१० जेष्ठ २०८३ आइतबार
image/svg+xml
समाज

उत्तरी नाकातर्फ पहुँच बढाउँदै कर्णाली

हुम्लाको सदरमुकाम सिमकोट गाउँपालिकाका अदनसिंह बोहराले गाउँबाटै गाडी चढेर राजधानी काठमाडौं पुगिएला भन्ने कल्पना गरेका थिएनन्। हुम्लीका लागि राजधानी काठमाडौंभन्दा उत्तरको छिमेकी देश चीन जान नजिक थियो । सिमकोट दक्षिणबाट सडकमार्गले नजोडिँदै उत्तरको हिल्सासम्म  जोडिइसकेको थियो।

गत वर्ष मात्रै सिमकोट संघीय राजधानी काठमाडौंसँग सडकमार्गबाट जोडिएको हयो । योसँगै नेपालका ७७ वटै जिल्ला सदरमुकाममा सडकको पहुँच पुगेको छ । कालीकोेटको खुलालुदेखि सुरु हुने कर्णाली करिडोर चीनको सीमा हिल्सासम्म पुग्छ । यो सडकको भर्खरै ट्र्याक खुलेकाले खोला र नदीहरूमा पुल बनेका छैनन् । बर्खाबाहेक समयमा अहिले कर्णाली उत्तरको छिमेकी चीनसँग स्थलमार्गले जोडिएको छ।

हिल्सासम्म सडक सञ्जाल पुगेसँगै उत्तरी नाकामा भन्सार कार्यालय स्थापना गरिएको छ । सडक पुगेसँगै जिल्लाबाहिरका व्यापारीहरू पनि यारी नाका पुग्ने गरेका छन् । तर भन्सार कार्यालय हिल्साले भने जिल्लाबाहिरका व्यापारीलाई सामान ल्याउन अनुमति दिएको छैन।

यारी भन्सार कार्यालयका प्रमुख रामराज जैसीले इन्टरनेट, सिल सिस्टम, क्वारेन्टाइन नहुँदा जिल्लाबाहिरका व्यापारी नाकामा आए पनि आफूहरूले फर्काउने  गरेको बताए।

‘हातले बिल काट्नुपर्छ, सिल गर्ने मेसिन र प्रविधि पनि छैन्,’ उनले भने, ‘भन्सारबाट एउटा सामान लिएर जाने, बाटोमा हेराफेरि गरिदिएमा हामी फस्छौं, त्यहीं भएर नाकाबाट बाहिरका व्यापारीलाई सामान ल्याउ दिएका छैनौं।’

गत मंसिरमा चीनबाट दुई ट्रक जुत्ता कर्णाली करिडोर हुँदै बाँकेको नेपालगन्ज पुगे। भन्सारबाट स्थानीय व्यापारीले जाँचपास गरेर सदरमुकाम सिमकोट ल्याएपछि त्यहाँबाट उनीहरूले नेपालगन्जका व्यापारीलाई बिक्री गरेका थिए । सडकको पहुँच पुगे पनि भन्सार कार्यालयमा आवश्यक पूर्वाधार नहुँदा समस्या भइरहेको उनले बताए । चालु आर्थिक वर्षमा यारी भन्सारलाई छ लाख दुई हजार राजस्व उठाउने लक्ष्य दिइएको थियो । वैशाख मसान्तसम्म १८ लाख राजस्व उठेको छ । ‘भन्सारमा आवश्यक पूर्वाधार, इन्टरनेटलगायत सुविधा भए करोडौंको राजस्व उठ्ने थियो,’ उनले भने, ‘सडक पुगेपछि भन्सार कार्यालयको क्षमता अभिवृद्धिका लागि सरकारले सोच्नुपर्ने बेला भएको छ।’

हिल्सा–सिमकोट सडक योजनाका निमित्त प्रमुख बेलबहादुर नेपालीले उत्तरतर्फको सडकलाई बाह्रै महिना सञ्चालन गर्ने गरी काम भइरहेको बताए । ‘दक्षिणबाट सिमकोट सडकले नजोडिँदै उत्तरबाट सदरमुकामसम्म सडक जोडिएको थियो,’ उनले भने, ‘यो सडकलाई बाह्रै महिना सञ्चालन हुने बनाउन काम भइरहेको छ।’

सिमकोटबाट हिल्सासम्मको दुरी ९८ किलोमिटर छ । यस्तै कालीकोटको खुलालुदेखि सिमकोटसम्मको दुरी १७३ किलोमिटर हो । खुलालुसम्म सुर्खेतबाट कर्णाली राजमार्ग भएर यात्रा गर्नुपर्छ।

सदरमुकाम सिमकोटसम्म यातायातका साधन पुग्ने बनाउन नेपाली सेनाको महत्त्वपूर्ण भूमिका छ । सेनाले खार्पुनाथ गाउँपालिका–५ स्थित खार्पु हुँदै बग्ने कर्णाली नदीमाथि बेलिब्रिज र अप्ठेरो चट्टानी पहाड फोडेपछि सिमकोट राष्ट्रिय राजमार्गसँग जोडिएको हो । सेनाले २०८१ वैशाखमा कर्णाली करिडोरअन्तर्गत हुम्लाको लालीबगर–दुल्लीकुना खण्डको ११ किमि ट्र्याकको ब्रेकथ्रु गरेको थियो । सेनाले हाल कालीकोट–बाजुरा जोड्ने घाटपारीचौर–बद्रीगाउँ–भुक्काखोलाको ११.५ किमि सडकको नयाँ ट्याक खोल्ने काम गरिरहेको छ । जसमध्ये हालसम्म साढे ५ किमि ट्र्याक खोलिसकिएको छ । अब ६ किमि ट्र्याक खोल्न बाँकी छ । यसखण्डमा यसअघि नै सडक बनिसके पनि सेनाले दुरी छोट्याउन एलाइमेन्ट परिवर्तन गरी नयाँ ट्र्याक खोल्न लागेको हो।

कर्णाली करिडोरअन्तर्गत कालीकोटको खुलालुदेखि चीनको सीमा हिल्सासम्म २६९ किमि सडकलाई दुई खण्डमा विभाजन गरी निर्माण भइरहेको छ।

खुलालुदेखि हुम्लाको सल्लीसल्लासम्मको सडकमध्ये ३० किमि ग्राभेल र एक किमि ढलान भइसकेको छ । कल्भर्ट निर्माण, साँघुरा सडक फराकिलो बनाउने काम भइरहेको खुलालु–सल्लीसल्ला सडक योजना प्रमुख विसुन्दास लामाले बताए । उनले ५० किमि सडक कालोपत्र गर्ने प्रक्रियासमेत अघि बढाइएको जानकारी दिए । उनका अनुसार ५० किमि सडक कालोपत्र गर्न स्रोत सुनिश्चित भई दुई खण्डमा ठेक्का आह्वान गरिएको छ । पिलीचौर–कुबाडी २३.७ किमि र कुबाडी–तुम्चा २७.३ किमिका लागि छुट्टाछुट्टै ठेक्का लगाइ कालोपत्रका लागि स्टक्चरका विभिन्न काम सुरु भएको उनले बताए । करिडोरको उत्तर खण्ड (सल्लीसल्ला–सिमकोट–हिल्सा) १४६ किमि सडक फराकिलो बनाउने काम भइरहेको छ।

प्रकाशित: ९ जेष्ठ २०८३ १०:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App