२२ भाद्र २०८३ सोमबार
image/svg+xml
समाज

रास्वपाद्वारा बौद्धमा दीप प्रज्वलन, मन्त्री विराज भक्त श्रेष्ठले भने- पुनर्स्थापनामा सरकार गम्भीर

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले प्राकृतिक विपत्तिको सामना गर्न सम्पूर्ण नेपालीहरू एकताबद्ध भएर उभिनुपर्ने बताएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काठमाडौं जिल्ला कार्यसमितिले सोमबार बौद्धनाथ स्तुपामा आयोजना गरेको दीप प्रज्वलन कार्यक्रममा सहभागी हुँदै मन्त्री श्रेष्ठले यस्तो धारणा राखेका हुन्।

गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको अकल्पनीय भीषण बाढीमा परी ज्यान गुमाएका नागरिकहरूको स्मृतिमा घटनाको तेह्रौं दिनको पुण्यतिथि पारेर दीप प्रज्वलन गरिएको हो। सरकारले बाढीमा मृत्युवरण गर्नेहरूको सम्मान स्वरूप सोमबार देशभर राष्ट्रिय शोक मनाइरहेको छ।

शोक समारोहलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले देश यतिबेला गहिरो प्राकृतिक विपत्ति र संकटको घडीबाट गुज्रिरहेको उल्लेख गरे। यस्तो कठिन परिस्थितिमा आपसी मतभेदभन्दा माथि उठेर सबै नागरिक एक जुट हुनुपर्नेमा उनले जोड दिए।

बाढीपहिरोपछि बेपत्ता भएकाहरूको खोजी, उद्धार तथा प्रभावित परिवारहरूको पुनर्स्थापनाका लागि सरकार पूर्ण गम्भीरताका साथ लागिपरेको मन्त्री श्रेष्ठले बताए।

उक्त कार्यक्रममा मन्त्री श्रेष्ठले बाढीमा परी ज्यान गुमाउने सम्पूर्ण स्वदेशी तथा विदेशी नागरिकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरे।

प्रकाशित: २२ भाद्र २०८३ १९:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App