कैलालीका वरिष्ठ वन अधिकृत पूर्णशंकर यादव ठूलो परिमाणको घुस रकमसहित पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई ७ लाख ३१ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा सोमबार रङ्गेहात नियन्त्रणमा लिएको हो।
अख्तियारका अनुसार, डिभिजन वन कार्यालय, धनगढीमा कार्यरत यादवले सेवाग्राहीसँग घुस/रिसवत माग गरेको भन्ने सूचना र उजुरीका आधारमा कारबाही अगाडि बढाइएको थियो।
उनले कैलालीको चुरे गाउँपालिका–६ स्थित ग्वासी सामुदायिक वनको घाटगद्दीमा रहेको काठको बिमर्का र छोडपूर्जी उपलब्ध गराउने प्रयोजनका लागि सेवाग्राहीसँग उक्त रकम माग गरेको अख्तियारले जनाएको छ।
वरिष्ठ अधिकृत यादवले घुस माग गरिरहेको सूचना पाएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, कञ्चनपुरबाट खटिएको विशेष टोलीले उनीमाथि निगरानी राखेको थियो।
टोलीले उनलाई सेवाग्राहीबाट ७ लाख ३१ हजार रुपैयाँ लिइसकेको अवस्थामा धनगढीस्थित डिभिजन वन कार्यालयबाटै रकमसहित नियन्त्रणमा लिएको हो।
पक्राउ परेका यादवमाथि थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए।
प्रकाशित: ५ श्रावण २०८२ २१:५५ सोमबार





