मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा १३ जनाको ज्यान जाने गरी भएको हायस दुर्घटनापछि काठमाडौं प्रशासनले काठमाडौं–हेटौँडा सडकखण्डमा यात्रुवाहक सवारीसाधन सञ्चालनमा कडाइ गरेको छ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले बल्खु–दक्षिणकाली सडकमार्ग हुँदै हेटौँडा जाने सार्वजनिक तथा भाडाका यात्रुवाहक सवारीसाधनका लागि नयाँ समयसीमा र सुरक्षा मापदण्ड लागू गरेको हो।
जिल्ला सुरक्षा समिति काठमाडौंको निर्णयअनुसार अब उक्त मार्ग हुँदै हेटौँडा जाने यात्रुवाहक सवारीसाधन बेलुका ८ बजेभित्र फर्पिङस्थित प्रहरी चेकपोस्ट पुगिसक्नुपर्नेछ। त्यस्तै, बिहान ५ बजेअघि बल्खुबाट उक्त मार्गमा यात्रुवाहक सवारीसाधन सञ्चालन गर्न पाइने छैन।
प्रशासनले समयसीमा निर्धारण गर्नुका साथै सवारीसाधनको प्राविधिक अवस्था परीक्षणलाई पनि अनिवार्य बनाएको छ। नयाँ व्यवस्थाअनुसार उक्त सडकखण्डमा सञ्चालन हुने यात्रुवाहक सवारीसाधनको यान्त्रिक अवस्था र सुरक्षासम्बन्धी पक्षको पूर्ण परीक्षण गरेपछि मात्रै यात्रु बोकेर गन्तव्यतर्फ जान पाइनेछ।
त्यसैगरी, काठमाडौं जिल्लाभित्र उक्त मार्गमा पर्ने प्रहरी एकाइहरूले ट्राफिक प्रहरीको सहभागितामा यात्रुवाहक सवारीसाधनको अनिवार्य जाँच गर्ने व्यवस्था मिलाउनुपर्ने सूचनामा उल्लेख छ।
भीमफेदीको चिसापानीगढीमा भएको पछिल्लो भीषण दुर्घटनाले काठमाडौं–हेटौँडा सडकमार्गमा यात्रु सुरक्षाको विषयलाई पुनः चर्चामा ल्याएको छ। विशेषगरी रातिको यात्रा र सवारीसाधनको प्राविधिक अवस्थाबारे प्रश्न उठिरहेका बेला प्रशासनले समयसीमा र अनिवार्य जाँचको व्यवस्था गरेर सम्भावित दुर्घटनाको जोखिम न्यूनीकरण गर्न खोजेको हो।
जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले सूचना जारी गर्दै नयाँ व्यवस्था अनिवार्य रूपमा पालना गर्न यातायात व्यवसायी, सवारी चालक तथा सम्बन्धित सबै सरोकारवालालाई आग्रह गरेका छन्।

प्रकाशित: २७ कार्तिक २०८३ २०:१२ शुक्रबार


-600x400.jpg)


