१८ भाद्र २०८३ बिहीबार
image/svg+xml
समाज

कौडेना गाउँपालिकाले बाढीपीडितलाई २७ लाख बढी सहयोग गर्ने

सर्लाहीको कौडेना गाउँपालिकाले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपीडितको राहत तथा पुनर्स्थापनाका लागि २७ लाख २५ हजार ९ सय रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ।

गाउँपालिकाले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो। विपद्को घडीमा गाउँपालिकाको कोषसँगै जनप्रतिनिधि, कर्मचारी र शिक्षकहरूले समेत आफ्नो पारिश्रमिक कटाएर सामूहिक रूपमा उक्त रकम सङ्कलन गर्ने निर्णय गरेका छन्।

गाउँपालिकाले सार्वजनिक गरेको विवरणअनुसार विपद् व्यवस्थापन कोषबाट ८ लाख रुपैयाँ उपलब्ध गराइनेछ। यसैगरी, जनप्रतिनिधिहरूको तर्फबाट ५ लाख ५५ हजार, गाउँपालिकाका सम्पूर्ण कर्मचारीबाट ७ लाख ५३ हजार ७ सय र सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीबाट ६ लाख १७ हजार २ सय रुपैयाँ सङ्कलन गरी राहत कोषमा पठाइनेछ।

यस अभियानका लागि गाउँपालिकाका सम्पूर्ण जनप्रतिनिधिहरूले आफ्नो एक महिना बराबरको सेवा सुविधा बाढीपीडितलाई प्रदान गर्ने निर्णय गरेका छन्।

त्यस्तै, गाउँपालिकाका कर्मचारी र सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीहरूले पनि आफ्नो तहअनुसार निश्चित दिनको तलब राहत कोषमा जम्मा गर्ने विज्ञप्तिमा उल्लेख छ।

कौडेना गाउँपालिकाका अध्यक्ष रूपेश कुमार यादव र प्रमुख प्रशासकीय अधिकृत सुरेश प्रसाद दासले संयुक्त रूपमा प्रेस विज्ञप्ति जारी गर्दै भोटेकोशी बाढीले रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायतका क्षेत्रमा पुर्‍याएको जनधनको क्षतिप्रति गहिरो दुःख र समवेदना व्यक्त गरेका छन्।

विज्ञप्तिमा राहत, उद्धार र पुनर्स्थापनाका लागि सबै पक्षको हातेमालो आवश्यक रहेको औंल्याउँदै, गाउँपालिकाको यस आर्थिक सहयोगले विपद्मा परेका परिवारको पुनर्स्थापना अभियानमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ।

प्रकाशित: १८ भाद्र २०८३ २१:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App