ललितपुर महानगरपालिका-३, झम्सिखेलस्थित अदोरा होल्डिङलाई २ लाख ५० हजार रुपैयाँ जरिवाना गरिएको छ।
होटलले तयार पारेको आलुको परिकारमा साङ्ला भेटिएको उजुरीपछि गरिएको आकस्मिक अनुगमनका क्रममा लापरबाही भेटिएको हो।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा ह्वाट्सएपमार्फत आलुको परिकारमा साङ्ला भेटिएको उजुरी प्राप्त भएको थियो। सोही उजुरीका आधारमा विभाग र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको संयुक्त टोलीले बुधबार त्यहाँ आकस्मिक अनुगमन गरेको थियो।
अनुगमनका क्रममा अदोरा होल्डिङमा म्याद गुज्रिएका खाद्य सामग्री, लेबलविहीन खाद्यवस्तु तथा अन्य खाद्य सुरक्षा मापदण्ड उल्लंघन भएको पाइएको छ।
टोलीले एक लिटरका तीन बोतल उपभोग्य मिति सकिएको फ्रुट सिरप, लेबलविहीन करिब तीन किलो चाउमिन र कृत्रिम खाद्य रङ फेला पारेको थियो।
यसैगरी, प्रयोगपछि राखिएको करिब एक लिटर तेलको टिपिएम भ्यालु ३३ रहेको र फ्रिजको प्रयोग अत्यन्तै अव्यवस्थित पाइएको विभागले जनाएको छ।
अनुगमनपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार अदोरा होल्डिङलाई २ लाख ५० हजार रुपैयाँ जरिवाना गरेको हो।
मन्त्रालयको टोलीले म्याद नाघेका खाद्यवस्तु थप अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ भने अखाद्य तेल र लेबलविहीन चाउमिन नष्ट गरेको छ। होटललाई खाद्य स्वच्छता कायम राख्न र फ्रिज व्यवस्थित रूपमा प्रयोग गर्न समेत निर्देशन दिइएको छ।
प्रकाशित: १७ असार २०८३ १९:०६ बुधबार





