२६ भाद्र २०८३ शुक्रबार
image/svg+xml
समाज

गैँडा तस्करीको अग्रभागमा विपन्न, नाफाको तहमा शक्तिशाली

घरका भित्तामा चिरा छन्। छानाका जस्तापाता खिया लागिसकेका छन्। पालीका पाता खसिसके। ओस र ढुसीको गन्ध अझै बाँकी छ। त्यही घरभित्र गौरीराम चौधरी एक्लै टोलाइरहेका थिए। त्यो घर उनको होइन।

चितवनको कालिका नगरपालिका-४ पदमपुरका ६६ वर्षीय चौधरी गैँडा तस्करी मुद्दामा १४ वर्ष एक महिनाको कैद भुक्तान गरेर गत असार २५ गते भरतपुर कारागारबाट फर्किएका हुन्। फर्किएपछि बस्ने ठाउँ नभएपछि उनी यही पुरानो घरमा आश्रय लिएर बसेका छन्।

‘यहाँ मेरो चार कठ्ठा हाराहारीमा जग्गा थियो। बुढीले जग्गासहित घर पनि बेचेर बसेकी रहिछे,’ पिँढीमा बोरामा राखिएको खोइलातर्फ देखाउँदै उनले भने, ‘घर किन्ने व्यक्ति नआउँदासम्म बस्ने भनेर दाउरा पन्छाएर बसेको छु।’

उनका दुई छोरा र श्रीमती छन्। जग्गा र घर बिक्री गरेर बाँकी रहेको १० धुर जग्गामा सानो घर बनाएर परिवार बसेको छ। ज्यालामजदुरी गरेर जीविका चलाउँदै आएका चौधरीले गैँडा चोरीशिकारको आरोपमा २०६९ जेठ २७ गते जेल परेका थिए। त्यसअघि उनी ज्यालामजदुरी गरेर घर चलाउँथे। १४ वर्ष एक महिना कैद र एक लाख ५० हजार रुपैयाँ बिगो तिरेर फर्किएपछि उनको जीवन झन् कठिन बनेको छ। ‘कति जग्गा मुद्दा लड्दा सकियो। जेलमा कमाएको पैसा पनि उतै बुझाउनुपर्‍यो,’ उनले भने, ‘अब चल्ने उपाय केही छैन।’

 गौरीराम चौधरी

पाँच हजारको लोभ, १५ वर्षको जेल

चौधरीको कथा वन्यजन्तु अपराधमा संलग्न भएका विपन्न मानिसको अवस्थाको एउटा प्रतिनिधि चित्र हो। २०५९ मा राप्तीपारिको पुरानो पदमपुरमा बाढीले एउटा गैँडा बगाएर ल्याएको थियो। उनका साथीहरूले गैँडा मारिसकेपछि त्यसको खाग बिक्रीका लागि आफूलाई प्रयोग गरेको चौधरी बताउँछन्।

‘गैँडा नल्याऊ भन्दा मानेनन्। मलाई बलजफ्ती साथी बनाएर लगे। सिङ उनीहरूले नै राखे। उनीहरूले काठमाडौं लगेर बेचेछन्,’ उनले भने, ‘मलाई १ लाख ८० हजार रुपैयाँ दिएका थिए। त्यसबाट १ लाख ३८ हजार रुपैयाँ मैले अन्य साथीहरूलाई दिन परेको थियो।’

उनका अनुसार खाग बिक्री गर्नेहरू अझै बाहिर छन्। आफूलाई केवल प्रयोग गरिएको उनको दाबी छ। उनका अनुसार खाग बिक्री गर्नेहरू अझै बाहिर छन्। आफूलाई केवल प्रयोग गरिएको उनको दाबी छ। नजिकैका व्यक्तिले आफूलाई प्रयोग गरेको उनले बताए।

