३१ भाद्र २०८३ बुधबार
image/svg+xml
समाज

पहिरोले बेँसीसहर–चामे सडक अवरुद्ध

फाइल तस्बिर

अविरल वर्षाका कारण पहिरो जाँदा लमजुङ–मनाङ जोड्ने एकमात्र बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ। यस सडकखण्डअन्तर्गत लमजुङको बेँसीसहर नगरपालिका–६ खरखरे भिरमा आज बिहान पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ। 

जिल्ला प्रहरी कार्यालका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर क्षेत्रीका अनुसार बिहान सडकको माथिल्लो भागबाट पहिरोसहित ढुङ्गा–माटो खसेर सडक अवरुद्ध भएको हो। सडक अवरुद्ध भएको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी खुदीबाट प्रहरी सहायक हवल्दार रामकुमार श्रेष्ठको कमाण्डमा दुई जनाको प्रहरी टोली घटनास्थलमा खटिएको बताए। 

पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याउने पहल भइरहेको सूचना अधिकारी क्षेत्रीको भनाइ छ । खरखरे भिर प्रहरी चौकी खुदीबाट करिब तीन किलोमिटर पश्चिममा पर्छ। खरखरे भिरमा वर्षायाममा पटकपटक पहिरो खस्ने गरेको छ। यसअघि पनि पहिरोका कारण सडक अवरुद्ध हुँदै आएको थियो। 

वर्षा जारी रहेकाले पहिरोको जोखिम कायमै रहेको र सडक खुलाउने क्रममा समेत सावधानी अपनाउनुपर्ने अवस्था रहेको प्रहरीले जनाएको छ।  

प्रकाशित: ३१ भाद्र २०८३ ११:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App