१४ चैत्र २०८२ शनिबार
image/svg+xml
समाज

कोशी टप्पु आरक्ष: मानव र जनावरबीचको द्वन्द्व कम गर्न निकुञ्ज बनाउनुपर्नेमा जोड

नौ बुँदे कोशी टप्पु घोषणापत्र सार्वजनिक

मानव र वन्यजन्तुबीचको द्वन्द्व कम गर्नका लागि कोशी टप्पु वन्यजन्तु आरक्षलाई राष्ट्रिय निकुञ्ज बनाउनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्। आरक्ष स्थापना भएको ५० वर्ष हुँदासमेत अहिलेसम्म आरक्षकै रूपमा रहेकाले यसलाई राष्ट्रिय निकुञ्ज बनाउनुपर्ने शुक्रबार नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको तेस्रो अधिवेशनका क्रममा सहभागी सरोकारवालाहरूले बताएका हुन्।

कोशी टप्पु वन्यजन्तु आरक्ष वि.सं. २०३२ मा स्थापना भएको थियो। “चितवनको सौराहाभन्दा धेरैअघि स्थापना भए पनि कोशी टप्पु जहाँको त्यहीँ छ। यो चिन्ताको विषय हो, ”कोशी गाउँपालिकाका अध्यक्ष अयुब अन्सारीले भने, “कोशी टप्पुलाई छिट्टै राष्ट्रिय निकुञ्ज नबनाए मध्यवर्ती क्षेत्रमा मानव–जंगली जनावर द्वन्द्व अझै चर्किने निश्चित छ।”

मानवीय क्षतिको पूर्ण जवाफदेहिता र दायित्व राज्यको हुने उनले बताए। सडकमा मानिसको दुर्घटनामा मृत्यु हुँदा राज्यले जिम्मेवारी लिएजस्तै कोशी टप्पु वन्यजन्तु आरक्षका जंगली जनावरको आक्रमणमा परी मानवीय क्षतिसँगै अन्नबालीको नोक्सानी हुँदा ऐन–नियमको समस्याका कारण न्यायोचित ढंगले क्षतिपूर्ति पाउन नसकेको पनि अध्यक्ष अन्सारीले बताए।

“अब कोशी टप्पु वन्यजन्तु आरक्षका लागि मानव र वन्यजन्तु मैत्री ऐन–नियम हुनुपर्छ,” उनले भने, “पुराना नियमावली संशोधन गर्नुपर्छ।”

कोशी प्रदेशका कृषि, सहकारी तथा उद्योग मन्त्री इजरायल मन्सुरीले कोशी टप्पुको दीर्घकालीन विकासका लागि प्रदेश सरकार गम्भीर रहेको बताए।

अहिलेको आरक्ष क्षेत्रको विस्तार गर्दा आसपासका बासिन्दा र स्थानीय जंगली हात्ती, अर्नालगायतका अन्य जनावरबाट पीडित हुने क्रम रोकिने र आरक्षका जनावरका लागि आहारमा समेत समस्या नहुने स्थानियले लामो समयदेखि आवाज उठाउँदै आएका छन्।

मुख्यतः हात्ती र अर्ना जस्ता ठूला वन्यजन्तुका लागि हालको आरक्ष क्षेत्र आवश्यक वासस्थानका लागि पर्याप्त नभएकाले यी जनावरबाट स्थानीय जनताको बालीनाली नष्ट हुने, धनजनमा असर पर्ने जस्ता कारणले मानव–वन्यजन्तुबीचको द्वन्द्व अप्रत्याशित रूपमा बढ्दै आएको छ। यसका कारण वन्यजन्तु र स्थानीय समुदाय दुवै जोखिममा रहेका छन्।

कोशी टप्पु वन्यजन्तु आरक्षमा मुख्य चुनौतीको रूपमा रहेको घरपालुवा जनावर छाड्ने प्रवृत्तिले एकातिर अर्ना, जंगली हात्ती र चितलको आहार संकटमा परेको छ भने अर्कोतिर आहार संकट हुँदा ती जनावर बेला–बेलामा मानव बस्तीमा प्रवेश गरी विध्वंस मच्चाउँदा मानव र जंगली जनावरबीच द्वन्द्व बढ्दो छ।

नौ बुँदे कोशी टप्पु घोषणापत्र सार्वजनिक

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको तेस्रो अधिवेशनले नवीन गड्तौलाको नेतृत्वमा नयाँ समिति चयन गरेको छ। गड्तौलाको नेतृत्वमा तीन वर्षका लागि १७ सदस्यीय कार्यसमिति चयन गरिएको हो।

सोही अधिवेशनले नौ बुँदे कोशी टप्पु घोषणापत्र जारी गरेको छ। जसमा संविधानतः पूर्ण प्रेस स्वतन्त्रता प्राप्त फोटो पत्रकारहरूको विधागत पहिचान उल्लेख गर्दै तीनै तहका सरकारलाई मिडियामैत्री कानुन निर्माण गर्न माग गरिएको छ।

त्यस्तै, श्रमजीवी पत्रकार ऐनको कार्यान्वयन गर्नुका साथै फोटो पत्रकारलाई विभिन्न सञ्चारगृहले अनेक बहाना बनाएर रोकेको पारिश्रमिक यथाशीघ्र उपलब्ध गराउन माग गरिएको छ। पत्रकारमाथि हुने धाकधम्की, भौतिक आक्रमणका घटनामा दोषीलाई कडा कारबाही गर्न सरकारसँग जोडदार माग गरिएको छ।

फोटो पत्रकारिताको विकासका लागि समाचार कक्षमा फोटो पत्रकारको छुट्टै डेस्क स्थापना गर्न सञ्चारगृहसँग माग गरिएको जानकारी दिइयो।

यसैगरी, सूचना र प्रविधिको विकाससँगै पत्रकारिताको अर्थ, मान्यता र प्रक्रियालाई आत्मसात गर्दै पत्रकारिताको आचारसंहिता परिमार्जन, परिस्कृत र आत्मसात गर्न माग गरिएको छ। फोटो पत्रकारितालाई पर्यटन प्रवर्द्धनसँग जोडेर विकास र समृद्धिका लागि तीनै तहका सरकारलाई अघि बढ्न आग्रह गरिएको छ।

घोषणापत्रमा कोशी प्रदेश सरकारको वार्षिक कार्यक्रम ‘कोशी पर्यटन वर्ष २०८२’ कार्यान्वयनको सन्दर्भमा कोशी टप्पु वन्यजन्तु आरक्षलाई राष्ट्रिय निकुञ्जमा स्तरोन्नति गर्न सबै सरोकारवालासँग माग गरिएको छ।

अधिवेशनमा सार्वजनिक गरिएको घोषणापत्रमा कुनै पनि प्रकारका मिडिया ट्रायल वा दुरुपयोगबाट जोगिएर निष्पक्ष रूपमा व्यावसायिक पत्रकारिता गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ। साथै, मिसइन्फर्मेसन र डिसइन्फर्मेसनको समस्यालाई चिर्दै फोटो पत्रकारितामार्फत वास्तविक सन्देश जनतासमक्ष पुर्‍याउने प्रतिबद्धता जनाइएको छ।

प्रकाशित: १३ चैत्र २०८२ १९:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App