२१ श्रावण २०८३ बिहीबार
image/svg+xml
समाज

नारायणगढ–मुग्लिन सडकखण्डमा नयाँ स्थानमा पहिरो, एकैदिन दुई पटक सडक अवरुद्ध

नारायणगढ–मुग्लिन सडकखण्डमा मंगलबार नयाँ स्थानमा सुख्खा पहिरो खस्दा सडक दुई पटक अवरुद्ध भएको छ। पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याइए पनि पुनः सोही क्षेत्रमा पहिरो खसेपछि केही समयका लागि यातायात प्रभावित भएको हो।

सडक डिभिजन कार्यालय भरतपुरका अनुसार बिहान करिब ७ः३० बजे मुग्लिन बजारनजिक खहरे खोलामा सुख्खा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो। करिब पाँच घण्टाको प्रयासपछि पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याइएको थियो।

तर सडक सञ्चालनमा आएको करिब डेढ घण्टामै सोही क्षेत्रमा पुनः सुख्खा पहिरो खसेपछि यातायात फेरि अवरुद्ध भएको थियो। दोस्रो पटक खसेको पहिरो पनि करिब एक घण्टापछि पन्छाइएपछि सडक पुनः सञ्चालनमा आएको सडक डिभिजन कार्यालयले जनाएको छ।

कार्यालयका अनुसार पहिरो खसेको स्थान यसअघि पहिरो नझरेको नयाँ क्षेत्र हो। उक्त स्थानमा थप पहिरो खस्ने जोखिम उच्च रहेको प्रारम्भिक अनुमान गरिएको छ।

जोखिमलाई मध्यनजर गर्दै सडक डिभिजन कार्यालयले चालकलाई अत्यधिक सतर्कता अपनाउन आग्रह गरेको छ। विशेषगरी उक्त क्षेत्रमा सवारीसाधन सिंगल लेनबाट मात्रै सञ्चालन गर्न, हतार नगरी सुरक्षित दूरी कायम गरेर यात्रा गर्न तथा सुरक्षाकर्मीको निर्देशन पालना गर्न अनुरोध गरिएको छ।

वर्षायामका कारण नारायणगढ–मुग्लिन सडकखण्डमा निरन्तर पहिरो खस्ने जोखिम रहेकाले अत्यावश्यक अवस्थामा मात्र यात्रा गर्न र सडकको अवस्थाबारे सम्बन्धित निकायको सूचना पछ्याउन पनि सडक डिभिजनले आग्रह गरेको छ।

प्रकाशित: १२ श्रावण २०८३ १६:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App