५ चैत्र २०८२ बिहीबार
image/svg+xml
समाज

महिलाको नाममा बढ्दै भू– स्वामित्व: ३ वर्षमा २३ हजार बढी बने जग्गाका मालिक

रजिष्ट्रेशनमा छुट पाउने प्रावधानले कपिलवस्तुमा महिलाको नाममा भू– स्वामित्व बढ्दै गएको छ । केही बर्ष अघि सम्म नगन्य मात्रामा महिलाको नामा जग्गा पास हुने क्रम अहिले उत्साह जनक रुपमा वृद्धि भएको देखिन्छ । 

कपिलवस्तुमा ३ वर्षमा २३ हजार २ सय २० महिलाको नाममा जग्गा पास भएको छ । आर्थिक वर्ष २०७९ देखि आर्थिक बर्ष २०८२ सम्म ३ वर्षको अवधिमा जिल्लाका त्यति महिलाको नाममा भू– स्वामित्व गएको हो । जिल्लामा रहेको ३ भूमि सुधार तथा मालपोत कार्यालयमा जग्गा पासको क्रममा उनीहरूको नाममा जग्गा स्वामित्व हस्तान्तरण गरिएको हो । गत आर्थिक बर्ष २०८१/०८२ मा जिल्लामा ८ हजार ६३९ जना महिलाको नाममा जग्गा पास भएको थियो। 

मालपोत तौलिहवाबाट ५ हजार ५१, मालपोत चन्द्रौटाबाट २ हजार ६ सय ७१ र मालपोत बाणगंगाबाट ८ सय १७ महिलाको नाममा जग्गा पास भएको हो । आर्थिक वर्ष २०८०/०८१ मा कपिलवस्तुमा ७ हजार ७७९ जना र आर्थिक बर्ष २०७९÷०८० मा कपिलवस्तुमा ६ हजार ८०२ जना महिलाको नाममा जग्गा पास भएको थियो । सरकारले महिलाको नाममा जग्गा रजिस्ट्रेसन पास गराउनेलाई राजस्वमा विशेष छुटको व्यवस्था गरे पछि जिल्लामा महिलाको नाममा उल्लेखनीय रुपमा भूस्वामित्व बढेको हो । 

सरकारले महिलाको नाममा जग्गा किन्दा रजिस्ट्रेसनमा सहुलियत  दिए पछि महिलाको जग्गामा स्वामित्व बढ्दै गएको  भूमि सुधार तथा मालपोत कार्यालय कपिलवस्तु अधिकृत टिक पौडेलले बताए ।  जमिनमा महिलाका स्वामित्व बढाउन छुट पाइने भए पछि महिलाहरूको नाममा जग्गा पास गर्ने क्रम निरन्तर बढ्दै गएको हो । जग्गा किन्दा लाग्ने दर्ता शुल्कमा सरकारले २५ प्रतिशत छुटको सहुलियत दिएको छ । यसैको फाइदा उठाउँदै घरपरिवारले महिलाको नाममा धमाधम जग्गा पास गराइरहेका छन् । विगत डेढ दशक देखि सरकारले महिलाको नाममा जग्गा किन्दा लाग्ने रजिष्ट्रेशन शुल्कमा छुटको सहुलियत दिए पछि उनीहरूको नाममा जग्गा पास गर्नेको संख्या ह्वात्तै बढेको हो । 

‘यो प्रावधान नहुँदा सम्म नगन्य मात्रामा महिलाको नाममा जग्गा पास गराईन्थो भने अहिले धमाधम महिला कै नाममा जग्गा पास भइरहेको छ। ’ भुमीसधार तथा मालपोत कार्यालय तौलिहवाका मालपोत अधिकृत टिका पौडेल भने  ‘ अहिले मालमा महिलाको भीड नै लाग्ने गरेको छ। ’  मालपोत कार्यालय चन्द्रौटाका अधिकृत लक्ष्मण प्रसाद चालिसेले छुट पाउने भए पछि पुरुषहरूले नै महिला कै नाममा जग्गा पास गर्न अग्रसर भएको बताए । उनले छुट कै कारण भए पनि महिलाहरु जग्गाको महिला बनी रहेको बताए । छुट दिए पछि महिलाहरूको नाममा जग्गाको स्वामित्व बढ्दै गएको मालपोतका कर्मचारीहरू बताउँछन् ।

मालपोत बाणगंगाका प्रमुख मोहन दर्लामीले महिलाहरूको नामा जग्गा पासको प्रतिशत उत्साहजनक रहेको बताए । उनले समाजमा यसले सकारात्मक प्रभाव परेको बताए । गत आर्थिक वर्ष २०८१/०८२ मा मालपोत तौलिहवामा १३ हजार ७२६ लिखत, चन्द्रौटामा ६ हजार ९५६ लिखत र बाणगंगामा १ हजार २३१ लिखत पास भएका थिए । जसबाट महिलाले २ करोड ६० लाख १४ हजार५४९ रुपैयाँ छुटको सुविधा पाएका थिए । सरकारले गरेको छुटको प्रावधानलाई जिल्लाका महिला अधिकारकर्मीले सराहनीय र महिलाका लागि खुसीको कुरा भएको बताएका छन् ।

‘पहिला पहिला महिलाको नाममा जग्गा दर्ता गर्न पुरुषहरू आनाकानी गर्थे तर छुटको व्यवस्था लागु भए पछि धमाधम महिलाको नाममा जग्गा दर्ता भइरहेको छ ।’ महिला अगुवा बिमला पौडेलले भनिन  ‘ यो प्रावधानले केही सकारात्मक सन्देश गएको छ । ’  महिलाको नाममा जग्गाको स्वामित्व आए पनि किनबेचमा भने पुरुषहरू नै हाबी हुने गरेको महिला अधिकारकर्मीहरू गुनासो गर्छन् । लालपट्टारुपी कागजमा अधिकार आएको देखाई पनि त्यसको प्रयोगमा भने पुरुषहरू नै हाबी हुने गरेका अधिकारकर्मी उनी बताउँछिन् । स्वामित्व हस्तान्तरण भएकै कारण महिला हिंसा समेत बढेको अर्की महिला अधिकारकर्मी माधुरी श्रेष्ठको भनाई छ । 

‘ यही कारणले कतिपय महिलालाई हिंसा सहन बाध्य तुल्याएको र निम्त्याएको छ , ’ उनले भनिन ‘ महिलाको नाममा जग्गा त आयो तर अधिकार आएन । ’ ‘आफ्नो नाममा रहेको जग्गा बेचबिखन गर्न खोज्दा परिवारका अन्य सदस्यले विभिन्न अड्चन लगाउने गर्छन् यसलाई कसरी महिलाको नाममा सम्पत्ति आयो ’ उने भनिन ।  ‘ लालपुर्जामा महिलाको नाम लेखिनुलाई स्वामित्व नाममा आयो भन्न मिल्दैन । ’ उपभोग गर्न पाए मात्र स्वामित्व प्राप्त भएको भन्न मिल्ने उनको भनाई छ । सरकारले गरेको यो सकारात्मक कार्यको सही कार्यान्वयन हुनका लागि ठोस पहल गर्नु पर्ने उनले बताइन्।

प्रकाशित: १३ श्रावण २०८२ १७:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App