काठमाडौंको सुकुम्बासी बस्तीमा चलेको डोजरले देशभरको ध्यान खिचिरहेका बेला इलाम नगरपालिका-५, बरबोटेस्थित भोर्लेनीका गाउँलेले भने एक विपन्नको घर ठड्याइदिन श्रमदान गरिरहेका छन्। दिनहुँ ६० भन्दा बढी गाउँले ५९ वर्षे कृष्णबहादुर लिम्बूको ‘छानो नचुहिने र बतासले नउडाउने’ घरको ‘सपना’ पूरा गरिदिन जुटेका हुन्।
कृष्णबहादुर बोल्न सक्दैनन्। शारीरिक अपांगतासँग जुध्नु त छँदैछ, त्यसमाथि गरिबीले थचक्क थिचेपछि आफ्ना सन्तानको गर्जाे टार्ने, स्कुल पढाउनेसम्मको आम्दानीसमेत छैन उनको। एक छोरीको बिहे भयो, एक छोरा आफन्तले पढाइदिँदैछन्। अर्की सानी छोरी साथमा छिन्। तर, कृष्णबहादुरले आफू गरिब भएपनि धनी बनेर आलिसान महलमा बस्ने सपना चाहिँ कहिल्यै देखेनन्।
उनी आफ्नो सपनालाई संकेतमा व्यक्त गर्छन्, ‘पानी नचुहिने र हावाले नउडाउने छानो भएको सानो झुप्रामा बस्न पाइयोस्। छोराछोरीले पेटभरि खान पाऊन्।’ बोली नभएर के भो ! उनको हाउभाउ र स्वभावले बताउँछ– गाउँघर, छरछिमेक, इस्टमित्रसँग रमाइलो गरौं, हालखेल गरौं। जति बाँचिन्छ रमाइलो गरेर बाँचौं।
यी सपना पूरा गर्न कृष्णबहादुरले आफ्नो इमान्दारीलाई कहिल्यै, कतै बन्धक राखेनन्। गाउँमा बद्नामी कमाएनन्। २ पैसाका लागि समाज बिर्सेनन्। आफ्नै पसिनामा बाँचे, कहिले आधा र कहिले पेटभरि खाए। स्थानीय युवक ठाकुर श्रेष्ठ भन्छन्, ‘आज कृष्णबहादुरको त्यही इमान्दारीलाई गाउँलेले पुरस्कृत गर्दैछन्, उनको सपना पूरा गरिदिएर।’
अहिले कृष्णबहादुरको घर बनाउन दिनहुँ ६० भन्दा बढी गाउँले भेला भइरहेका छन्। कोही झम्पल हान्दैछन्, कोही बेल्चा चलाउँदैछन्, कोही माटो सोहोर्दैछन् त कोही बाँस, काठ, गिटी, बालुवा र सिमेन्ट भेला गर्दैछन्। कृष्णबहादुर संकेत गर्दैछन्– केही दिनपछि पानी नचुहिने, छानो नउडाउने घर भित्रिने साइत आउनेछ।
यसरी पूरा हुने भो कृष्णबहादुरको सपना
नेपाल पत्रकार महासंघको पूर्वकेन्द्रीय सदस्यसमेत रहेका स्थानीय पत्रकार सटेन्द्र जबेगू र अर्का युवक ठाकुर श्रेष्ठले कृष्णबहादुरको दुःख र सपनालाई भिडियो सामग्री बनाएर मिडियामा पोस्ट गरिदिए। यो समग्री देखेपछि देश–विदेशबाट सहयोग जुट्नथाल्यो। कृष्णबहादुरको सपना पूरा गर्न एकै व्यक्तिले ५ सयदेखि ३५ हजार रुपैयाँसम्म दिए। कसैले गिटी, कसैले बालुवा, कसैले रड र आवश्यक अन्य सामग्री सहयोग गरे। कृष्णबहादुरको घर बनाउन करिब ४ लाख रुपैयाँ नगदै जम्मा भयो।
‘हुन त हामीले न यसरी सहयोग जुट्छ भन्ने सोचेका थियौं, न उनको घर बनाउने हाम्रो आँट नै थियो,’ पत्रकार जबेगू भन्छन्, ‘तर, मनकारीहरूले सहयोग गर्नुभयो, स्थानीयहरू उहाँको घर बनाइदिन श्रमदानमै जुट्नुभयो।’ पत्रकार जबेगूले यो कुनै योजनाबद्ध अभियान नै नभएको भन्दै आफू छिमेकी भएकै नाताले पनि कृष्णबहादुरलाई सहयोग गर्न पाउँदा ज्यादै खुसी भएको सुनाए। स्थानीयले कृष्णबहादुरको घर बनाउन विभिन्न ठाउँबाट जम्मा भएको रकम चाहिँ घर बनाउने सामग्री किन्न र दक्ष मिस्त्री लगाउन खर्चिने योजना बनाएका छन्।
घर बनाउन लाग्ने श्रम चाहिँ गाउँलेले सहयोग गर्ने भएको श्रेष्ठले बताए। ‘एक गरिब, ज्यादै दुःख पाइरहेका गाउँलेलाई घर बनाएर शीत, पानी र हावाहुरीबाट बचाउन भोर्लेनीबासीको सहयोग उदाहरणीय बनिरहेको छ,’ इलाम नगरपालिका ५ का पूर्ववडाध्यक्षसमेत रहेका श्रेष्ठले भने, ‘कृष्णबहादुर समाजमा इमान्दार व्यक्तिका रूपमा गनिनुहुन्छ, त्यही कारणले पनि गाउँहरू उहाँलाई सहयोग गर्न यसरी जुटिरहेका छन्। बोली नआउने अपांगता भएर पनि सबैसँग रमाउन, हासखेल गर्न र सबैलाई खुसी पार्ने लोभलाग्दो सीप छ उहाँसँग।’
गाउँघरमा घाँस–दाउरा, खेतालापात गरे जसोतसो जीवन गुजारिरहेका कृष्णबहादुरको मुस्कानले पनि भन्दैछ–केही दिनमा उनको सपना पूरा हुँदैछ।
प्रकाशित: २१ वैशाख २०८३ ०८:४० सोमबार