‘माल (खाग) लैजानका लागि प्रयोग गरेँ । उनीहरूले खाग लगेर बेचे। मलाई आएर १ लाख ८० हजार रुपैयाँ दिएका थिए ,’ उनले भने, ‘त्यो रकममध्येबाट खगमा सम्लग्न दुई जना व्यक्तिलाई ६०/ ६० हजार रुपैयाँ दिएँ। १८ हजार रुपैयाँ निकुञ्ज प्रशासनमा काम गर्ने व्यक्तिलाई दिएँ। मेरो हातमा ४२ हजार परेको थियो।’

उनीहरूले काठमाडौंमा लगेर खाग २८ देखि ३० लाख रुपैयाँमा बिक्री गरेको हुनसक्ने उनको आरोप छ।

वन्यजन्तु अपराधमा संलग्न कतिपय व्यक्तिलाई आफूले गर्न लागेको अपराधको कानुनी परिणामसमेत थाहा नहुने देखिन्छ। भरतपुर कारागारमा रहेका पदम प्रजाको अनुभवले पनि यही देखाउँछ। ‘यत्रो १५ वर्ष कैद बस्नुपर्छ भन्ने थाहा भएको भए त त्यो पाँच हजार रुपैयाँ खाने नै थिएन नि ? त्यतिखेर पैसा दियो, त्यो पैसा जाँड खाएर सकियो। अहिले बल्ल परेपछि थाहा भइरहेको छ,’ उनले भने।

कमाउने व्यक्ति जेलमा, परिवार अरूको आश्रयमा

राप्ती नगरपालिका-१० कालिखोलाका राजकुमार प्रजालाई २१ वटा गैँडा मारेको अभियोग छ। मलेसियाबाट रेड नोटिस जारी गरेर नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले २०७१ माघ १६ गते नेपाल ल्याएका उनी वीरगञ्ज कारागारमा छन्। तर, उनको परिवारको अवस्था हेर्दा उनले ठूलो रकम कमाएको कुनै संकेत देखिँदैन।

घरखर्च चलाउन कठिन भएपछि उनकी श्रीमती मोतिमाया जेठानी दिदीको घरमा आश्रय लिएर बसेकी छन्। ‘हाम्रो त यहाँ केही छैन। एउटा बाबु, एउटी छोरी र म जेठानी दिदीको भाइको घरमा बसेका छौँ,’ भर्खर मेलामा गएर आएकी मोतिमायाले भनिन्, ‘घरखर्च पनि उहाँले नै चलाउनुभएको छ।’

राजकुमार प्रजाकी श्रीमती जेठानी दिदीको भाइ घरमा

उनकी जेठानी शिक्षिका समेत हुन्। उनीहरूको घर राप्तीको कालिखोलामा पर्छ। माइला जेठाजुको छोरासँग बस्दै आएकी उनी हिजोआज कालिका नगरपालिका-९ स्थित कालिका मन्दिर अगाडि बसेकी छन्। उनका जेठा छोरा एक वर्षअघि कतार गएका छन्। ‘छोराले विदेश गएको एक लाख ऋण तिर्न सकेको छैन,’ मोतिमायाले भनिन्, ‘अझै एक वर्ष लाग्छ भन्दैछ।’

राजकुमार भक्तराज गिरी नाम फेरेर मलेसिया पुगेका थिए। पाँच वर्ष मलेसियामा बिताएका उनले घरमा बेला-बेला पैसा पठाइरहन्थे। त्यसबाट घरखर्च चले पनि अहिले घरखर्च चलाउनसमेत समस्या भएको उनले सुनाइन्। कालिखोलामा चार भाइको दुई बिघा ऐलानी जग्गा छ। तर त्यहाँ मकै, धान, कोदो खेती गरेर वर्षभरि खान पुग्दैन।

‘जिविका चलाउन कठिन छ। मजदुरी गरेर बुढा सासु-ससुरासहित ६ जनाको परिवार धान्न कठिन छ,’ मोतिमायाले भनिन्, ‘घरमा बस्न समस्या भएपछि दिदीको साहारा खोज्दै उहाँको भाइको घरमा आएकी छु।’

