फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा झापा क्षेत्र नम्बर-५ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साह फराकिलो मतान्तरसहित विजयी भए।
उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई ४९ हजार ६ सय १४ मतको अन्तरले पराजित गरे। बालेनले ६८ हजार ३ सय ४८ मत ल्याउँदा ओली मात्र १८ हजार ७ सय ३४ मतमा सिमित भए।
निर्वाचन परिणाम सार्वजनिक भएसँगै चुनावअघि ‘बालेनले जिते भने आफ्नो कान काट्छु’ भनी अभिव्यति दिएकी रेनुका बरालले भने यतिबेला चर्को मानसिक तनाव र सार्वजनिक सास्ती खेप्नुपरेको छ।
निर्वाचनको समयमा आफ्नो पार्टीप्रतिको समर्थन जनाउने क्रममा दिएको अभिव्यक्तिकै कारण अहिले उनलाई बाटोमा हिँड्नसमेत मुस्किल परेको छ।
कालिमाटी तरकारी बजारमा जाँदा उनलाई केही व्यक्तिले घेराउ गर्दै ‘बालेनले जित्यो, अब कान काट्नुपर्यो’ भन्दै दुर्व्यवहार गरेका थिए। भिडबाट आत्तिएर उनी गाडीमा चढेर भाग्नुपरेको दृश्य सामाजिक सञ्जालमा भाइरल छ।
सामाजिक सञ्जालमार्फत उनले भ्युज बढाउने नाममा आफ्नो अनुमतिबिना भिडियो खिचेर चरित्रहत्या नगर्न चेतावनी दिएकी छन्।
‘म कालिमाटी तरकारी बजार जाँदा मलाई एक हुल भिडले घेरेर कान काट्नुपर्यो भन्दै भिडियो बनाएर सामाजिक सञ्जालमा हाल्नुभएको छ। यसले मलाई मानसिक तनाव दिएको छ।’ उनले भनेकी छन्।
आफूलाई गरिखान दिन अपिल गर्दै उनले कानुनी उपचार खोज्ने बताइन्। ‘मान्छेले दुनियाँ दिवाना गर्दा केही नहुने, मैले गरिखान खोज्दा मलाई मानसिक तनाव दिने ? अब म यसको कानुनी उपचार खोज्न साइबर क्राइममा केस हाल्छु। न्यायका लागि प्रधानमन्त्री सुशीला कार्कीको ढोका ढकढक्याउन जान्छु।’
टिकटकलगायतका प्लेटफर्ममा उनको खोजी गर्दै भिडियो र तस्बिर राखेर एआईको समेत प्रयोग गरी ट्रोल बनाइएपछि उनले आफूमाथि मानसिक हिंसा भएको सुनाइन्।
नारी दिवसको सन्दर्भ पारेर उनले आफूलाई सम्मानपूर्वक बाँच्न दिन आग्रह गरेकी छन्। चुनावी माहोलमा एमालेप्रतिको मायाका कारण आफूले त्यस्तो अभिव्यक्ति दिएको स्पष्ट पार्दै उनले अरु कसैलाई हानि पुर्याउने कुरा नगरेको दाबी गरेकी छन्।
उनले थपिन्, ‘मैले मेरो भिडियोमा मेरै कान काट्ने भनेकी छु, तपाईंहरुको कान काट्ने त भनेकी छैन नि। निर्वाचनको समयमा हरेक पार्टीका कार्यकर्ताले आफ्नो पार्टीप्रतिको स्नेहले केही न केही बोलेकै हुन्छन्। यसमा कसैलाई केको पिर ?’ आफ्नो छोराछोरी, श्रीमान् र इष्टमित्रले पनि सामाजिक सञ्जाल हेरिरहेको उल्लेख गर्दै बाटोमा घेरेर दुर्व्यवहार गर्दा आफ्नो मानवअधिकार र सम्मानपूर्वक बाँच्न पाउने हक हनन भएको उनले औंल्याएकी छन्।
प्रकाशित: २४ फाल्गुन २०८२ १७:१४ आइतबार





