देशभर जारी अविरल वर्षा, बाढी र पहिरोका कारण संघीय राजधानी काठमाडौंसहित मुलुकका विभिन्न भागलाई जोड्ने प्रमुख राजमार्ग तथा रणनीतिक सडक सञ्जाल पूर्ण रूपमा अवरुद्ध भएका छन्।
पृथ्वी, बिपी, अरनिको, मदन भण्डारी, मध्यपहाडी, सिद्धार्थ तथा कर्णाली राजमार्गका दर्जनौं स्थानमा ठूला पहिरो खस्दा सवारी आवागमन ठप्प भएको छ भने हजारौं यात्रु अलपत्र परेका छन्।
सडक विभाग, सुरक्षा निकाय तथा जिल्ला प्रशासन कार्यालयहरूबाट असोज ११ गते साँझ ५:२० बजेसम्म प्राप्त पछिल्लो विवरणअनुसार सम्भावित मानवीय क्षति रोक्न विभिन्न प्रदेशका दर्जनौं जिल्लामा रात्रि आवागमनमा रोक लगाइएको छ।
बाढी-पहिरोले सडक संरचना बगाएपछि केही स्थानमा वैकल्पिक ग्रामीण सडक प्रयोगमा ल्याइएको छ भने धेरैजसो खण्डमा अनिश्चितकालका लागि सवारी आवागमन रोकिएको छ।
बागमती प्रदेश र संघीय राजधानी जोड्ने लाइफलाइन मानिएका राजमार्गहरू पहिरोका कारण पूर्ण रूपमा बन्द भएका छन्। लगातारको वर्षाका कारण नारायणगढ-मुग्लिन सडक खण्ड तथा धादिङस्थित पृथ्वी राजमार्गका विभिन्न स्थानमा निरन्तर पहिरो खसिरहेकाले बिहीबार देखि अर्को सूचना नआएसम्मका लागि सबै सवारी साधनको आवागमन बन्द गरिएको छ।
यसअघि गत असोज ८ गते राति करिब ११:१० बजे धादिङको बेनीघाट रोराङ गाउँपालिका-७ कृष्णभीर र गजुरी गाउँपालिका-२ बरमा ठूलो ढुङ्गासहितको पहिरो खसेर पृथ्वी राजमार्ग दुईतर्फी नै अवरुद्ध भएको थियो।
उता तनहुँ जिल्लास्थित पृथ्वी राजमार्ग पनि पूर्ण रूपमा अवरुद्ध भएको छ। असोज ११ गते बिहान ०६:४५ बजे तनहुँको व्यास नगरपालिका-१२ घाँसीकुवा, म्याग्दे गाउँपालिका-६ मौरीभीर, शुक्लागण्डकी नगरपालिका-७ सेराटार र बन्दीपुर गाउँपालिका-४ चुनपहरामा सडकमाथिबाट ढुङ्गा-माटोसहितको पहिरो खस्दा राजमार्ग दुईतर्फी नै ठप्प बनेको हो।
काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोक जोड्ने मुख्य सडकहरूमा समेत पहिरोले ठूलो अवरोध सिर्जना गरेको छ। असोज ०९ गते बिहान ०४:३० बजे काभ्रेको रोशी गाउँपालिका-७ चारसयवेशी र वडा नं-८ गिम्दीवेशीमा माथिबाट पहिरो खस्दा बिपी राजमार्ग दुवैतर्फ बन्द भएको छ।
सोही दिन राति २१:२५ बजे धुलिखेल नगरपालिका-८ पकुचास्थित अरनिको राजमार्गमा पनि ढुङ्गासहितको पहिरो खसेर दुवैतर्फको बाटो पूर्ण रूपमा अवरुद्ध भएको छ।
जोखिमलाई ध्यानमा राख्दै काभ्रे प्रशासनले असोज ८ देखि ११ गतेसम्म बेलुका ५ देखि बिहान ५ बजेसम्म बिपी र अरनिको राजमार्ग भएर सिन्धुपाल्चोकतर्फ जाने सवारीसाधनमा पूर्ण रोक लगाएको छ। सिन्धुपाल्चोक प्रशासनले पनि असोज ०८ देखि ०९ गतेसम्म बेलुका ८ देखि बिहान ५ बजेसम्म पृथ्वी लोकमार्गमा आवतजावत बन्द गरेको थियो।
