२८ जेष्ठ २०८३ बिहीबार
image/svg+xml
समाज

डुँडियाघाटमा पक्की पुल, बाह्रै महिना सवारी सञ्चालन हुने भएपछि स्थानीय खुशी

काठेखोला गाउँपालिकाको तंग्राम–भीमपोखरा जोड्ने डुँडियाघाट पुल उद्घाटन गर्दै गण्डकी प्रदेश आर्थिक मामिला मन्त्री जीतबहादुर शेरचन। तस्बिर : संगम घर्ती मगर/नागरिक।

हरेक वर्ष, काठेखोला गाउँपालिका–३ धम्जा र ४ तंग्राम जाने नागरिकले सास्ती खेप्नुपर्थ्यो। बर्खामा खोला बढेपछि वारिको गाडी वारि र पारिको पारि हुन्थ्यो। काठेखोला गाउँपालिका–२ र ४ को डुँडियाघाटमा काठेखोला माथि पुल नहुँदा बर्खामा खोला बढेपछि यात्रुले निकै सास्ती खेप्थे।

तंग्राम, धम्जा र ताराखोलाका विभिन्न वडामा जाने सवारी बर्खायाममा खोलामा पुल नहुँदा लामो दूरी तय गरेर कि त बिहुँ हुँदै आउनुपर्थ्यो, कि त अर्को लामो बाटो भीमपोखरा हुँदै बागलुङ आउनुपर्थ्यो। अब भने यहाँका नागरिकले यी दुःख भोग्नुपर्ने छैन।

काठेखोलाको लामाबगरमा केही वर्षअघि नै पक्की पुल बनिसकेको छ भने डुँडियाघाटमा पक्की पुल निर्माण भएपछि नागरिकको सास्ती सकिएको हो। काठेखोला गाउँपालिका–२ भीमपोखरा र वडा नं. ४ तंग्राम जोड्नेगरी निर्माण भएको उक्त पुल मंगलबार गण्डकी प्रदेश सरकारका आर्थिक मामिला मन्त्री जीतबहादुर शेरचनले उद्घाटन गरेका छन्।

गण्डकी प्रदेश सरकार पूर्वाधार विकास कार्यालय बागलुङमार्फत ३ करोड ६२ लाख २२ हजार ३५ रुपैयाँमा निर्माण भएको उक्त पुल बीएमए निर्माण सेवाले बनाएको हो।

पुल उद्घाटन गर्दै मन्त्री शेरचनले पूर्वाधार, खानेपानी र स्वास्थ्य क्षेत्रमा उल्लेखनीय काम भएको बताए। उनले भने, “प्रदेश सरकार निर्माण भएपछि गाउँ–गाउँमा पूर्वाधार र खानेपानी क्षेत्रमा उल्लेखनीय काम भएका छन्। राष्ट्रिय गौरवका आयोजनाबाहेक अन्य स्थानमा पनि प्रदेश सरकारको लगानीमा पुल निर्माण भएका छन्। गाउँ–गाउँमा एक घर एक धारा निर्माण भएका छन्।”

स्वास्थ्य क्षेत्रमा पनि केही काम भएको बताउँदै उनले प्रदेश सरकारका विषयमा विभिन्न टिकाटिप्पणी भए पनि ग्रामीण विकासमा प्रदेश सरकारले महत्वपूर्ण योगदान गरेको बताए।

“संघीयता आएपछि संघको आँखाले नदेखेका धेरै पूर्वाधार विकासका काम प्रदेशले गरेको छ,” उनले भने, “यसलाई अझ व्यवस्थित र जनमुखी बनाउनुपर्छ। हामी विगतभन्दा केही फरक ढंगले काम गर्ने र पाइलट प्रोजेक्ट बनाएर यहाँको समृद्धिका लागि काम गर्ने गरी आगामी वर्षको बजेट ल्याउने तयारीमा छौं।”

स्थानीय स्रोत–साधनको समुचित प्रयोग गरेर आर्थिक विकास गर्ने विषयमा केही संघीय ऐनले समस्या पारेको उनको भनाइ छ।

