इच्छाकामना गाउँपालिका–७ भालुवाङ्स्थित सुन्दरबस्तिको सङ्गमटोलका ३४ घरपरिवारलाई शुक्रबार जग्गा धनि प्रमाण पत्र (लालपूर्जा) वितरण गरिएको छ। भूमि समस्या समाधान समितिका अध्यक्ष बलभद्र बाँस्तोलाले लालपूर्जा वितरण गरेका हुन्।
सो अवसरमा उनले सबैतिरबाट सहयोग मिलेमा यसै कार्यकालमा सबै सुकुम्बासीले जग्गा धनीपत्र पाउने बताए। उनले ५०० दिनभित्र लालपूर्जा वितरण गरी सक्ने बताए। यसका लागि स्थानीय तह, जिल्लास्थित भूमि समस्या समाधान समिति, निवेदक सबैको साथ र सहयोग चाहिने बताए। सुकुम्बासीका लागि लालपूर्जा बितरण गरिएको यो दोस्रो जिल्ला भएको उनको भनाइ थियो।
कार्यक्रममा भूमि समस्या समाधान समिति चितवनका अध्यक्ष रहेका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सबै पालिकासँग समन्वय गरेर प्रक्रिया पुगेकालाई तत्काल लालपूर्जा बितरण गरिने र प्रकृया नपुगेकाको प्रकृया पुरा गर्न लाग्ने बताए। सबै पालिकामा नाप नक्सा, दर्ता, प्रमाणीकरणलगायतका काम भइरहेको उनले बताए। जिल्लामा ४२ हजार जनाको निवेदन परेको उनको भनाइ थियो।
गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङ्ले आज जग्गा धनि प्रमाण पत्र पाउनेमा चार घर भूमिहिन दलित र ३० घर भूमिहिन सुकुम्बासी रहेको बताए। सोही टोलका ३८ घरको लालपूर्जा तयार भएकोमा फोटो टाँस्नुपर्ने जग्गा धनि बाहिर भएकाले उनीहरु आएपछि लालपूर्जा बितरण गरिने बताए। गाउँपालिकामा अझै ८० घर भूमिहीन दलित, ७७१ घर भूमिहिन सुकुम्बासी र दुई हजार ९३० अव्यवस्थित बसोबासी छन्।
सो अवसरमा जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीसहित इच्छाकामनाका सातवटै वडाका वडाध्यक्षको उपस्थिति थियो।
प्रकाशित: ९ श्रावण २०८३ ०७:३७ शनिबार





