२३ मंसिर २०८२ मंगलबार
image/svg+xml
समाज

कैलालीका सिडिओ भन्छन्: कैदीहरुले गेटमा प्रेसर कुकर राख्या छन्, भित्र छिर्न सकिएको छैन

कैलालीका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले जिल्ला कारागारमा भएको रक्तपातपूर्ण झडप ‘आन्तरिक नेतृत्व कसले लिने’ भन्ने विवादका कारण भएको बताएका छन्।

घटनापछि कारागार अझै कैदीबन्दीको नियन्त्रणमा रहेको स्वीकार गर्दै उनले अवस्थालाई सामान्य बनाउन प्रयास भइरहेको र घटनाको गम्भीर छानबिन गरिने प्रतिबद्धता व्यक्त गरे।

शुक्रबार मध्यरातमा भएको हिंसात्मक घटनामा एक कैदीको मृत्यु र दर्जनौं घाइते भएपछि शनिबार अपराह्न आयोजित पत्रकार सम्मेलनमा प्रजिअ हमालले घटनाको विस्तृत जानकारी दिएका हुन्।

प्रजिअ हमालले हाल कारागारको आन्तरिक भाग कैदीबन्दीको नियन्त्रणमै रहेको र सुरक्षाकर्मी भित्र पस्न नसकेको अवस्था रहेको बताए।

‘जिल्लाको सुरक्षा टोलीलाई कैदीहरूले भित्र छिर्न दिएका छैनन्। उनीहरूले केही गेटहरुमा प्रेसर कुकर राखेर अवरोध गरेका छन्,’ उनले भने, ‘हामी उनीहरूसँग समन्वय र संवादमार्फत अवस्था सामान्य बनाउने प्रयासमा छौं।’

झडपको कारण: नाइके बन्ने होड

उनका अनुसार कारागारभित्र ब्लक ‘ए’ र ब्लक ‘बी’ का कैदीबन्दीबीच आन्तरिक व्यवस्थापन र नेतृत्वको विषयमा विवाद चुलिँदै गएको थियो। ‘कारागारको आन्तरिक व्यवस्थापनमा नेतृत्व कसले लिने भन्ने सन्दर्भ नै झडपको मुख्य कारण देखिन्छ,’ उनले सुनाए।

प्रजिअ हमालले घटना हुनुअघि नै दुई समूहबीच तनाव रहेको र जिल्ला सुरक्षा समितिले गएर दुवै पक्षलाई सम्झाएको समेत बताए। ‘हामीले शुक्रबार दिउँसो जिल्ला सुरक्षा समिति नै गएर दुवै टोलीलाई सम्झाएका थियौं, उनीहरूले मिलेर बस्ने सहमति पनि गरेका थिए। तर राति एक्कासी ब्लक ‘ए’ का कैदीले ब्लक ‘बी’ का कैदीमाथि आक्रमण गरे,’ उनले भने।

छानबिन समिति गठन हुने, दोषीलाई कारबाही गरिने

प्रजिअ हमालले घटनाको सत्यतथ्य पत्ता लगाउन जिल्ला प्रशासन कार्यालय र गृह मन्त्रालय दुवै तहबाट छानबिन समिति गठन हुने जानकारी दिए।

‘हतियार कसरी भित्र छिर्‍यो भन्ने विषयमा गम्भीर छानबिन हुन्छ। छानबिनबाट कसैको संलग्नता वा कमजोरी देखिएमा कडा कारबाही अघि बढाउँछौं,’ उनले प्रतिबद्धता व्यक्त गरे।

घाइतेहरूको उपचारलाई प्राथमिकतामा राखिएको र गम्भीर घाइतेलाई सुविधासम्पन्न अस्पतालमा पठाउन समन्वय भइरहेको उनको भनाइ छ।

कैलाली कारागार १२५ जनाको क्षमताको भए पनि हाल ६५० भन्दा बढी कैदीबन्दी रहेकाले व्यवस्थापनमा चुनौती रहेको समेत उनले स्वीकार गरे।

यो पनि पढ्नुहोस्

लापरबाहीले जेलभित्रै गुण्डा समूहकाे ‘ग्याङ वार’:  कारागार राज्यको नियन्त्रणबाहिर

यो पनि पढ्नुहोस्

कैलाली कारागार घटना: एक जना घाइतेलाई स्काई ट्रकमार्फत काठमाडौं ल्याइँदै

यो पनि पढ्नुहोस्

कैलाली कारागार झडपः छानबिन समिति गठन, प्रतिवेदनकाे समय १० दिन

प्रकाशित: २४ श्रावण २०८२ २०:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App