जुम्लाको चन्दननाथ नगरपालिका–५ स्थित राजासिम मैदानमा दसैँको अवसरमा जुम्ली घोडा दौड प्रतियोगिता आयोजना गरिएको छ। पछिल्ला वर्षमा लोप हुँदै गएको जुम्ली घोडालाई संरक्षण गर्ने उद्देश्यसहित हरेक वर्षको फूलपातीको दिन यो दौड आयोजना हुँदै आएको हो।
यस वर्ष प्रतियोगितामा ४१ घोडा तीन विधामा प्रतिस्पर्धामा उत्रिएका थिए। पालित विधामा अमृत बुढा प्रथम, राजकुमार बुढा द्वितीय र अंगराज तथा रामकुमार बुढा तृतीय भए। विजेतालाई क्रमशः ५ हजार, ३ हजार र १ हजार ५०० रुपैयाँ नगदसहित प्रमाणपत्र प्रदान गरिएको थियो।
.jpeg)
चाल/कदम विधामा राजेन्द्र रोकाया प्रथम, हर्क बहादुर शाही द्वितीय र गणेश शाही तृतीय भए। विजेतालाई क्रमशः ५ हजार, ३ हजार र २ हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिएको थियो। खुला रेसमा कालीप्रसाद न्यौपाने प्रथम, रवीन्द्र बाहेरा द्वितीय र लोकप्रसाद न्यौपाने तृतीय भए। उनीहरूलाई क्रमशः १५ हजार, १० हजार र ५ हजार रुपैयाँसहित प्रमाणपत्र उपलब्ध गराइएको थियो।
प्रतियोगिता संस्कृति संरक्षण तथा प्रवर्द्धन समिति, पशु अस्पताल र पशु सेवा कार्यालय जुम्ला र चन्दननाथ नगरपालिकाको संयोजनमा सम्पन्न भएको थियो। प्रतियोगितामा चन्दननाथ, पातारासी, सिंजा र गुठीचौर गाउँपालिकाबाट घोडा ल्याइएको थियो।
घोडापालक जयकृष्ण धरलाले भने, 'घोडा दौडले किसानहरूलाई घोडा संरक्षण अभियानमा उत्साहित बनाएको छ। अब हरेक घरमा घोडापालन प्रोत्साहित गर्नुपर्ने देखिन्छ।' प्रतियोगिताले जुम्ली घोडाको सांस्कृतिक महत्त्व र स्थानीय पर्यटन प्रवर्द्धन दुवैमा योगदान पुर्याएको आयोजकहरूले बताए।
जुम्ली घोडा परम्परागत यातायातको साधनको रूपमा परिचित थियो। कर्णाली राजमार्ग सञ्चालन भएपछि यसको प्रयोग घटेको भए पनि दौडले स्थानीय समुदायमा यसको क्रेज कायम राखेको देखिन्छ। प्रतियोगिता हेर्न जिल्लाका विभिन्न स्थानबाट दर्शकहरू उपस्थित थिए भने जिल्ला समन्वय समिति, चन्दननाथ नगरपालिकाका प्रमुख र अन्य पदाधिकारीहरूले दौड अवलोकन गरेका थिए।
.jpeg)
सदरमुकाम बाहेक गुठिचौर गाउँपालिकामा पनि दसैँको अवसरमा घोडा दौड आयोजना भएको थियो। प्रतियोगितामा ४१ घोडा सहभागी भए र वडाध्यक्ष शंकर रोकाया प्रथम, सुरेन्द्र थापा द्वितीय र अस्टमन बोहरा तृतीय बने। विजेतालाई क्रमशः १५ हजार, १० हजार र ५ हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिएको थियो। महिला प्रतियोगीलाई पनि सम्मान गरिएको थियो।
घोडा दौडको परम्परा जुम्ली विमानस्थल निर्माणअघि नियमित रूपमा चल्थ्यो। मेयर राजु सिंह कठायतका अनुसार विमानस्थल पक्की भएपछि केही वर्ष दौड रोकिएको थियो। दशकअघिदेखि फेरि निरन्तर आयोजना भइरहेको प्रतियोगिताले दसैँको सांस्कृतिक र मनोरञ्जन मूल्य बढाउने मात्र नभई जुम्ली घोडाको संरक्षण र स्थानीय पर्यटन प्रवर्द्धनमा पनि योगदान पुर्याएको छ।
प्रकाशित: १३ आश्विन २०८२ २१:५८ सोमबार





