२८ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
समाज

ललितपुर महानगरले चक्रपथमा निर्माण सुरु गर्‍यो साइकलमैत्री आकाशे पुल

ललितपुर महानगरले चक्रपथस्थित धोबीघाटमा साइकलमैत्री आकाशे पुल निर्माण गर्ने भएको छ। उक्त पुलको आइतबार नगर प्रमुख चिरीबाबु महर्जनले शिलान्यास गरे।

महानगरका अनुसार पुल निर्माणको सम्झौता रकम ५ करोड ४ लाख ४८ हजार रहेको छ। एक वर्षभित्र निर्माण सम्पन्न हुने यो पुलले दमकल सुन्दरीघाट मार्ग पूर्व र पश्चिमलाई जोड्ने भएकाले चक्रपथ वारपार गर्न सजिलो हुनेछ।

पुल उद्घाटन कार्यक्रममा बोल्दै ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले चक्रपथको धोबीघाट पैदलयात्रीका लागि जोखिमपूर्ण स्थल भएको बताउँदै त्यो जोखिम घटाउन आकाशेपुल निर्माण गर्न लागेको बताए। उनले भने, ‘सडक सुरक्षित नभएका कारण एक दर्जन भन्दा बढीको यो ठाउँमा ज्यान गइसक्यो, दुर्घटना हुन नदिन पुल बनाउन लागेका हौँ।’

उनले नख्खु खोलामा तीनवटा पुल निर्माण सम्पन्न भइसकेको, चक्रपथको यातायात नजिकै लिफ्टसहितको अपाङ्गतामैत्री पुल निर्माण अन्तिम अवस्थामा पुगेको जानकारी दिए। कर्मनाशा खोलामा पनि पुल निर्माणको काम अघि बढाएको छ। त्यसैगरी धापाखेलस्थित महादेव खोलामा पनि पुल निर्माण भइरहेको छ।  

महानगर प्रमुख चिरीबाबु महर्जनले चक्रपथमा सानो किलाकाँटा ठोक्न पनि संघीय सरकारको स्वीकृति लिनुपर्ने भएको बताउँदै त्यो स्वीकृति लिनका लागि धेरै समय लागेको बताए। उनले भने, ‘पुल निर्माणका लागि धेरै पहिला नै माग आए पनि स्वीकृति पाउन धेरै समय लागेकाले पुल निर्माणको काममा ढिला सुरु भएको हो।’ निर्माणको जिम्मा लिएको कम्पनीलाई समयमै काम सक्ने उनले अनुरोध गरे।  

ललितपुर महानगरका पूर्वाधार महाशाखा प्रमुख इन्जिनियर प्रदीप पौडेलले चक्रपथको धोबीघाटमा पैदलयात्रीको सुरक्षाका लागि पुल निर्माण गरिएको बताए। सडक वारपार गर्दा भएको दुर्घटनाका कारण धेरैले ज्यान गुमाएकाले पैदलयात्रीको सुरक्षालाई प्राथमिकतामा राखेर निर्माण थालेको प्रष्ट पारे।

प्रकाशित: २६ आश्विन २०८२ १३:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App