राजकुमार २०६० देखि २०६७ को बीचमा २१ वटा गैँडा मारेर खुर र खाग झिकेको अभियोगमा सजाय काटिरहेका छन्। २०७१ मा पक्राउ परेका उनलाई सात वटा गैँडा मारेको आरोप अदालतले प्रमाणित गरेको छ। अन्य गैँडा मारेको आरोपको फैसला अझै हुन बाँकी छ।

राजकुमारलाई तीन वटा मुद्दामा १५/१५ वर्ष कैद र एक/एक लाख जरिवाना तथा अर्का तीन वटा मुद्दामा १०/१० वर्ष कैद भुक्तान गर्नका लागि सजाय तोकिएको छ। यद्यपि कैद भुक्तान भने उनले १५ वर्ष मात्र गरे हुन्छ। पैसा नभएपछि उनीहरूले व्यक्तिगत वकिल राखेनन्। निकुञ्ज प्रशासनको अभियोगअनुसार नै अदालतले फैसला गरेको उनले सुनाइन्। पैसा नभएको कारण पुनरावेदनसमेत गरेका छैनन्।

फैसलामा राजकुमारलाई गैँडा मार्ने योजना बनाउने, बन्दुक, गोलीकठ्ठालगायतका सामान जुटाउने, निकुञ्जभित्र अवैध रूपमा प्रवेश गर्ने तथा खाग बिक्रीबाट प्राप्त भएको रकम अन्य व्यक्तिलाई बाँड्ने गरेको उल्लेख छ।

२०७२ मा संविधान जारी हुनुअघि एक वर्षभन्दा बढी कैद हुने कसुरमा सुरुवाती सुनुवाइ जिल्ला अदालतबाट मात्र गर्ने व्यवस्था छ। त्यही भएर चितवन अदालतले २०७३ मा राजकुमारसहित १० जनालाई १५ वर्ष कैदको फैसला सुनाएको थियो।

राजकुमारका चार भाइमध्ये सबैजना गैँडा चोरीशिकार मुद्दामा जेल परेका छन्। तीन भाइ अझै कारागारमा छन्। जेठा दलबहादुर प्रजा भने सात वर्ष जेल बसेपछि सफाइ पाएर फर्किएका छन्। ‘साउदी अरबबाट दुई महिना छुट्टीमा आउनुभएको निर्दोष व्यक्तिलाई फसाएर जेल हाल्यो,’ दलबहादुरकी श्रीमती लिला कुमारी प्रजाले भनिन्, ‘दुई दिनपछि बिदा सकिँदै थियो। पक्रेर लग्यो। सात वर्षपछि मुद्दा जितेर फर्कियौँ।’

मुद्दा लड्दा लड्दै साउदीमा कमाएको पैसा सकिएको उनले बताइन्। कक्षा १० मा पढ्दै गरेको छोरा उपचार नपाएर बितेको समेत उनले बताइन्। जेल पर्नुअघि दलबहादुरले दुई छोरा र एक छोरीलाई पढाइरहेका थिए। तर, जेल परेपछि परिवारको आम्दानी ठप्प नै भएको उनले बताइन्।

माइला दाजु बलबहादुर प्रजाले १२ वर्षको सजाय भरतपुर कारागारमा काटिरहेका छन्। उनी २०७१ मा पक्राउ परेका थिए। १२ वर्ष पुगे पनि पैसा अभावका कारण घर आउन नपाएको उनका कान्छा छोरा आशिश प्रजा बताउँछन्। ‘हामी गरिब मान्छे। हामीसँग पनि पैसा छैन। आमा हामीलाई छाडेर गएको पनि धेरै भयो,’ उनले भने, ‘बाबाले पैसा खोज्न भन्नुभएको थियो। मसँग पनि छैन, कहाँबाट ल्याउने ?’

