काभ्रेको खानीखोला गाउँपालिका-१ स्याउलीथलीमा बोलेरो जीप सडकबाट करिब २०० मिटर तल खस्दा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।
पनौती-तालढुङ्गा भित्री सडकखण्डअन्तर्गत स्याउलीथलीमा बा १८ च २४२ नम्बरको बोलेरो अनियन्त्रित भई दुर्घटनामा परेको हो। दुर्घटनाका बेला जीपमा चालकसहित कुल ११ जना सवार थिए।
दुर्घटनामा परी काभ्रेको खानीखोला गाउँपालिका-२ बस्ने अन्दाजी २४ वर्षीया अनिता मोक्तान र सोही गाउँपालिका-४ का अन्दाजी ६१ वर्षीय कलकबहादुर माझीको घटनास्थलमै ज्यान गएको छ।
दुर्घटनामा घाइते भएका चारै जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत तत्काल उद्धार गरी धुलिखेल अस्पताल पुर्याइएको छ।
घाइतेमध्ये भक्तपुरको सूर्यविनायक नगरपालिका-८ बस्ने अन्दाजी २५ वर्षीय राहुल र सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका-९ बस्ने अन्दाजी ५७ वर्षीय भलपति ढकालको अवस्था गम्भीर रहेको छ।
त्यसैगरी काभ्रेको खानीखोला गाउँपालिका-३ का अन्दाजी २४ वर्षीय प्रदीप जर्घामगर र सोही गाउँपालिका-५ का अन्दाजी ४८ वर्षीय बहुतमान रुम्बाको अवस्था भने मध्यम रहेको छ।
दुर्घटनालगत्तै फरार भएका सिन्धुलीको सुनकोशी गाउँपालिका बस्ने २८ वर्षीय चालक यसबहादुर तामाङको खोजी तीव्र पारिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित: १ भाद्र २०८३ १८:०८ सोमबार