यसैगरी, सिन्धुली प्रशासनले असोज ०८ देखि ११ गतेसम्म बेलुका ५ देखि बिहान ५ बजेसम्म बिपी राजमार्गमा आवागमन पूर्ण रोकेको छ।
दोलखा जिल्ला प्रशासनले पनि सम्भावित बाढी-पहिरोको जोखिमलाई दृष्टिगत गर्दै असोज ०८ देखि १० गतेसम्म बेलुका ८ देखि बिहान ५ बजेसम्म जिल्लाभरका सम्पूर्ण सडक खण्डमा आवतजावत बन्द गर्ने निर्णय गरेको थियो।
काठमाडौं उपत्यका जोड्ने वैकल्पिक सडकहरू कान्ति लोकपथ र भीमफेदी खण्ड पनि पहिरोले अवरुद्ध छन्। आइतबार बिहान ०३:४० बजे ललितपुरको बागमती गाउँपालिका-३ टाकुर्चेमा लेदोसहितको पहिरो र पाङदुरडोलमा भीरबाट ढुङ्गा खस्दा कान्तिलोकपथ अवरुद्ध भएको छ।
यसअघि शनिबार गते बिहान ०७:३५ बजे मकवानपुरको इन्द्रसरोबर गाउँपालिका-४ महालक्ष्मी खोला नजिकै लेदोसहितको पहिरो खस्दा हेटौंडा-भैँसे-भीमफेदी-फाखेल-काठमाडौं सडक पूर्ण अवरुद्ध भएको थियो।
पृथ्वी र कान्ति राजमार्ग अवरुद्ध भएपछि मकवानपुर प्रशासनले त्रिभुवन राजपथमा टाइमकार्ड र विशेष मापदण्ड लागू गरी सवारी खुलाएको छ। चौकी टोलबाट हेटौंडा हुँदै काठमाडौंतर्फ जाने सवारीका लागि २०८३ असोज ०९ गते बिहान १० देखि दिउँसो २ बजेसम्म, असोज १० गते बिहान ४ देखि ८ बजेसम्म तथा राति १० देखि असोज ११ गते बिहान २ बजेसम्मको समय निर्धारण गरिएको छ।
यस्तै, काठमाडौंबाट हेटौंडातर्फ आउने सवारीका लागि सिमभञ्ज्याङ चौकीबाट असोज ०९ गते साँझ १९:०० देखि राति ७ बजेसम्म, असोज १० गते दिउँसो १ देखि ५ बजेसम्म र असोज ११ गते बिहान ७ देखि ११ बजेसम्म मात्र सञ्चालन गर्न दिइएको छ।
उक्त सडकमा इन्धन र एलपी ग्यास बोकेका बाहेक १० चक्काभन्दा लामा र १५ टनभन्दा बढी भार भएका सवारीलाई पूर्ण निषेध गरिएको छ भने यात्रुवाहक बसको हकमा ११ मिटरसम्म लम्बाइ भएका साधनलाई मात्र अनुमति दिइएको छ।
उता नुवाकोट र रसुवा जोड्ने मुख्य पासाङ ल्हामु राजमार्गको अधिकांश भाग बाढीले बगाएपछि सडक पूर्ण रूपमा बन्द छ। मिति असोज ८ गते बिहान ८ बजे रसुवाको उत्तरगया गाउँपालिका-५ खाल्टेस्थित कच्ची सडक त्रिशूली नदी कटानले अवरुद्ध भएकोमा १० गतेको विनाशकारी बाढीले थप क्षति पुर्याएको थियो।
त्यसपछि मिति भदाैं १० को भीषण बाढीले त्रिशूली बजार र बेत्रावती हुँदै रसुवागढी नाका जोड्ने मुख्य पासाङ ल्हामु राजमार्गको अधिकांश भाग बगाएपछि यो मार्ग पूर्ण ठप्प छ।