साइला रामकुमार त्रिशुली कारागारमा छन्। सबैजनाका एक-एक जना छोरा रोजगारीका लागि खाडी मुलुक गएका छन्। कमाउने व्यक्ति कारागारमा हुँदा छोराछोरी पाल्न कठिन भएको लिलाकुमारी प्रजा बताउँछिन्।

‘मेरा माइतका दाइहरू पनि जेलमा नै हुनुहुन्छ। विदेश हुँदा श्रीमानको कमाई राम्रै थियो। दुश्मनले सुराकी गरेपछि कमाउने बेला कारागारमा सात वर्ष बिताउन पर्यो। अहिले बाख्रा पालेका छौँ। यसबाट कमाई पनि हुँदैन,’ उनले भनिन्, ‘उहाँ बिरामी समेत हुनुहुन्छ, उपचार गरिरहनुपर्छ।’

२०७० जेठमा पक्राउ परेका काजिमानलाई १५ वर्ष कैद र एक लाख जरिवानाको फैसला अदालतले सुनाएको छ। उनी केही दिनमा घर फर्किने लिलाले सुनाइन्। यसका लागि जापान गएका छोराछोरीले पैसा समेत जोहो गरिसकेका छन्।

उनकी श्रीमती समेत गैँडा तस्करीमा लागेको आरोपमा पक्राउ परेर कैद भुक्तान गरेर फर्किएकी छिन्। निकुञ्जले १० वर्ष कैद र एक लाख जरिवाना सुनाए पनि उच्च अदालत हेटौँडाले कैद सजाय घटाएर पाँच वर्षमा झारेको थियो।

राजकुमार प्रजाको घर

बुबा जेल परेपछि छोराछोरीको जिम्मेवारी छोरीको काँधमा

राप्ती नगरपालिका-३ धमेलीकी २३ वर्षीया सुनिता चेपाङका बुबा सानु प्रजा गैँडा मुद्दामा पक्राउ परेपछि परिवारको जिम्मेवारी उनको काँधमा आएको छ।

भाइबहिनी पढाउने र वृद्ध हजुरआमाको हेरचाह गर्ने जिम्मेवारी उनीमाथि छ। बुबा जेल परेपछि घरखर्च चलाउन कठिन हुँदा उनकी आमा वैदेशिक रोजगारीका लागि कुवेत गएकी छन्। ‘बुवा जेल परेपछि हामीलाई निकै कठिन भयो। कहिले कोइला बोक्न हिँड्यौँ, कहिले बालुवा बोक्न पनि हिँडियो। घरखर्च चलाउन कठिन भएपछि ममी कुवेत जानुभयो,’ उनले भनिन्, ‘त्यसयता भाइ र बहिनीलाई हेर्ने जिम्मेवारी मेरो काँधमा आएको छ।’

उनकी बहिनीले अहिले एसइई उत्तीर्ण गरेकी छन् भने भाइ बुद्ध शान्ति माध्यमिक विद्यालयमा कक्षा ६ मा पढ्छन्। सुनिताले खैरहनीमा पार्टनरमा होटल सञ्चालन गरेकी छन्। यसबाट जेनतेन खर्च जुटाउन सफल भएको उनी बताउँछिन्।

सुनिताका अनुसार गाउँमा केही ऐलानी जग्गा रहेको छ। त्यसले वर्षभरि खानसमेत पुग्दैन।

 सुनिता चेपाङ होटलमाा

तथ्यांकले देखाउँछ- अग्रभागमा मध्यवर्ती क्षेत्रका विपन्न

चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र आसपासका विपन्न समुदाय वन्यजन्तु अपराधको अग्रभागमा बढी देखिएका छन्।

