कर्णालीमा पछिल्लो वर्षहरूमा लागुऔषध कारोबार र प्रयोगकर्ता बढेसँगै प्रहरीले निगरानीमा कडाइ गरेको छ। विशेष अभियान नै चलाएर कारोबारी र प्रयोगकर्ताको पहिचानसँगै कारबाही गरिरहेको पाइएको हो।
मंसिर महिनामा कर्णाली प्रदेशभर लागुऔषध सम्बन्धी मुद्दामा ३६ जनालाई पक्राउ गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। लागुऔषधसहित प्रहरीले ३६ जनालाई पक्राउ गरेर अनुसन्धान गरेको छ।
प्रहरी टोलीले प्रदेशका विभिन्न भागमा लागुऔषध बरामद समेत गरेका छन्। मंसिर महिनाभर १६ वटा लागुऔषधसम्बन्धी मुद्दा दर्ता गरेको प्रहरीले ३६ जनामाथि अनुसन्धान गरिरहेको छ। उनीहरूसँग बरामद गरिएको लागुऔषधमा २७ ग्राम ५ सय ६० मिलिग्राम ब्राराउसुगर, १२ ग्राम ७५ मिलिग्राम गाँजा, ३ ग्राम ८३ मिलिग्राम गाँजा कोडिन १०० एमएलका २६ बोतल नाईट्राजेपाम ३ सय ३५ ट्याप्लेट रहेका छन्।
युवाहरू बढी लागुऔषधमा संलग्न रहेको प्रहरी रेकर्डमा उल्लेख छ। देखासिकी र साथीभाइको संगतले धेरै युवाहरू लागुऔषधमा जोडिएको पाइएको छ। प्रदेश राजधानी सुर्खेतमा लागुऔषधको कारोबार र प्रयोगकर्ताहरू धेरै रहेका छन्। सवारी चालकहरूलाई स्वास्थ्यकर्मीसहित अन्य व्यवस्थापन मिलाएर लागुऔषध सेवन गरे/नगरेको चेकजाँच गरिने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख (एसपी) सुधिरराज शाहीले बताए।
त्यस्तै कर्णाली प्रदेशभर १ सय ३७ जना हराएकोमा ९८ जना फेला परेको र बाँकी ३९ जनाको खोजतलास कार्य भइरहेको जनाइएको छ। कर्णालीमा लागुऔषध कारोबार र प्रयोगकर्ताको पहिचान गरी कारबाहीका लागि प्रहरीले विशेष अभियान चालिरहेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रमुख डिआइजी माधवप्रसाद श्रेष्ठले बताए।
प्रकाशित: ८ पुस २०८२ १४:०२ मंगलबार