पासाङ ल्हामु राजमार्ग अवरुद्ध भएपछि स्याफ्रुबेंसीसम्म जानका लागि काठमाडौं देखि टोखा, छहरे, विदुर, नुवाकोट दरबार, फलाँटे, चोकदे, लच्याङ, सरमथली, पार्च्याङ, भोर्ले, ० किमि, कालिकास्थान, स्याउबारी, राम्चे, सोले, धुन्चे हुँदै स्याफ्रुबेंसी निस्कने सिंगल लेनको कच्ची वैकल्पिक बाटो प्रयोग गर्न सकिने व्यवस्था छ।
तर वर्षात्का कारण नुवाकोटको टोखा-छहरे सडक खण्डमा मिति भदाैं ०१ देखि नै अर्को सूचना नभएसम्म राति १० देखि बिहान ५ बजेसम्म अत्यावश्यकबाहेकका सम्पूर्ण सार्वजनिक तथा निजी सवारी साधनको आवतजावत पूर्ण रूपमा बन्द गरिएको छ।
गण्डकी प्रदेशका पहाडी तथा हिमाली जिल्लाहरूमा समेत सडक सञ्जाल नराम्ररी प्रभावित भएको छ। मिति आइतबार साँझ ५:५५ बजे लमजुङको मध्यनेपाल नगरपालिका-६ आँपचौरस्थित मध्यपहाडी लोकमार्गमा माथिबाट पहिरो आई करिब १०० मिटर सडक भासिन पुग्दा सडक पूर्ण अवरुद्ध भएको छ।
यस्तै सोही दिन बिहान ६:२५ बजे लमजुङकै बेसीसहर नगरपालिका-६ खरखरे भीरमा पहिरो खस्दा बेसीसहर-मनाङ सडक बन्द भएको छ।
यसअघि असोज ९ गते बिहान ०६:३० बजे मनाङको नासों गाउँपालिका-३ खोत्रोमा पहिरो जाँदा चामे-बेसीसहर सडक पूर्ण रूपमा रोकिएको थियो। जिल्ला सुरक्षा समिति मनाङले बेसीसहर हुँदै खाङसार तथा लमजुङ सीमादेखि खाङसारसम्म असोज ८ देखि १२ गतेसम्म साँझ ६ देखि बिहान ६ बजेसम्म रात्रि सवारी सञ्चालनमा रोक लगाएको छ।
बागलुङ, म्याग्दी र मुस्ताङमा पनि बाढी-पहिरोले यातायात ठप्प पारेको छ। असोज ९ गते साँझ ६:४५ बजे बागलुङको निसीखोला गाउँपालिका-४ कानाबगरमा पहिरोले मध्यपहाडी लोकमार्ग र साँझ ७:४५ बजे जैमिनी नगरपालिका-८ बेलबगरमा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध पारेको छ।
यस्तै शनिबार बिहान ०५:५० बजे म्याग्दीको रघुगंगा गाउँपालिका-२ बैसरी र अन्नपूर्ण गाउँपालिका-३ सुकेबगरमा लेदो पहिरो खसी बेनी-जोमसोम सडक पूर्ण अवरुद्ध भएको छ।
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र-३ कालोभीरमा १० गते बिहान ०७:२५ बजे र लो-घेकर दामोदरकुण्ड-२ सेल्फीडाँडामा बिहान ०६:५० बजे पहिरो जाँदा जोमसोम-कोरला सडक पूर्ण रूपमा बन्द भएको छ।
गण्डकीका अन्य जिल्लामा पनि रात्रि आवागमन बन्द गरिएको छ। कास्की, मुस्ताङ र म्याग्दीमा असोज ८ गते बेलुका ६ देखि ११ गते बिहान ६ बजेसम्म रातको समयमा ग्रामीण तथा जिल्लाभित्रका सवारीसाधन चलाउन रोक लगाइएको छ।
पर्वत जिल्ला प्रशासनले पोखरा-बागलुङ मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्वतभित्र पर्ने करिब ५० किमि सडक खण्ड असोज ९ गते बेलुका ९ देखि १० गते बिहान ६ बजेसम्म बन्द गरेको थियो।
