राप्तीसोनारी गाउँपालिका वडा नम्बर २ खोरियाको हरियाली बस्तीबीच बिहान सबेरै गाईभैँसीको घण्टीको आवाजसँगै एउटा नयाँ आर्थिक सम्भावनाको कथा सुरु हुन्छ । परम्परागत खेती र सामान्य पशुपालनमा सीमित यस गाउँमा अहिले डेढ करोड रुपैयाँभन्दा बढीको लगानीमा सञ्चालनमा आएको फर्मले ग्रामीण अर्थतन्त्रलाई नयाँ दिशातर्फ मोडिरहेको छ ।
जननी सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित ‘जननी पशुपन्छी पालन फर्म’ ले ग्रामीण क्षेत्रमा आधुनिक प्रविधि र व्यावसायिक सोचको समिश्रण गर्दै दूध उत्पादनलाई व्यावसायिक स्तरमा विस्तार गरेको छ । करिब तीन बिघा जग्गामा फैलिएको यो फर्मले होलिस्टन फ्रिजन र जर्सी जातका सातवटा दुना गाई, हरियाना जातका दुईवटा भैँसी, एकवटा साँढे तथा करिब १९७ वटा कोरली बाच्छीबाच्छा र पारापारीसहित ठूलो संख्यामा पशु पालन गरिरहेको छ । फागुन १ गतेदेखि सुरु भएको यो फर्मले बजार विस्तार गरिरहेको छ ।
फर्मबाट दैनिक करिब ८० लिटर दूध उत्पादन भइरहेको छ, जुन कोहलपुर, नेपालगन्ज, अगैया र शमशेरगन्जजस्ता सहरी तथा बजारमा नियमितरूपमा आपूर्ति हुँदै आएको छ । गुणस्तरीय दूध उत्पादनका कारण बजारमा माग पनि क्रमशः बढिरहेको फर्मले जनाएको छ । यसबाट ४० देखि ४५ हजार रुपैयाँ आम्दानी हुने गरेको जननी सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडका व्यवस्थापक गणेशबहादुर खत्रीले बताए । ‘ग्रामीण क्षेत्रको प्राकृतिक स्रोत, घाँसे मैदान र वन क्षेत्रको उपलब्धतालाई उपयोग गर्दै सञ्चालनमा आएको यो फर्मले दूध उत्पादन मात्र होइन,’ उनले भने, ‘रोजगारी सिर्जना र स्थानीय आर्थिक चक्रलाई चलायमान बनाउने काम पनि गरिरहेको छ ।’ हाल फर्ममा सातजना स्थानीयले प्रत्यक्ष रोजगारी पाएका छन्, जसले गाउँमै आयआर्जनको अवसर सिर्जना गरेको छ ।
ग्रामीण क्षेत्रमा व्यावसायिक पशुपालन सम्भव छ भन्ने प्रमाण दिनु नै यस परियोजनाको मुख्य उद्देश्य भएको उनको भनाइ छ । ‘हामीले गाउँमै बसेर आधुनिक तरिकाले पशुपालन गर्न सकिन्छ भन्ने देखाउन चाहेका हौं,’ उनी भन्छन्, ‘अहिले दैनिक ८० लिटर दूध उत्पादन भइरहेको छ र यसलाई अझ विस्तार गर्ने तयारीमा छौं ।’ उनका अनुसार फर्मले आफ्नै जग्गामा घाँस उत्पादन गर्दै आएकाले उत्पादन लागत घटाउन ठूलो सहयोग पुगेको छ । बाहिरबाट चारा किन्ने आवश्यकता न्यून भएकोले व्यवसायलाई दीर्घकालीनरूपमा टिकाउ बनाउन मद्दत पुगेको उनको भनाइ छ ।
यस फर्ममा हाल निर्माणाधीन आधुनिक गोठले पशु व्यवस्थापनलाई अझ व्यवस्थित बनाउने अपेक्षा गरिएको छ । पशुहरूको स्वास्थ्य, सरसफाइ र उत्पादन क्षमता बढाउने उद्देश्यले आधुनिक संरचना निर्माण भइरहेको छ । व्यवस्थापक खत्रीका अनुसार पशुपालनलाई परम्परागत शैलीबाट बाहिर निकाल्दै प्रविधिमैत्री बनाउने प्रयास भइरहेको छ । राप्तीसोनारी गाउँपालिका पशुपालनका लागि उपयुक्त क्षेत्र मानिन्छ । यहाँको जलवायु, घाँसे मैदान र वन क्षेत्रले पशुपालनलाई सहज बनाएको स्थानीय किसानहरूको अनुभव छ । यही कारणले पछिल्ला वर्षहरूमा धेरै किसानहरू व्यावसायिक पशुपालनतर्फ आकर्षित हुँदै आएका छन् ।
फर्मले आगामी दिनमा दूध उत्पादन क्षमता बढाउने, पशु संख्या विस्तार गर्ने तथा प्रशोधित दुग्धजन्य उत्पादनतर्फ पनि विस्तार गर्ने योजना बनाएको छ । दही, घिउ र पनिर उत्पादन गर्ने सम्भावनाबारे समेत अध्ययन भइरहेको जनाइएको छ । स्थानीय स्तरमै लगानी, उत्पादन र रोजगारी सिर्जना गर्ने यस्तो मोडेलले ग्रामीण अर्थतन्त्रलाई आत्मनिर्भर बनाउने दिशामा महत्वपूर्ण योगदान पु¥याउने स्थानीयवासीहरूको विश्वास छ । बाहिर पलायन हुँदै गएको युवा जनशक्तिलाई गाउँमै रोक्न यस्ता व्यावसायिक पशुपालन फर्महरू प्रभावकारी माध्यम बन्न थालेका छन् ।
राप्तीसोनारीको खोरियामा सञ्चालित जननी पशुपन्छी पालन फर्म केवल एउटा व्यवसायिक संरचना मात्र नभई ग्रामीण विकासको उदाहरणीय मोडेलका रूपमा उभिएको छ । डेढ करोडभन्दा बढीको लगानी, आधुनिक व्यवस्थापन र स्थानीय स्रोतको उपयोगमार्फत यो फर्मले गाउँमै बसेर पनि आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न सकिन्छ भन्ने स्पष्ट सन्देश दिएको छ ।
प्रकाशित: ३ जेष्ठ २०८३ १९:५२ आइतबार





