१० चैत्र २०८२ मंगलबार
image/svg+xml
समाज

सुरक्षण मुद्रण केन्द्रले छापेका लाइसेन्स यातायात व्यवस्था विभागलाई हस्तान्तरण

सुरक्षण मुद्रण केन्द्र (सेक्युरिटी प्रिन्टिङ प्रेस)ले पहिलोपटक छपाइ गरेको सवारीचालक अनुमतिपत्र (लाइसेन्स) यातायात व्यवस्था विभागलाई हस्तान्तरण गरेको छ ।  

क्यूआर कोडसहितको लाइसेन्सको परीक्षण सफल भएसँगै केन्द्रका कार्यकारी निर्देशक देवराज ढुङगानाले शुक्रबार यातायात व्यवस्था विभागका सूचना तथा प्रविधि निर्देशक केशव खतिवडालाई लाइसेन्स हस्तान्तरण गरेका हुन्। पहिलो चरणमा केन्द्रले पाँच सय २० थान लाइसेन्स हस्तान्तरण गरेको छ । दोस्रो चरणको करिब एक हजार २०० आवेदकको तथ्याङ्क केन्द्रलाई प्राप्त भएको र छपाइ निरन्तर भइरहेको छ ।  

कार्यकारी निर्देशक ढुङ्गानाले विभागले उपलब्ध गराएको तथ्याङ्कका आधारमा छपाइ तीव्रगतिमा हुने बताउँदै छापिएका नयाँ लाइसेन्सको गुणस्तर परीक्षण गरेर विभागलाई उपलब्ध गराइएको बताए। कार्यकारी निर्देशक ढुङ्गानाका अनुसार पब्लिकमा लाइसेन्स पठाउन उपयुक्त छ वा छैन भन्ने विभिन्न मापदण्ड परीक्षण गरिएको छ । नेपालकै ल्याबमा गरेको परीक्षण सफल भएपछि विभागलाई बुझाइएको हो ।  

विभागका निर्देशक खतिवडाले मुद्रण केन्द्रबाट लाइसेन्स प्राप्त भएसँगै ठूलो समस्या समाधान भएको उल्लेख गरे। उनले भने, “संस्थाको समस्या समाधान भएको छ, हामी हर्षित छौँ । विभागमा विगत चार÷पाँच वर्षदेखि लाइसेन्सको समस्या थियो । पछिल्लोपटक सुरक्षण मुद्रण केन्द्रसँग सम्झौता गरेर लाइसेन्स प्राप्त भएको छ । यस कार्यलाई निरन्तरता दिइनेछ ।”  

लाइसेन्स छपाइका लागि केन्द्र र विभागबीच गत कात्तिक १२ गते सम्झौता भएको थियो । जसअनुसार केन्द्रले छ महिनाभित्र १२ लाख थान लाइसेन्स विभागलाई उपलब्ध गराउनुपर्नेछ । विभागले वैकल्पिक सफ्टवेयर बनाएर दैनिक दुई हजार तथ्याङ्क केन्द्रलाई उपलब्ध गराउन सकिने जनाएको छ । एक महिनाभित्र नयाँ सफ्टवेयर विकास गरिने विभागको भनाइ छ ।

काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–५ मा रहेको सुरक्षण मुद्रण केन्द्रको भवनमा गत कात्तिक २१ गतेदेखि लाइसेन्स छपाइ सुरु भएको थियो । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले केन्द्रमा रहेको  प्रिन्टिङ प्रेसको बटन थिचेर लाइसेन्स छपाइको शुभारम्भ गरेका थिए।  

केन्द्रका कार्यकारी निर्देशक ढुङ्गानाका अनुसार, विभागसँगको सम्झौताअनुसार सुरुको तीन महिना एक लाखका दरले तीन लाख र बाँकी तीन महिनामा नौ लाख गरी १२ लाख लाइसेन्स छपाइ गरिनेछ । केन्द्रले लाइसेन्सका अलावा केही दिनभित्रै हुलाक टिकट छपाइ सुरु गर्ने तयारी गरेको छ । त्यसपछि नागरिकता, अन्तःशुल्क स्टिकर, लालपुर्जा र भिसा स्टिकर छपाइ गर्नेछ ।  

केन्द्रबाट छपाइ हुने कार्डमा चिप्सको सट्टा क्यूआर कोड प्रयोग गरिएको छ । यसमा उच्चस्तरको सुरक्षा प्रणाली रहेका छन् । नयाँ कार्डमा छ तहसम्म सुरक्षा प्रविधि प्रयोग हुनेछ । कार्डमा ३४ प्रकारका सुरक्षा विशेषता रहनेछन्, जसमा केही दृश्य र केही अदृश्य रहनेछन् ।

प्रकाशित: ५ मंसिर २०८२ १८:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App