धनगढी उपमहानगरपालिका–१४ फूलबारी एचगाउँकी महिला उद्यमी भावना पुलामी मगरले दुनाटपरी उद्योगलाई आयआर्जनको भरपर्दो आधार बनाएकी छन्। सात वर्षअघि सुरु गरेको सानो प्रयास अहिले परिवारको आर्थिक आधार मात्र नभई स्थानीय महिलाका लागि रोजगारी र सीप विकासको माध्यम बनेको छ।
आठ लाखको व्यक्तिगत लगानीमा सञ्चालित ‘सानीडाँडा फूलबारी दुनाटपरी उद्योग’ मार्फत उनले नियमित उत्पादन र बजार विस्तार गर्दै आएकी छन्। व्यवसायको सुरुवात भने सामूहिक रूपमा भएको थियो। गाउँका २० महिलासँग साझेदारी गर्दै रु एक लाख ५० हजार (अनुदानसहित) लगानीमा सुरु भएको उद्योग अनुभव र आम्दानी बढ्दै जाँदा व्यक्तिगत रूपमा सञ्चालन हुन पुगेको हो।
भावनाका अनुसार विदेश जाने तयारीका लागि राहदानीसमेत बनाएकी थिइन्। तर आर्थिक अवस्था र परिस्थितिका कारण वैदेशिक रोजगारीतर्फ जाने सोच परिवर्तन भयो। त्यसपछि आफ्नै गाउँमै उद्यम सुरु गर्ने निर्णयले उनको जीवनको दिशा फेरियो।
अहिले उद्योगबाट उनी मात्र होइन, सोही क्षेत्रका पाँच स्थानीय महिलाले पनि रोजगारी पाएका छन्। उद्योगबाट मासिक करिब रु दुई लाख ७० हजार बराबरको कारोबार हुने गरेको छ। कच्चापदार्थ, कामदारको पारिश्रमिक, घरखर्च तथा अन्य खर्च कटाएर मासिक करिब रु ३५ हजार बचत हुने गरेको उनको भनाइ छ।
चार सदस्यीय परिवारको सम्पूर्ण खर्च यही व्यवसायले धानेको छ। छोराछोरीको शिक्षा, घरायसी व्यवस्थापनदेखि आर्थिक स्थायित्वसम्म उद्योगकै आम्दानीले सम्भव भएको भावना बताउँछिन्।
उनका अनुसार एक समय परिवारको अवस्था निकै कमजोर थियो। दैनिक गुजारा चलाउनसमेत कठिनाइ थियो। अहिले भने आर्थिक अवस्था सुधारिएको छ र छोराछोरीलाई राम्रो विद्यालयमा अध्ययन गराउन सकेकोमा उनी सन्तुष्ट छन्।
व्यवसायसँगै उनले सीप हस्तान्तरणलाई पनि प्राथमिकता दिएकी छन्। स्थानीय सरकारका कार्यक्रममार्फत धनगढी, अछाम, बर्दिया, हसुलिया लगायत क्षेत्रका ६० भन्दा बढी महिलालाई दुनाटपरी बनाउने तालिम दिइसकेकी छन्।
उद्योगबाट दैनिक तीन हजार दुना र तीन हजार टपरी उत्पादन हुन्छ। टपरी प्रतिगोटा रु चार र दुना रु एकमा बिक्री हुँदै आएको छ। उत्पादन धनगढी, महेन्द्रनगर, झलारी, हसुलिया हुँदै पोखरासम्म पुग्ने गरेको छ। सबैभन्दा ठूलो बजार भने पोखरा रहेको उनले बताइन्।
उनको मेहनत र सफलताले सुदूरपश्चिम प्रदेशस्तरमै पहिचान बनाएको छ। गत वर्ष उनी उत्कृष्ट महिला उद्यमीका रूपमा सम्मानित भएकी थिइन्। अब स्थानीय तथा प्रदेश सरकारबाट थप सहयोग र अनुदान पाए उद्योगलाई अझ विस्तार गर्ने योजना उनले बनाएकी छन्।
प्रकाशित: ३१ जेष्ठ २०८३ २१:२६ आइतबार





