२९ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
समाज

पर्यटकीय गतिविधि बढाउन कोशी प्रदेश सरकारको टोली पोखरामा

कोशी प्रदेश पर्यटन वर्ष समितिले अन्तरप्रदेश पर्यटन सहकार्यलाई सशक्त बनाउन तीन प्रदेशमा विशेष कार्यक्रम गर्ने तयारी गरेको छ। समितिले गण्डकी प्रदेश, मधेस प्रदेश र चितवनमा छलफल, सहकार्य र औपचारिक सम्झौता गर्ने योजना अघि सारेको हो।

यसैक्रममा आइतबार कोशी प्रदेशका वन, वातावरण तथा पर्यटन मन्त्री भीम पराजुलीको नेतृत्वमा रहेको टोली गण्डकी प्रदेशको पोखरा पुगेको छ। सोही दिन गण्डकी प्रदेशको उद्योग तथा पर्यटन मन्त्रालयका प्रतिनिधि र निजी क्षेत्रका पर्यटन व्यवसायीबीच सहकार्य र दुई पक्षीय सम्झौताबारे अनौपचारिक छलफल भएको छ।

छलफलमा कोशी प्रदेशका मन्त्री पराजुलीसँगै सचिव इन्द्र सापकोटा, मुख्यमन्त्रीका आर्थिक सल्लाहकार मोहन सुवेदी, नेपाल पर्यटन बोर्डका निर्देशक रोहिणी खनाल, पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी, पर्यटन प्रवर्द्धन वर्ष निर्देशक समितिका सहसंयोजक द्वय कृष्णकुमार शाह र भवेश श्रेष्ठसहित गण्डकी प्रदेशका पर्यटन व्यवसायीहरूको सहभागिता रहेको थियो।

छलफलमा कोशी र गण्डकी प्रदेशबीच हवाई कनेक्टिभिटी, यातायात कनेक्टिभिटी र पर्यटकीय गन्तव्यहरूको संयुक्त प्रवर्द्धन गर्ने विषयमा सम्झौताको तयारी गरिएको छ। प्रस्तावित सम्झौतामा दुई प्रदेशका धार्मिक स्थल, पदमार्ग, साहसिक पर्यटन गतिविधि, होमस्टे पर्यटन प्रवर्द्धन, व्यावसायिक साझेदारी, अनुभव आदान–प्रदान तथा एकीकृत पर्यटकीय प्याकेज विकासका विषय समेटिने भएका छन्।

पर्यटन वर्षको अवसर पारेर अन्तरप्रदेश सहकार्यलाई मजबुत बनाउने यो पहलले आन्तरिक तथा बाह्य पर्यटक आकर्षणमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ। कोशी प्रदेश पर्यटन वर्ष समितिले आगामी दिनमा मधेस प्रदेश र चितवनसँग पनि यस्तै प्रकृतिका कार्यक्रम र सम्झौता अघि बढाउने जनाएको छ।

प्रकाशित: २७ पुस २०८२ २०:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App