गण्डकी प्रदेश सरकारको पूर्वाधार विकास कार्यालय बागलुङमार्फत निर्माण भइरहेको उक्त पुलका लागि बीएमए निर्माण सेवाले २०८० कात्तिक १७ गते १८ महिनाभित्र निर्माण सम्पन्न गर्नेगरी सम्झौता गरेको थियो। आरसीसी टी–बिम प्रकारको पुल ८.४० मिटर चौडाइ र २० मिटर लम्बाइको रहेको छ।

पूर्वाधार विकास कार्यालयले ४ करोड १२ लाखभन्दा बढी लागत अनुमान तयार गरेकोमा निर्माण कम्पनीले १२.३५ प्रतिशत कम मूल्यमा ठेक्का लिएको थियो। निर्माण कम्पनीले कामको जिम्मा लिँदा ३ करोड ६२ लाख २२ हजार रुपैयाँ कबोल गरेको थियो।

यो पुल निर्माण भएपछि धम्जा, तंग्राम र ताराखोला समेत यसै सडक हुँदै बाह्रै महिना सवारी सञ्चालन हुनेछन्। धम्जा देउराली सामुदायिक होमस्टेका सञ्चालक हिमाल सागर श्रेष्ठले पुल निर्माण भएपछि सवारी सञ्चालन सहज हुने र होमस्टेमा आउनेको संख्या बढ्ने विश्वास व्यक्त गरे।

“बर्खामा खोलामा गाडी डुबेर इन्जिन नै बिग्रिन्थ्यो, अब त पुल बन्यो, यो वर्षदेखि त सजिलो भयो,” उनले भने, “हामीले गाउँमा भर्खर होमस्टे सञ्चालनमा ल्याएका छौं। बाटो सहज भएपछि पाहुनाको संख्या पनि बढ्ला।”

ताराखोला जानका लागि काठेखोलाको तंग्राम र धम्जा देउराली हुँदै जान छोटो दूरी पर्ने भए पनि पुल नहुँदा बर्खामा सवारी साधनलाई समस्या हुने गरेको थियो।

बर्खाको समयमा धम्जाबाट बिहुँ हुँदै घुमेर जानुपर्ने बाध्यता पुल निर्माण भएपछि हट्ने काठेखोला–४ का पूर्वअध्यक्ष केशव थापाले बताए।

“दुई घण्टाको बाटो घुम्दा चार घण्टा लाग्थ्यो, अब पुल बन्यो, सजिलो हुने भयो। सडकको पनि स्तरोन्नति भइरहेको छ। अब एक घण्टामै तंग्राम पुग्न सकिने भएको छ,” उनले भने।

डुँडियाघाटमा मात्र नभई काठेखोलाका विभिन्न स्थानमा धमाधम पुल निर्माण भइरहेका छन्। पालिकाभित्र दुईवटा पक्की पुल सञ्चालनमा आइसकेका छन् भने एउटा पुल निर्माणको अन्तिम चरणमा पुगेको छ।

गाउँपालिकाको सिफारिस तथा प्रदेश सरकारको १२ करोड लगानीमा काठेखोलाभित्र तीनवटा पक्की पुल निर्माण भएको गाउँपालिका अध्यक्ष राजु थापाले बताए।

“तीनवटा पक्की पुल निर्माण भएपछि रेश, तंग्राम र धम्जामा अब बाह्रै महिना यातायातका साधन चल्ने भएका छन्,” गाउँपालिका अध्यक्ष थापाले भने।

गाउँपालिका वडा नं. ६ बिहुँ र वडा नं. २ भीमपोखरा जोड्ने गरी लामाबगरमा दुई वर्षअघि ३० मिटर लामो पक्की पुल निर्माण भएको थियो। उक्त पुल ३ करोड ३१ लाख लागतमा निलगिरि/नेशनल जेभीले निर्माण गरेको हो।

गत वर्षदेखि रेश जाने सडकको एक्लेखेतमा २५ मिटर लामो पक्की पुल निर्माण भएको थियो। उक्त पुल ५ करोड लागतमा प्रदेश सरकारको भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्था मन्त्रालयले निर्माण गरेको थियो।

प्रकाशित: ५ जेष्ठ २०८३ २०:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App