१३ पुस २०८२ आइतबार
image/svg+xml
समाज

विपद्‍बाट बचाउन कटारीका सुकुम्बासीलाई सुरक्षित गरियो

जिल्ला प्रशासन कार्यालय उदयपुर। तस्बिरः महेश्वर

शनिबार विहानदेखि भइरहेको अविरल वर्षामा बाढीको जोखिममा परेका कटारी ५ बलाहाका सुकुम्बासीलाई नगरपालिकाले सुरक्षित गरेको छ। तावा खोला र छाउरी खहरेको बाढीको जोखिममा रहेका सुकुम्बासी परिवारका वृद्धवृद्धा र बालबालिकालाई सुरक्षित स्थानमा लगेर राखिएको हो।

नगरप्रमुख राजेशचन्द्र श्रेष्ठले सुकुम्बासी बस्तीका एक वृद्ध, ३ महिला र ३ बालबालिका गरी ७ जनालाई शनिबार राति नै सुरक्षित गरिएको बताए। उनीहरू सबैलाई उदयपुर उद्योग वाणिज्य संघको भवनमा राखेर खानेबस्ने सबै व्यवस्था नगरपालिकाले त्यहीँ मिलाएको मेयर श्रेष्ठले बताए।

चुरे क्षेत्रबाट आउने छाउरी खहरेको बाढी तावा खोलामा मिसिँदा किनारमा बसोबास गर्नेहरूलाई उच्च जोखिममा पार्ने गरेको छ। त्यसैले बाढी आउनुभन्दा अघि नै अशक्तहरूलाई सुरक्षित गरिएको हो। विपत आइ पर्दा भाग्न नसक्ने वृद्धवृद्धा र बालबालिकालाई बेलैमा सुरक्षित गरिएको उनले बताए।

कटारी ३ का वडाध्यक्ष पुष्कर खड्काले अविरल वर्षाका कारण आइ पर्ने बाढी पहिरोजस्ता विपदबाट बचाउन नगरपालिकाले उच्च सतर्कता अपनाएर सबै तयारी गरेको छ। उनका अनुसार कुनै पनि ठाउँमा विपत आइ परे तत्काल उद्धार गरेर सुरक्षित गर्न नगर जनप्रतिनिधि, नगर प्रहरी, सुरक्षाकर्मी र स्वयंसेवक तयारी हालतमा राखिएको छ।

अप्ठेरोमा पर्नेहरूलाई उद्धार गरी राख्न उद्योग वाणिज्य संघ र नेपाल रेडक्रस सोसाइटी भवनमा बस्ने खाने व्यवस्थाको तयारी पनि मिलाइएको छ। कटारीका आधाभन्दा बढी वडाहरू पहाडी भेगका रहेकाले बाढीसँगै पहिरोको संभावना पनि उत्तिकै रहेकाले सबैतिर सतर्कता अपनाउन भनिएको छ। कटारी ३ स्थित कटारी बजारदेखि ८ नं. सिरिसे, ११ नं. बेतिनी हुँदै १४ नं. घुर्मी जोड्ने कटारी–घुर्मी सडक जोखिमपूर्ण भएकाले शनिबार दिउँसोदेखि नै यातायात आउजाउमा रोक लगाइएको छ।

अविरल वर्षाको जोखिमबाट बँच्न जिल्ला प्रशासन कार्यालयले उच्चा सतर्कता अपनाउँदै उदयपुरका ८ वटै स्थानीय तहलाई पूर्व तयारीमा रहन आग्रह गरेको छ। जिल्ला विपद् व्यवस्थापन समिति अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुईटेलले नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी तथा सबै स्थानीय तहलाई पूर्व तयारी गर्न तथा विपद् आइ परे तत्काल उद्धार र राहतमा खट्न आग्रह गरेको बताए।

वर्षाका कारण जिल्लाका धेरैजसो सडकहरू अवरुद्ध भएको र सुचारु भएका सडकहरूमा पनि अनावश्यक यात्रा नगर्न यातायात व्यवसायी र यात्रु सबैलाई आग्रह गरिएको छ।

प्रकाशित: १९ आश्विन २०८२ १४:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App