लुम्बिनी प्रदेशमा पुल भासिनुका साथै पहिरो र रुख ढलेर राजमार्गहरू अवरुद्ध छन्। आइतबार बिहान ६ बजे स्याङ्जाको पुतलीबजार नगरपालिका-१ तीनधारे, सार्वजनिक शौचालय र बसपार्क नजिकै पहिरो खस्दा सिद्धार्थ राजमार्ग पूर्ण अवरुद्ध भएको छ।
यसअघि पाल्पाको माथागढी गाउँपालिका-१ अगाहाखोलामा रुख ढल्दा सिद्धार्थ राजमार्ग तथा रामपुर नगरपालिका-१ कासीबनमा पहिरोका कारण कालीगण्डकी करिडोर अवरुद्ध भएको छ।
यस्तै नवलपरासी (पूर्व) को बुलिङटार गाउँपालिका-६ घुमाउरीघाटमा पनि शनिबार साँझ ७:३० बजे पहिरो खसी कालीगण्डकी करिडोर पूर्ण ठप्प भएको छ।
दाङ जिल्लामा नयाँ पुल निर्माणका क्रममा सञ्चालनमा रहेको पुरानो पुल नै जोखिममा परेर सडक बन्द भएको छ। शनिबार बिहान ७:३० बजे तुलसीपुर उपमहानगरपालिका-१८ ग्वारखोलामा नयाँ पुल बनाउन खनिएको खाल्डोका कारण मुनिको माटो खसेर पुरानो पुल पूर्ण रूपमा बन्द भई तुलसीपुर-घोराही सडक ठप्प बनेको छ।
विपद् जोखिम न्यूनीकरण प्राधिकरण र मौसम विभागको चेतावनीपछि दाङ प्रशासनले असोज ८ देखि दैनिक साँझ ५ देखि बिहान ६ बजेसम्म राप्ती राजमार्ग (तुलसीपुर-कपुरकोट), भालुवाङदेखि गनाहा खोला, सहिद मार्ग (घोराही-होलेरी), घोराही-मुर्कुटी र तुलसीपुर-कालीमाटी सडक बन्द गर्ने निर्णय गरेको थियो।
जसअन्तर्गत तुलसीपुर-सुर्खेत खण्डलाई असोज ११ गते साँझ ७ बजेसम्म पूर्ण रूपमा बन्द गरिएको सूचना जिल्ला प्रशासन कार्यालय घोराहीले जारी गरेको थियो।
गुल्मी, रोल्पा र सल्यानका सडकमा पनि पहिरोको वितण्डा छ। गुल्मीको रुरु क्षेत्र गाउँपालिका-१ स्यालबिसौनामा शुक्रबार राति ९:४५ बजे पहिरो खस्दा रिडी-तम्घास मदन भण्डारी राजमार्ग अवरुद्ध भएको छ।
सोही दिन दिउँसो ३:३० बजे चन्द्रकोट गाउँपालिका-७ सिस्नेभीरमा पहिरोले रुद्रबेणी-वामीटक्सार सडक र बिहान ७:४० बजे कालीगण्डकी गाउँपालिका-२ राक्सेमा पहिरो तथा वडा नं. ४ को पाँतीखोलामा आएको बाढीले कालीगण्डकी करिडोर पूर्ण ठप्प पारेको छ।
रोल्पाको माडी गाउँपालिका-३ गरगरेमा शुक्रबार गते साँझ ७ बजे पहिरोले घोराही-थवाङ-रुकुम सहिद मार्ग अवरुद्ध गरेको छ भने मदन भण्डारी राजमार्ग अन्तर्गत रोल्पा नगरपालिका-७ माडीचौर खण्ड उच्च जोखिमका कारण बिहिबार देखि १२ गतेसम्म बन्द गरिएको छ।
यस्तै, सल्यानको कपुरकोट गाउँपालिका-५ खारखोलामा बिहीबार १०:४० बजे पहिरो जाँदा राप्ती राजमार्ग अन्तर्गत तुलसीपुर-सल्यान सडक खण्ड पूर्ण अवरुद्ध भएको छ।
कोशी प्रदेशका विभिन्न जिल्लामा सम्भावित जोखिमका कारण रात्रि आवागमनमा रोक लगाइएको छ भने ओखलढुङ्गामा सडक नै बगेको छ।
