मान्छे जन्मन्छ, बाँच्दछ र एक दिन मृत्युमा पुग्छ। यो प्रकृतिको अनिवार्य चक्र हो। तर सबै मृत्यु समान हुँदैनन्। केही मानिसको बिदाइ केवल एउटा परिवारको पीडा बनेर सीमित रहन्छ भने केही व्यक्तित्वको अनुपस्थितिले समाजभर खालीपन महसुस हुन्छ। समाजसेवी सन्तोषप्रसाद रिजाल यस्तै व्यक्तित्व मध्येका एक थिए ।
उनको निधनको खबर सार्वजनिक भएसँगै सामाजिक सञ्जाल श्रद्धाञ्जलीका शब्दले भरिए। जसले उनलाई नजिकबाट चिनेका थिए, उनीहरूका लागि यो एउटा असल साथी, अभिभावक र प्रेरक गुमाउनु थियो। जसले टाढाबाट मात्र उनको काम देखेका थिए, उनीहरूका लागि समाज परिवर्तनमा चुपचाप लागिरहने एउटा इमानदार अभियन्ताको बिदाइ थियो।
वैशाख १९ गते शनिबार काठमाडौंस्थित हेम्स अस्पतालमा उपचारका क्रममा उनको निधन भयो । जीवनको अन्तिम समयसम्म पनि उनी कुनै ठुलो प्रचार, चर्चा वा सम्मानको खोजीमा देखिएनन् । तर उनको बिदाइपछि समाजले महसुस गर्यो, शब्दभन्दा बढी कामले परिचित एउटा व्यक्तित्व अब हामीमाझ रहेन। आइतबार राजधानीमा आयोजित समवेदना सभामा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति थियो। कार्यक्रममा उनीसँग काम गरेका साथीहरू, सामाजिक अभियन्ता, व्यवसायी, रोटरी तथा जेसीजसँग जोडिएका व्यक्तिहरू र उनलाई नजिकबाट चिनेका युवाहरू सहभागी थिए।
कार्यक्रममा बोल्ने अधिकांश व्यक्तिहरूको भनाइ एउटै थियो, सन्तोष रिजाल पदका कारण ठुलो बनेका होइनन्, व्यवहारका कारण सम्मानित बनेका थिए ।
रोटरीका डिस्ट्रिक्ट गभर्नर विनोद कोइरालाले सामाजिक क्षेत्रमा रिजालले पुर्याएको योगदानको चर्चा गर्दै उनको अभाव सधैँ खट्किरहने बताए । ‘उहाँले समाजका विभिन्न क्षेत्रमा पुर्याउनुभएको योगदान केवल संस्थागत उपलब्धि होइन, त्यो एउटा सोच थियो ’ उनले भने, ‘समाजका लागि केही गरिरहनुपर्छ भन्ने चेतना थियो अब उहाँले देखेका सपना पूरा गर्नु नै उहाँप्रतिको साँचो सम्मान हुनेछ ।’
सन्तोषसँग लामो समय काम गरेका उनका सहकर्मी अनिश बज्राचार्य भावुक देखिन्थे । उनका अनुसार सन्तोषको जीवन नै शिक्षाप्रद थियो । ‘सामाजिक संस्थामा आफ्नो जीवन होमेका सन्तोषका हरेक व्यवहार अनुकरणीय थिए,’ बज्राचार्यले भने, ‘उहाँ अहिले भौतिक रूपमा हामीसँग हुनुहुन्न । तर उहाँका सुकर्महरूले सधैँ हामीलाई मार्ग निर्देशन गरिरहनेछन् ।’

कार्यक्रममा सहभागी धेरैले एउटा समान अनुभव सुनाए, सन्तोष रिजालले कहिल्यै आफूलाई केन्द्रमा राखेनन् । उनले कामलाई केन्द्रमा राखे । अरूलाई अघि बढाउन खोजे । सफलता आफ्नो नाममा होइन, संस्थाको नाममा लेखाउन रुचाए ।
सन्तोषप्रसाद रिजालको कर्मथलो विराटनगर थियो । सामाजिक सेवा र नेतृत्व विकासको क्षेत्रमा उनले विराटनगरलाई आधार बनाए । तर उनको काम केवल एउटा शहरमा सीमित रहेन। उनले नेपाललाई अन्तर्राष्ट्रिय मञ्चसम्म चिनाउने अवसर पनि पाए ।
विराटनगरमा हुर्किएको एउटा सामान्य युवाले समाजसेवा र नेतृत्वमार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा आफ्नो पहिचान बनाउनु सहज कुरा थिएन । तर रिजालले त्यो सम्भव बनाए ।
उनी विराटनगर जेसीज वर्ष १९८७ को अध्यक्ष बने। त्यति बेला जेसीज युवाहरूलाई नेतृत्व विकास र सामाजिक उत्तरदायित्वमा जोड्ने महत्त्वपूर्ण संस्था मानिन्थ्यो। रिजालले स्थानीय स्तरमा नेतृत्वको अभ्यास मात्र गरेनन्, युवाहरूलाई सङ्गठित गर्ने र उनीहरूलाई समाजप्रति जिम्मेवार बनाउने अभियान चलाए ।
