१ कार्तिक २०८३ शनिबार
image/svg+xml
समाज

दसैँअघि लिमचुङबुङले वडा–वडामै पुगेर बाँड्यो सामाजिक सुरक्षा भत्ता

उदयपुरको दुर्गम पहाडी लिमचुङबुङ गाउँपालिकाले दसैँ–तिहारलाई लक्षित गर्दै वडा–वडामै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ ।

वर्षायाममा सडक बिग्रिएको र चाडपर्व नजिकिएकाले ज्येष्ठ नागरिक, अशक्त तथा अपाङ्गता भएका लाभग्राहीलाई सहज बनाउन घुम्ती टोली परिचालन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्देश राईले बताए ।

असोज २६ गते बाँसबोटेबाट सुरु भएको भत्ता वितरण अभियान २९ गते जाँते पुगेर सम्पन्न भएको सामाजिक सुरक्षा शाखा प्रमुख विजय कार्कीले जानकारी दिए । पाँचवटै वडामा कर्मचारी, जनप्रतिनिधि र एसबिआई बैंकका प्रतिनिधि खटिएका थिए।

गाउँपालिकाका १ हजार २०० लाभग्राहीका लागि एक करोड १८ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । वडा नं. १ बाँसबोटेमा ९३ जनालाई १० लाख ५५ हजार, वडा नं. २ ताम्लिछामा ८९ जनालाई नौ लाख ७७ हजार, वडा नं. ४ बलम्तामा १३५ जनालाई १५ लाख ४० हजार र वडा नं. ५ जाँतेमा १०१ जनालाई १३ लाख ५० हजार रुपैयाँ वितरण गरिएको छ।

वडा नं. ३ का लाभग्राहीले भने गाउँपालिका केन्द्र बाराहास्थित एसबिआई बैंकबाट भत्ता बुझेका छन् । घुम्ती टोलीबाट भत्ता लिन छुटेका लाभग्राहीले बैंक खातामा जम्मा गरिएको रकम एसबिआई बैंकका देशभरका शाखाबाट झिक्न सक्ने गाउँपालिकाले जनाएको छ।

प्रकाशित: ३० आश्विन २०८३ १७:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App