शुक्रबार बिहान ०६:१५ बजे ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका-६ र ७ को सीमास्थित भँडारे खोलामा आएको लेदोसहितको बाढीले सिद्धिचरण लोकमार्गको करिब १५ मिटर सडक गहिरो गरी कटान गर्दा लोकमार्ग पूर्ण अवरुद्ध भएको छ।
प्रशासनिक निर्णयअनुसार ताप्लेजुङमा बिहीबार देखि ११ गतेसम्म बेलुका ७ देखि बिहान ५ बजेसम्म भित्री सडकमा सवारी रोकिएको छ भने मेची राजमार्ग आवश्यकता अनुसार मात्र सञ्चालन गरिएको छ।
यस्तै, बिहीबार देखि अर्को आदेश नभएसम्म भोजपुरमा मध्यपहाडी लोकमार्ग र सोलुखुम्बुमा सिद्धिचरण लोकमार्गमा सवारी चलाउन रोक लगाइएको छ।
उदयपुरमा कटारी-घुर्मी सिद्धिचरण लोकमार्ग असोज १२ गतेसम्म बेलुका ५ देखि बिहान ५ बजेसम्म बन्द गरिएको छ भने खोटाङमा मध्यपहाडी लोकमार्ग असोज ०९ गतेसम्म राति बन्द गरिएको थियो।
इलाम र पाँचथरमा मेची लोकमार्ग तथा भित्री सडकमा असोज ११ सम्म र धनकुटा तथा तेह्रथुममा कोशी लोकमार्ग र भित्री सडकमा बेलुका ७ देखि बिहान ५ बजेसम्म सवारी चलाउन निषेध गरिएको छ।
कर्णाली र सुदूरपश्चिम प्रदेशमा समेत राजमार्ग अवरुद्ध हुँदा जनजीवन प्रभावित भएको छ। बिहीबार गते साँझ ७:३५ बजे कालिकोटको शुभकालिका गाउँपालिका-१ स्थित गगने खोलामा पहिरो खस्दा कर्णाली राजमार्ग पूर्ण अवरुद्ध भएको छ भने शनिबार गते बिहान ७ बजे हुम्लाको सर्केगाड गाउँपालिका-१ खच्चामा पहिरो जाँदा कर्णाली करिडोर पूर्ण रूपमा अवरुद्ध भएको छ।
सुदूरपश्चिमको दार्चुलास्थित मालिकार्जुन गाउँपालिका-८ ऐरिछिनामा शनिबार राति ९:०५ बजे महाकाली राजमार्ग (दार्चुला-गोकुलेश्वर) मा ठूलो ढुङ्गा खस्दा सडक अवरुद्ध भएको छ।
यहाँबाट हाल साना गाडी मात्र जेनतेन पास भइरहेका छन्। यता डोटीमा निरन्तरको वर्षाका कारण सम्भावित जोखिमलाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालय डोटीले शनिबार बिहान ७ देखि ११ गते बिहान ७ बजेसम्म जिल्लाभरका सबै सडकमा सवारीसाधन सञ्चालनमा पूर्ण रोक लगाएको थियो।
पहिरो प्रभावित क्षेत्रहरूमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका साथै सडक विभागका उपकरणहरू पहिरो पन्छाउन परिचालन गरिएका छन्।
यद्यपि निरन्तरको वर्षा र संवेदनशील भूगोलका कारण धेरैजसो खण्डमा तत्काल बाटो खुल्ने सम्भावना न्यून रहेको सुरक्षा निकायले जनाएका छन्।
गृह मन्त्रालय तथा स्थानीय प्रशासनहरूले अत्यावश्यक कामबाहेक लामो दूरीको यात्रा नगर्न र यात्रा गर्नै परे सडकको ताजा अवस्था बुझेर मात्र निस्कन सर्वसाधारणमा अनुरोध गरेका छन्।
प्रकाशित: ११ आश्विन २०८३ २०:१८ आइतबार





