बजार अनुगमनका क्रममा कम तौलका सिलिण्डर बजार पठाएर उपभोक्ता ठगी गरेको भन्दै मोरङको बुढीगंगा स्थित कोशी ग्यास उद्योगलाई जिल्ला प्रशासन कार्यालय मोरङले करिब ३ लाख रुपैयाँ जरिवाना गरेको छ।
उक्त उद्योगले कम तौलका सिलिण्डर बजार पठाएको पाइएपछि २ लाख ९० हजार रुपैयाँ जरिवाना तिराइएको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ।
जिल्ला प्रशासन कार्यालय मोरङले सोमबार विज्ञप्ति जारी गरी कोशी ग्यास उद्योगको परिसरमा साउन २३ गते बजार पठाउन तयारी अवस्थामा राखिएका १ सय ४३ वटा सिलिण्डर मध्ये ६४ वटाको तौल परीक्षण गर्दा प्रत्येक सिलिण्डरमा १३.७४५ केजी मात्रै तौल रहेको पाइएको थियो।
अन्य सिलिण्डरमा पनि १४.९१५ केजी मात्रै ग्यास पाइएको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ। यस्तै कोशी ग्यास उद्योगका खाली सिलिण्डरहरूको तौल जाँच गर्दा १० वटा मध्ये ९ वटा सिलिण्डरमा १ सय देखि १ सय ५० ग्राम बढी तौल भेटिएकाले कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइएको जनाइएको छ।
यस्तै अनुगमनका दिन साउन २३ गते कोशी ग्यास उद्योग पनि बन्द रहेकाले अत्यावश्यक सेवा बन्द गरेका कारण उक्त उद्योगलाई कारबाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रशासन कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
यस्तै साउन १७ गते बजार अनुगमनका क्रममा विराटनगर –७ स्थित श्रीकृष्ण ट्रेडर्सले जाँचबुझ र निरीक्षणमा सहयोग नगरेका कारण ११ हजार रुपैयाँ जरिवाना गरिएको जनाइएको छ।
प्रकाशित: २५ श्रावण २०८३ १८:५८ सोमबार