भरतपुर कारागारमा वन्यजन्तु अपराधमा कैद भुक्तान गरिरहेका ३९ कैदीबन्दीमध्ये गैँडा मुद्दाका मात्रै २८ जना छन्। तीमध्ये १३ जना चेपाङ समुदायका छन्। त्यसपछि गुरुङ समुदायका छ, तामाङ, क्षेत्री चार-चार, थारु, र मगर तीन-तीन, दलित दुई तथा ब्राह्मण, दराई, कुमाल र नेवार समुदायका एक-एक जना छन्।

‘वन्यजन्तु अपराध मुद्दामा अहिलेसम्म वनमा आश्रित हुने व्यक्तिहरू बढी नै हुनुहुन्छ,’ कारागार प्रशासन प्रमुख सुवास शर्मा पौडेलले भने, ‘गैँडा मुद्दाका ११ जना कैदीबन्दी त जेन्जी आन्दोलनमा भागेका छन्।’

गैँडा बाहेकको वन्यजन्तु चोरी-सिकारी मुद्दाका पाँच जना र सालक आखेटोपहार मुद्दाका चार जना कैदीबन्दी रहेका छन्। उनीहरूमध्ये अधिकांश चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र आसपासमा रहेका व्यक्ति रहेको भरतपुर कारागारका सूचना अधिकारी चेतनाथ ढुंगानाले जानकारी दिए।

‘वन्यजन्तु अपराधमा लागेर कैद भुक्तान गरिरहनुभएका अधिकांश व्यक्तिको नामवतन केलाउँदा मध्यवर्ती क्षेत्रकै बासिन्दा बढी हुनुहुन्छ,’ उनले भने।

कारागार प्रशासनका अनुसार वन्यजन्तु अपराधमा कैद भुक्तान गरिरहेका अधिकांश व्यक्ति मध्यवर्ती क्षेत्रका बासिन्दा हुन्। भरतपुर कारागारमा मात्रै चितवनका १८, नवलपरासी पूर्वका सात तथा तनहुँ, मकवानपुर र सुनसरीका एक-एक जना छन्। वीरगञ्ज कारागारमा वन्यजन्तु अपराधका सात जना छन्।

चितवन राष्ट्रिय निकुञ्जले २०७४ सालयता वन्यजन्तु अपराधसम्बन्धी २८ वटा मुद्दा दर्ता गरेको छ। तीमध्ये प्रमाणित भएका मुद्दामा २६ जना पक्राउ परेर कारागारमा सजाय भुक्तान गरिरहेका छन्।

पछिल्ला वर्षमा गैँडा चोरीशिकार पनि घटेको निकुञ्जको तथ्यांकले देखाउँछ। २०८० यता गैँडा चोरीशिकार नभएको निकुञ्जको दाबी छ।

‘२०८० यता गैँडाको चोरीशिकारी भएको छैन,’ निकुञ्जका मुद्दा शाखा प्रमुख सन्त मगरले भने, ‘पक्राउ त धेरै परेका छन्। केही प्रमाण पूरा नभएपछि अदालतबाट सफाई पाए। डिभिजन वन कार्यालयहरूले पनि गैँडाको मुद्दा दर्ता गर्ने भएकाले पनि धेरै जना व्यक्ति कारागार चलान भएको देखिन्छ।’ पछिल्लो समय २०८१/०८२ मा तीन वटा गैँडा चोरीसिकारीबाट मारिएका थिए। त्यसमध्ये पाँच जनालाई प्रतिवादी बनाइएको छ।

तीन तहमा चल्छ तस्करीको नेटवर्क

वन्यजन्तु अपराधको यो तस्वीरले एउटा महत्वपूर्ण प्रश्न उठाउँछ- गैँडा मार्नेहरू मात्रै तस्करीको मुख्य खेलाडी हुन् त ?

