कर्णाली राजमार्गको कालीकोट खण्डमा पहिरो खस्दा सोमबार साँझदेखि यातायात अवरुद्ध भएको छ।
शुभकालिका गाउँपालिका-१ स्थित गगने खोला र खाँडाचक्र नगरपालिकाको बिहानी खोलामा पहिरो खसेपछि राजमार्ग पूर्ण रूपमा बन्द भएको हो। राजमार्ग अवरुद्ध हुँदा सयौं सवारीसाधन र यात्रुहरू बीच बाटोमै अलपत्र परेका छन्।
सडक डिभिजनका अनुसार सोमबार दिउँसो भएको वर्षाका कारण साँझ ७ बजेतिर पहिरो खसेको हो। यस स्थान विगतदेखि नै पहिरोको जोखिममा रहेको थियो।
राजमार्ग अवरुद्ध भएसँगै जुम्ला र कालीकोटबाट सुर्खेत तथा नेपालगञ्जका लागि छुटेका र ती स्थानबाट यसतर्फ आउँदै गरेका यात्रुवाहक बस, मालवाहक ट्रक लगायतका सवारीसाधन बीच बाटोमै रोकिएका छन्। यात्रुहरूले सास्ती व्यहोर्नु परेको छ।
सडक डिभिजन कार्यालय, जुम्लाले पहिरो पन्छाएर राजमार्ग सुचारु गराउने प्रयास भइरहेको जनाएको छ। जिल्ला प्रहरी कार्यालयले कर्णाली राजमार्गको दुई स्थानमा पहिरो खसेको पुष्टि गरेको छ।
प्रकाशित: १९ श्रावण २०८२ १९:५८ सोमबार


-600x400.jpg)


