपाली पक्षले पटक-पटक अनुरोध गर्दा पनि भारतीय पक्षले बाँधको ढोका नखोलेपछि गौर क्षेत्र जलमग्न भएको हो।

रौतहटका प्रमुख जिल्ला अधिकारी विनोद खड्काले भारतीय समकक्षी (डिएम) लाई पानीको सहज निकासका लागि बाँधका ढोका खोल्न अनुरोध गरे पनि त्यसको सुनुवाइ भएको छैन।

सोमबारदेखि नै नेपाली सुरक्षा प्रमुखहरूले गरेको आग्रहलाई बेवास्ता गर्दै भारतीय पक्षले उल्टै बाँध क्षेत्रमा सुरक्षा गस्ती बढाएको छ।

गौर नगरपालिकाका मेयर शम्भु साहले पनि भारतीय पक्षसँग अनौपचारिक संवाद गरी ढोका खोल्न आग्रह गरेको र पानीले निकास पाउने आशा व्यक्त गर्दै सामाजिक सञ्जालमा पोस्ट गरेका थिए। तर, भारतले ढोका नखोलेपछि सदरमुकामवासीले सामाजिक सञ्जालमा भारतीय पक्षको चर्को आलोचना गरिरहेका छन्।

सदरमुकामसहित आधा दर्जन पालिका प्रभावित

बाग्मती, लाल बकैया, झाँझ र चादी नदीमा पानीको बहाव उच्च हुँदा रौतहटका गौर, ईशनाथ, परोहा, गुजरा, गढीमाई लगायत आधा दर्जनभन्दा बढी पालिकाका बस्तीहरु प्रभावित भएका छन्। सदरमुकाम गौरमा मात्रै तीन फिटसम्म पानी जमेको छ।

जिल्ला प्रशासन कार्यालय, पूर्वाधार विकास कार्यालय, जिल्ला समन्वय समिति र गौर नगरपालिका जस्ता मुख्य सरकारी कार्यालय परिसरहरू जलमग्न भएका छन्।

त्यसैगरी, सशस्त्र प्रहरीको गौर भन्सारस्थित बीओपी, नेपाल प्रहरीको भन्सार सुरक्षा चौकी, सशस्त्र प्रहरीको ११ नम्बर गण र बेलबिछवाको बीओपी समेत डुबानमा परेका छन्।

निरन्तरको डुबानका कारण गौर र ईशनाथ नगरपालिकाका कैयौं गाउँमा खानेपानीको चरम अभाव भएको छ भने बाढीजन्य रोग तथा महामारी फैलिन सक्ने भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन्।

सदरमुकाम गौरबाट चल्ने सार्वजनिक यातायात सञ्चालन हुन नसकेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी राजु कार्कीले जानकारी दिए। यसैबीच, गौर नगरपालिकाले आफ्नो ट्याक्टर प्रयोग गरी भारततर्फबाट नेपाल प्रवेश गर्ने क्रममा गौर नाकामा अलपत्र परेका यात्रुहरूको उद्धार गरिरहेको मेयर साहले जनाए।

प्रकाशित: २१ आश्विन २०८२ १४:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App