चितवन राष्ट्रिय निकुञ्जका मुद्दा शाखा प्रमुख सन्त मगरका अनुसार वन्यजन्तु अपराधमा संलग्न समूहले तीन तहमा काम गर्ने गरेको अनुसन्धानबाट देखिएको छ। पहिलो तहले गैँडा मार्ने, दोस्रोले खागलगायतका अंग सप्लाई गर्ने र तेस्रो तहले बिक्री गर्ने काम गर्छ।

‘बेसिक लेयरमा गैँडा मार्ने काम हुन्छ। अर्को टोलीले सप्लाईको काम गर्छ र तेस्रो टोलीले बेचबिखनको काम गर्छ,’ उनले भने, ‘यहाँ पक्राउ परेका मानिसहरू बेसिक लेयरमा गैँडा मार्ने मान्छेहरू छन्। गैँडा मार्नका लागि सोझा युवालाई तस्करहरूले प्रयोग गरेको पाइन्छ।’

यसले वन्यजन्तु अपराधको संरचनामा जोखिम उठाउने र सजाय भोग्ने व्यक्ति तथा नाफा कमाउने व्यक्ति एउटै हुन् कि होइनन् भन्ने प्रश्न उठाउँछ।

सन् २०१९ मा प्रकाशित वाइली जर्नलका अनुसार अवैध वन्यजन्तु अपराधमा कारागारमा भएका १२ प्रतिशत व्यक्ति ढुवानीमा संलग्न रहेका छन्। ३१.९ प्रतिशत मानिसको भूमिका एउटा मात्र थियो। ३९.७ प्रतिशत मानिसले दुई वा तीन वटा काम गरेका थिए भने १५ प्रतिशत मानिसले वन्यजन्तु अपराधमा चार वटा गतिविधिमा संलग्न भएको जर्नलमा उल्लेख छ। सो जर्नलले वन्यजन्तु अपराधमा संलग्न भएका ३८४ जनासँग अन्तर्वार्ता लिएको उल्लेख गरेको छ। त्यसमध्ये ६१ प्रतिशत गैँडासँग सम्बन्धित थिए।

चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती सामुदायिक वन व्यवस्थापन समितिका अध्यक्ष शिवजी गायकका अनुसार आर्थिक रूपमा विपन्न, शैक्षिक रूपमा कमजोर र वैकल्पिक पेसा व्यवसायमा जम्न नसकेका युवाहरूलाई चोरीशिकारमा प्रयोग गर्ने गरिएको छ। ‘सोझा-साझा र कमजोर व्यक्ति नै पक्राउ परेका छन्,’ उनले भने। गैँडाको खाग बहुमूल्य रूपमा बिक्री हुँदै आएको छ। यहाँबाट चीन, हङकङलगायतका देशमा तस्करले लगेर बिक्री गर्ने बताइन्छ। यद्यपि विस्तृत अध्ययन भने अझै बाँकी रहेको उनले बताए।

‘वन्यजन्तुका छाला तथा सिङ बेच्न पहिलाजस्तो त्यति सजिलो छैन,’ उनले भने, ‘खाग प्रयोग हुने त देश बाहिर नै हो।’

माथिल्लो तह अझै प्रश्नमै

कालिका नगरपालिका-९ स्थित कोलाहरका पदमबहादुर प्रजा २०६९ मंसिर ५ गते पक्राउ परेका थिए। भरतपुर कारागारको चौकीदारको समेत जिम्मेवारी सम्हालेका पदमसँगै पाँच जनालाई एकैपटक २०६८ माघ १९ गते सजाय सुनाइएको थियो। त्यो घटनाका उनी मात्र कारागारमा छन्।

उनीसँगैका राजकुमार (शक्तिखोर), पदम नगरकोटी, सन्तबहादुर प्रजा, दलबहादुर प्रजा र वीरबहादुर प्रजा कैद भुक्तान गरेर घर गएका छन्। निकुञ्जले गैँडा मारेको पत्ता लगाएपछि उनी पोल खुल्ने डरले ६ वर्ष लुकेर बसेका थिए।

