१३ कार्तिक २०८३ शुक्रबार
image/svg+xml
समाज

फ्रान्सेली सैनिक आरोहीले खोले पिक ४१ मा नयाँ आरोहण मार्ग

फ्रान्सेली सेनाका तीन पर्वतारोहीले नेपालको ६ हजार ६५४ मिटर अग्लो पिक ४१ को उत्तरी मोहडाबाट नयाँ आरोहण मार्ग खोलेका छन्। फ्रान्सको चामोनिक्सस्थित फ्रेन्च मिलिटरी हाइ माउन्टेन ग्रुप (जिएमएचएम) का तीन सदस्यले गत अक्टोबर १४ मा चार दिनको कठिन आरोहणपछि नयाँ मार्ग पहिचान गरेका हुन्। 

सार्जेन्ट पियोन्टेक तथा कर्पोरल फुइयाद र पाउलिन सम्मिलित टोलीले १ हजार ४०० मिटर लामो नयाँ मार्गबाट शिखर आरोहण गरेको हो। टोलीले उक्त मार्गको नाम फ्रान्सेली भाषामा ‘बोन माताँ’ (शुभप्रभात) राखेको छ। 

टोलीले परम्परागत अल्पाइन शैलीमा आरोहण गरेको जनाएको छ। यस शैलीमा आरोहीले आवश्यक उपकरण र खाद्यान्न आफैँ बोकेर लैजान्छन्। स्थायी वा पूर्वनिर्मित शिविरको प्रयोग नगरी तथा अतिरिक्त अक्सिजन नलिई आरोहण गरिन्छ। प्राविधिक रूपमा चुनौतीपूर्ण हिमाली क्षेत्रमा यस्तो शैलीको आरोहणलाई साहसिक र कठिन मानिन्छ।  

नेपाल र फ्रान्सबीच हिमाल आरोहणको लामो ऐतिहासिक सम्बन्ध छ। सन् १९५० जुन ३ मा फ्रान्सेली पर्वतारोही मौरिस हर्जोग र लुइस लाचेनालले अन्नपूर्ण प्रथमको सफल आरोहण गरेका थिए। आठ हजार मिटरभन्दा अग्लो हिमालको पहिलो सफल आरोहणका रूपमा उक्त उपलब्धि इतिहासमा दर्ज छ। 

पिक ४१ मा नयाँ मार्ग खोल्ने पछिल्लो उपलब्धिले नेपाल र फ्रान्सबीचको पर्वतारोहण सम्बन्धलाई थप निरन्तरता दिएको फ्रान्सेली पक्षले जनाएको छ। 

फ्रेन्च मिलिटरी हाइ माउन्टेन ग्रुप फ्रान्सेली सेनाको माउन्टेन फोर्सअन्तर्गतको विशेष इकाइ हो। यसले सैनिकहरूलाई अत्यन्त कठिन हिमाली तथा उच्च पर्वतीय वातावरणमा काम गर्न आवश्यक सीप र क्षमता विकास गराउने तथा त्यस्ता परिस्थितिमा सैनिकको दक्षता परीक्षण गर्ने काम गर्छ। 

फ्रान्सेली दूतावासका राजनीतिक तथा प्रेस सल्लाहकार दीपेश बिडारीले यससम्बन्धी जानकारी दिएका हुन्।  

प्रकाशित: १३ कार्तिक २०८३ १६:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App