१७ जेष्ठ २०८३ आइतबार
image/svg+xml
समाज

शुक्रबारदेखि खाँदबारी-किमाथाङ्का सडकखण्ड अवरुद्ध

सङ्खुवासभाको भोटखोला गाउँपालिका–४ सिरेकस्थित कोशी राजमार्गमा सुख्खा पहिरो खस्दा खाँदबारी–किमाथाङ्का सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ।

शुक्रबार दिउँसो सडकमाथिको भिरालो भागबाट ठूलो परिमाणमा ढुङ्गा, माटो तथा गेग्रान खसेपछि उक्त सडकखण्डमा यातायात सेवा ठप्प भएको हो। पहिरोले करिब १५ मिटर सडक पुरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

पहिरो खसेसँगै उक्त मार्ग हुँदै आवतजावत गरिरहेका यात्रु तथा सवारीसाधन प्रभावित बनेका छन्।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक कुमारप्रमाद मैनालीले पहिरोको सूचना प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा परिचालन गरिए पनि पहिरो खस्ने क्रम पूर्ण रूपमा नरोकिएकाले सडक खुलाउन नसकिएको बताए। स्थानीय तह तथा सम्बन्धित निकायसँग समन्वय गरी सडक खुलाउने प्रयास भइरहेको उनले जानकारी दिए।

खाँदबारी–किमाथाङ्का सडकखण्ड जिल्लाको उत्तरी क्षेत्रलाई सदरमुकामसँग जोड्ने मुख्य सडक सञ्जाल हो। सडक अवरुद्ध हुँदा भोटखोला क्षेत्रका स्थानीयवासी, यात्रु तथा अत्यावश्यक सामग्री बोकेका मालवाहक सवारीसाधनसमेत प्रभावित भएका छन्।

उत्तर–दक्षिण कोशी सडक योजनाका प्रमुख रामबहादुर गुरुङले पछिल्लो समय सडक आसपासका भिरालो क्षेत्रमा सुख्खा पहिरो खस्ने घटना बढ्दै गएका बताए। कमजोर चट्टान र ढुङ्गा खस्ने जोखिम अझै रहेकाले यात्रा गर्दा विशेष सावधानी अपनाउन उनले आग्रह गरे।

योजना कार्यालय, स्थानीय तह र सुरक्षा निकायको समन्वयमा आवश्यक उपकरण परिचालन गरी पहिरो पन्छाउने तयारी भइरहेको छ। रासस

प्रकाशित: १७ जेष्ठ २०८३ १३:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App