उनीमाथि तत्कालीन वन कार्यालय चितवन र चितवन राष्ट्रिय निकुञ्जले सात वटा मुद्दा लगाएको छ। यद्यपि उनले एउटै मुद्दामा वीरबहादुर प्रजालगायतका व्यक्तिले रिसिबीका कारण पोलेर आफू फसेको दाबी गरेका छन्। उनलाई गैँडा तस्करीमा संलग्न भई बिक्री वितरणमा संलग्न भएको फैसलामा आरोप छ।

कानुनी ज्ञान नहुँदा समेत आर्थिक रूपमा कमजोर समुदाय अपराधमा लागेको राष्ट्रिय मानव अधिकार आयोगले २०८२ को रिपोर्टमा समेत उल्लेख गरेको छ। ‘गरिबीको कारण परिवारको भोक मेटाउन नसकेको अवस्थामा लोभलालचामा पारी कानुनविपरीत क्रियाकलापमा चेपाङहरूलाई प्रयोग गर्ने र मुख्य योजनाकार पक्राउ नपर्ने तर सोझासाझा चेपाङ पक्राउ परेको अवस्था धेरै रहेको अध्ययनबाट देखिएको छ,’ आयोगको रिपोर्टमा भनिएको छ।

गरिबी र अशिक्षाका कारण सोझा आदिवासी समुदायलाई अपराधिक कार्यमा उपयोग गरेको बताइएको छ। आयोगको रिपोर्टलाई वाइली जर्नलले पनि पुष्टि गरेको देखिन्छ। नेपालमा वन्यजन्तु अपराधमा संलग्न व्यक्तिमध्ये ५६ प्रतिशत मानिस गरिबीको रेखामुनि रहेको भने ३१ प्रतिशत व्यक्ति निरक्षर रहेको जर्नलमा उल्लेख गरिएको छ। ६९.८ प्रतिशत व्यक्तिलाई वन्यजन्तु व्यापार अवैध भए पनि जरिवानाबारे जानकारी छैन।

वन्यजन्तु अपराधको कैद सजाय भोगिरहेका अधिकांश मानिसको आर्थिक स्तर निकै कम रहेको छ। चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती सामुदायिक वन व्यवस्थापन समितिका अध्यक्ष शिवजी गायकका अनुसार गरिबीका कारण अति सीमान्तकृत चेपाङ समुदायलगायतका युवालाई चोरीशिकारमा प्रयोग गर्दै आएका छन्।

‘वन्यजन्तु अपराधमा संलग्न मानिसहरू आर्थिक रूपले विपन्न, शैक्षिक हिसाबले कमजोर, वैकल्पिक हिसाबमा कुनै पेसा व्यवसायमा जम्न नसकेका अल्लि बढी लागेको पाइएको छ,’ उनले थपे, ‘सोझासाझा र कमजोर व्यक्ति नै पक्राउ परेका छन्।’

उनका अनुसार गैँडा लगायतका वन्यजन्तु अपराधमा लागेका ‘मेन’ व्यक्तिहरू पक्राउ पर्न सकेका छैनन्। चितवन राष्ट्रिय निकुञ्जका पूर्ववार्डेन कमलजंग कुँवर पनि तस्करहरूले आर्थिक रूपमा कमजोर र प्राकृतिक स्रोतमा निर्भर समुदायका मानिसलाई पैसाको लोभ देखाएर प्रयोग गर्ने गरेको बताउँछन्।

उनका अनुसार वन्यजन्तु अपराधमा संलग्न हुने व्यक्तिको आर्थिक अवस्था हेर्दा उनीहरूले ठूलो रकम कमाएको देखिँदैन। ‘२१ वटा गैँडा मारेको व्यक्तिको त सम्पत्ति जोडेको हुनुपर्ने। उसको घर हेर्दा एकदमै कमजोर छ। अन्यत्र पनि जग्गाजमिन जोडेको देखिँदैन,’ कुँवरले भने।

