लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले योग्यता र सक्षमताका हिसाबले कर्णालीको अवस्था निराशाजनक नरहेको बताएका छन्।
लोक सेवा आयोगको हीरक जयन्तीका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित ‘विद्यार्थीमाझ लोक सेवा आयोग कार्यक्रम’मा उनले देशभरिमा आयोगको उत्कृष्ट दशभित्र कर्णाली पर्न सफल भएको बताए। उनका अनुसार सिफारिस भएका उम्मेदवारको जिल्लागत तथ्याङ्क हेर्दा दैलेख सातौँ, सुर्खेत तेह्रौँ, रुकुमपश्चिम चौधौँ, जुम्ला बिसौँ, सल्यान ४१औँ, कालीकोट ४३औँ, जाजरकोट ४७औँ, हुम्ला ६३औँ, मुगु ७१औँ र डोल्पा ७२औँ स्थानमा रहेको छ।
अध्यक्ष रेग्मीले भने, 'लोक सेवा आयोग विद्यार्थीमाझ पुर्याएर यसको पद्धति र प्रक्रियाबारे जानकारी गरी आयोगप्रति सकारात्मक धारणा विकास गराउने उद्देश्यले यो कार्यक्रम देशैभरि गरिएको छ। आयोगले योग्यता, निष्पक्षता र स्वच्छताको सिद्धान्तअनुसार अगाडि बढ्ने भएकाले यसमा भनसुन हुन्छ भन्ने भ्रम नराख्नुस्। दबाब र प्रभावबाट मुक्त हुन अरू सुतेपछि आयोग जाग्दछ।'
प्रकाशित: १९ भाद्र २०८२ ०९:०३ बिहीबार





