२३ भाद्र २०८३ मंगलबार
image/svg+xml
समाज

माइतीघर मण्डलामा भएको के हो ?

काठमाडौंको माइतीघर मण्डलामा मंगलबार साँझ एक महिलाले आत्मदाहको प्रयास गरेकी छन्।

गोरखा घर भएकी ३० वर्षीया लक्ष्मीदेवी बस्नेतले आफ्नो शरीरमा प्रज्वलनशील पदार्थ खन्याएर आगो लगाएकी हुन्।

आगो दन्किनासाथ प्रहरी र प्रत्यक्षदर्शीले तत्काल उद्धार गरी उनलाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर पुर्‍याएका छन्।

काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) दानबहादुर थापाका अनुसार आगो सल्किनासाथ प्रहरी टोलीले नियन्त्रणमा लिएर उद्धार गरेको थियो।

‘युवतीले प्रज्वलनशील पदार्थ खन्याएर आगो लगाएको देखेपछि तत्काल उद्धार गरी ट्रमा सेन्टर पठाइएको छ,’ एसपी थापाले भने, ‘घटना के रहेछ अनुसन्धान भइरहेको छ।’

मण्डलामा धर्ना दिइरहेका प्रत्यक्षदर्शी महिलाहरूका अनुसार बस्नेत केही समयअघि मात्रै उनीहरूको टेन्टमा आएर बसेकी थिइन्। प्रहरीले उनलाई त्यहाँ बस्न नदिन भनेपछि आफूहरूले सम्झाएको प्रत्यक्षदर्शीहरूको भनाइ छ।

‘प्रहरीले उहाँलाई टेन्टबाट निकाल्न भनेपछि हामीले पनि यहाँ नबस्नुस् भन्यौं। उहाँले ‘हुन्छ, म जान्छु’ भन्नुभएको थियो,’ प्रत्यक्षदर्शी महिलाले भनिन्, ‘त्यसपछि उहाँ टेन्टभित्रै पसेर कपालको जुडो बाँधेर सुत्नुभएको थियो।’

आन्दोलनकारी महिलाहरूका अनुसार साँझ मौनधारण गर्न र मैनबत्ती किन्न आफूहरू सडकपारि पुगेको मौकामा बस्नेतले शरीरमा आगो सल्काएकी थिइन्।

‘हामी मैनबत्ती किन्न गएका थियौं, अचानक मान्छेहरू ‘आगो लाग्यो’ भनेर चिच्याए,’ प्रत्यक्षदर्शीले भनिन्, ‘फर्केर हेर्दा आगो दन्किसकेको थियो। उहाँले पेट्रोल कहाँबाट ल्याउनुभयो, हामीलाई केही थाहा छैन।’

बस्नेतले कुन माग वा समस्याका कारण आत्मदाहको प्रयास गरिन् भन्नेबारे खुल्न सकेको छैन। प्रत्यक्षदर्शीले उनी कुनै अभियानमा संलग्न अभियन्ता भएको सुने पनि उनको व्यक्तिगत माग र आबद्धताबारे आफूहरूलाई जानकारी नभएको बताएका छन्।

घटनाबारे काठमाडौं प्रहरीले विस्तृत छानबिन सुरु गरेको छ।

प्रकाशित: २३ भाद्र २०८३ १९:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App