उनको निष्कर्षमा वन्यजन्तु अपराधको अग्रभागमा विपन्न समुदायका व्यक्ति देखिए पनि यसको माथिल्लो तहमा प्रभावशाली र आर्थिक रूपमा सम्पन्न व्यक्ति हुन सक्ने देखिन्छ। ‘एउटा अग्रभागमा चेपाङ समुदाय बढी देखिए। तर यसको नेटवर्कको टप लेभलमा हुनेखाने, सामन्त, धनाड्य, अपराधिक सोच भएका पढेलेखेका, दरबारियासँग नजिक भएका व्यक्ति नै छन्,’ गैँडा चोरीसिकारीसम्बन्धी पुस्तकसमेत लेखेका कुँवरले भने, ‘यस्तो हुनुमा जसले जे सुकै भने पनि, माने पनि नमाने पनि मूल नेतृत्व भनेको दरबार नै हो।’

बेरोजगार भएर बसेका व्यक्ति छिटो पैसा कमाउने आशमा फस्ने गरेको उनको निष्कर्ष छ। ‘अन्य क्षेत्रमा काम गरेर १० हजार कमाउन पनि कठिन छ, गैँडा मार्‍यो भने लाख, लाख आउने भयो,’ उनले भने, ‘त्यसकारण पनि मानिस यसमा आबद्ध भएको हुन सक्छ।’

तर, चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनमगर भने निकुञ्जले जानकारी पाएसम्म तल्लो तहदेखि माथिल्लो तहसम्मका व्यक्तिलाई पक्राउ गरी कारबाही गरेको दाबी गर्छन्। उनका अनुसार अध्ययन नगरी कुनै निष्कर्ष निकाल्न नमिल्ने भएपनि पक्राउ परेकामध्ये अधिकांश आर्थिक रूपमा कमजोर देखिन्छन्।

अपराध रोक्ने उपाय जेल मात्रै हो ?

वन्यजन्तु अपराधमा संलग्न व्यक्तिलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ ले गम्भीर सजायको व्यवस्था गरेको छ। संरक्षित वन्यजन्तु, विशेषगरी गैँडा मार्ने, घाइते बनाउने, खरिद-बिक्री गर्ने वा खागजस्ता आखेटोपहार राख्ने तथा ओसारपसार गर्नेलाई पाँचदेखि १५ वर्षसम्म कैद वा ५० हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ। कसुरमा जानीजानी मद्दत गर्नेलाई पनि सजायको व्यवस्था छ।

वाइली जर्नलले गरेको अनुसन्धानमा आधाभन्दा बढीले परिवारको जीविकोपार्जनसँगै बालबालिकाको शिक्षामा थप नकारात्मक असर परेको बताएका छन्। १२ प्रतिशतको सम्बन्धविच्छेद भएको देखिन्छ। तर, सजाय भोगेर फर्किने व्यक्तिका लागि अर्को प्रश्न बाँकी रहन्छ- अब उनीहरू के गर्छन् ?

गौरीराम चौधरीजस्तै धेरै व्यक्ति जेलबाट फर्किएपछि फेरि आर्थिक अभावकै सामना गर्नुपर्ने अवस्थामा छन्। यही कारण कैद भुक्तान गरेर फर्किएका व्यक्तिलाई पुनः वन्यजन्तु अपराधतर्फ जान नदिन जीविकोपार्जनका विकल्प आवश्यक देखिन्छ। चितवन राष्ट्रिय निकुञ्जले मध्यवर्ती क्षेत्रका बासिन्दालाई सीपमूलक तालिम दिने तथा कतिपय नगरपालिकामार्फत कैद भुक्तान गरेका व्यक्तिलाई बाख्रा दिने कार्यक्रमसमेत सञ्चालन गरिरहेको जनाएको छ। तर, चितवनको त्यो चिरा परेको घरमा फर्किएका ६६ वर्षीय गौरीराम चौधरीको प्रश्न अझै उस्तै छ- १४ वर्ष जेल बसेर फर्किएपछि अब चल्ने उपाय के ?

प्रकाशित: २६ भाद्र २०८३ ११:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App