उनको नेतृत्व क्षमता र कार्यशैलीकै कारण उनी पछि नेपाल जेसीजको राष्ट्रिय अध्यक्ष बने। त्यो समय देशभर युवाहरूलाई नेतृत्व विकासमा जोड्न उनले महत्त्वपूर्ण भूमिका खेले। उनी भाषणभन्दा व्यवहारमा विश्वास गर्थे । युवाहरूलाई निर्देशन दिनेभन्दा अवसर दिने उनको शैली फरक थियो।
पछि उनले अन्तर्राष्ट्रिय जेसीजमा पनि नेपालको प्रतिनिधित्व गर्ने अवसर पाए। सन् १९९८ मा उनी अन्तर्राष्ट्रिय जेसीजको कार्यकारिणी उपाध्यक्ष बने। त्यो पद हालसम्म कुनै नेपालीले प्राप्त गरेको सबैभन्दा ठुलो पद मानिन्छ ।
सन्तोष रिजालको अर्को महत्त्वपूर्ण परिचय रोटरी इन्टरनेशनलसँग जोडिएको थियो। नेपाल र भुटानअन्तर्गतका क्लबहरूको गभर्नरका रूपमा उनले सामाजिक सेवाको अभियानलाई अझ व्यवस्थित बनाउने काम गरे।
रोटरीमार्फत शिक्षा, स्वास्थ्य, खानेपानी, विपद् सहायता र सामाजिक सहयोगका क्षेत्रमा उनले सक्रिय भूमिका खेले। उनले संस्थालाई केवल औपचारिक कार्यक्रम गर्ने थलो बन्न दिएनन्। समाजमा वास्तविक परिवर्तन ल्याउनुपर्ने आवश्यकता बारम्बार उठाए ।
उनीसँग नजिक रहेकाहरूका अनुसार रिजाल कुनै पनि कार्यक्रममा सहभागी हुँदा त्यसको प्रभावबारे बढी चिन्तित हुन्थे । कार्यक्रम भयो कि भएन भन्नेभन्दा त्यसले कसको जीवनमा परिवर्तन ल्यायो भन्ने कुरा उनका लागि महत्त्वपूर्ण हुन्थ्यो ।
सामाजिक सेवामा लागेका धेरै मानिसहरू चर्चामा आउन चाहन्छन् । तर रिजाल त्यसको ठिक विपरीत थिए। उनले कहिल्यै प्रचार खोजेनन् , काम गरिरहे। सम्भवतः यही कारणले उनको अनुपस्थितिमा समाजले उनको महत्त्व अझ गहिरो गरी महसुस गरिरहेको छ ।
सन्तोष रिजाललाई चिन्नेहरू उनलाई ‘शान्त नेतृत्वकर्ता’ भन्थे । उनी नेतृत्वलाई पदसँग जोडेर हेर्दैनथे । उनका लागि नेतृत्व भनेको अरूलाई अघि बढाउने प्रक्रिया थियो । उनी युवाहरूलाई सुन्ने गर्थे । सल्लाह दिन्थे । गल्ती गर्दा हप्काउनेभन्दा सिकाउने शैली अपनाउँथे ।
उनको व्यवहारमा विनम्रता थियो । शायद यही कारणले उनी विभिन्न पुस्ताका मानिसहरूबिच समान रूपमा प्रिय बने ।
सन्तोष रिजाल व्यवसायी पनि थिए । तर उनले व्यवसायलाई केवल नाफाको माध्यम बनाएनन्। समाजसँग जोडिएको जिम्मेवारीको रूपमा लिए। उनी विश्वास गर्थे–समाजबाट कमाएको मान्छेले समाजलाई केही फर्काउनुपर्छ। यही सोचले उनी विभिन्न सामाजिक अभियानमा निरन्तर सक्रिय रहे ।
व्यवसायमा सफल हुनु एउटा कुरा हो। तर सफलता समाजसँग बाँड्नु अर्को कुरा हो । रिजालले यही दोस्रो बाटो रोजे ।
उनी औपचारिक सम्मानभन्दा समाजको विश्वासलाई ठुलो उपलब्धि मान्थे । यही कारण धेरै मानिसहरूले उनलाई केवल व्यवसायी वा संस्थाका पदाधिकारीका रूपमा मात्र होइन, भरोसालाग्दो व्यक्तिका रूपमा सम्झिरहेका छन् ।
कुनै व्यक्तिको निधनपछि प्रायः औपचारिक श्रद्धाञ्जली दिइन्छ । केही दिनपछि समाज फेरि आफ्नो गतिमा फर्किन्छ। तर केही व्यक्तित्व यस्ता हुन्छन्, जसको अनुपस्थितिले लामो समयसम्म खालीपन महसुस गराइरहन्छ । सन्तोष रिजाल त्यस्तै व्यक्तित्व थिए ।
उनले छोडेको शान्त नेतृत्व, अनुशासन, विनम्रता र सेवाको भावना अहिले धेरैका लागि प्रेरणाको स्रोत बनेको छ । उनको भौतिक शरीर अब हामीमाझ छैन । तर उनले देखाएको बाटो जीवित छ ।
आज उनी सम्झनामा छन्। भोलि पनि रहनेछन् । किनकि केही मानिसहरू मृत्यु पछि हराउँदैनन् । उनीहरू आफ्ना सत्कर्ममा सधैँ बाँचिरहन्छन् ।
प्रकाशित: ३ जेष्ठ २०८३ १६:२१ आइतबार





