गत भदौ २४ गतेको आन्दोलनक्रममा घर आगजनी गर्दा जलेर गम्भीर घाइते भएकी पूर्वप्रधानमन्त्री झलनाथ खनालपत्नी रविलक्ष्मी चित्रकारको उपचारक्रममा देबेहात काटिएको छ । जलेर शरीरलाई थप असर गर्ने भएपछि चिकित्सकले उनको शल्यक्रिया गरी हात फालिदिएको पूर्वप्रधानमन्त्री खनालले नागरिकन्युजलाई बताए ।
खनालका अनुसार ७० वर्षीया चित्रकारको कीर्तिपुरमा रहेको बर्न अस्पतालको इन्टेन्सिभ केयर युनिट (आइसियु)मा गम्भीर अवस्थामा उपचार भइरहेको छ । ‘चित्रकारको शरीर १७ प्रतिशत जलेको चिकित्सकले जानकारी दिएका छन्,’ खनालले बिहीबार दिउँसो भने, ‘अवस्था गम्भीर छ, आजबाट निमोनियासमेत देखिएको छ ।’
चिकित्सकले अहिलेसम्म यहीं उपचार हुन्छ भनिरहेकाले अन्यन्त्र नलगिएको पनि खनालले बताए । ‘आइसियुमा उपचार भइरहेको छ, बोल्न सक्ने अवस्था छैन तर चेतना चाहिँ छ,’ खनालले भने, ‘बोल्न खोजेकोजस्तो देखिन्छ, बोली बुझिदैन ।’
जेनजी समूहले आन्दोलन गरिरहेका बेला भदौ २४ गते खनालको काठमाडौंको डल्लुस्थित घरमा आगजनी गरेका थिए ।
त्यसक्रममा चित्रकारको शरीरमा आगो लागेको थियो । त्यसै दिनयता चित्रकारको उपचार भइरहेको छ । ‘कति दिनसम्म उपचार गर्नुपर्छ भन्नेबारे अहिलेसम्म चिकित्सकले अनुमान गर्न सकेका छैनन्,’ खनालले भने, ‘अन्यत्र लैजानुपर्छ पनि भनेको छैन ।’
प्रकाशित: २ आश्विन २०८२ १५:१२ बिहीबार





