जापानिज इन्सेप्लाइटिस संक्रमणको कारण बिहीबारसम्म थप एक जनाको मृत्यु भएको छ। केलालीकी ५० वर्षीया महिलाको बुधबार मृत्यु भएको हो। महिलासहित नेपालमा चालु वर्षमा जापानिजक इन्सेप्लाइटिस संक्रमणका कारण मृत्यु हुनेको संख्या २५ पुगेको छ।
स्वास्थ्य तथा जनसख्या मन्त्रालय परिवार कल्याण महाशाखाका अनुसार मृत्यु हुनेमा सबैभन्दा धेरै झापामा छन्। हालसम्म देशभरिमा कुल ११ सय ५३ जनामा शंकास्पद लक्षण देखिएका मध्ये १ सय ८ जनामा जापानिज इन्सेप्लाइटिस पुष्टि भएका छ। भने उक्त संख्यमध्ये २५ जनाको मृत्यु भएको तथ्याकं प्राप्त भएको हो।
मृत्यु हुनेमा झापामा ६ जना, कैलाली ३, सुनसरी २, सप्तरी २, पर्सा २, अर्घाखाँचीमा २ जना रहेका छन्। त्यसैगरी मोरङ्ग, इलाम, रौतहद, धनुषा, काभ्रे, दाङ, नवलपरासी पश्चिम र कन्चनपुरमा एक/एक जनाको मृत्यु भएको छ।
जापानिज इन्सेप्लाइटिस भएका मध्येमा प्राय: मृत्यु अस्पतालमा नपुगी हुने गरेका छन्। सो क्रममा थप मृत्यु भएको हुन सक्ने परिवार कल्याण महाशाखा खोप शाखाका प्रमुख डा. अभियान गाौतम बताउँछन्। 'कतिपय बिरामीहरू अस्पतालसम्म आइपुगेका हुँदैनन्, मृत्यु भइसकेको हुन्छ,' उनले भने।
के हो जापानिज इन्सुप्लाइटिस?
जापानिज इन्सुप्लाइटिस क्युलेस जानको लामखुट्टेको टोकाइबाट सर्ने एक गम्भीर प्रकारको भाइरसजन्य सरुवा रोग हो। लामखुट्टेले टोकेको पाँचदेखि १५ दिनभित्र यसको लक्षण देखिन्छ। यो भाइरसको संक्रमण भएमा मानिसको मस्तिष्क र स्नायु प्रणालीमा असर गर्छ। १५ वर्षभन्दा कम उमेरका बालबालिकामा संक्रमणको जोखिम बढी हुन्छ।यसको संक्रमण भएमा टाउको दुख्ने, वान्ता हुने वा वाकवाकी लाग्ने, शरीर लठ्ठ हुने या काँप्ने वा बेहोस हुने, शरीरमा कडापन देखिने जस्ता लक्षण देखिन्छ। बालबालिकामा सुस्त मनस्थिति तथा पक्षघातसम्म हुने चिकित्सक बताउँछन्।
मृत्यु हुनेहरूमा जापाजिन इन्सेप्लाइटिसविरुद्ध खोप नलिएका मानिसहरू रहेको डा. अभियान गौतमले बताए। उनले भने, 'मृत्यु हुनेहरूमा सबै खोप नलिएकाहरू देखिएका छन्।'
शाखाका अनुसार गत वर्ष खोप अभियान सञ्चालन गरेको जिल्ला नवलपुरमा यो वर्ष संक्रमण र मृत्यु दुवै घटेको छ।तथ्याकं अनुसार ८५ प्रतिशत संक्रमण तराई जिल्लामा पाइएको छ भने बाँकी पहाडी जिल्लाहरूमा पाइएको हो।
उमेरगत हिसाबले ६६ प्रतिशत संक्रमण १५ वर्षमाथिका मानिसमा भएको छ। जापानिज इन्सुफलाइटिस संक्रमण भएका मध्येमा ३३ प्रतिशतको मृत्यु, ३० प्रतिशत जीनवभर अपाङ्गता हुने र ३० प्रतिशतमा खास असर गर्दैन।
धेरैजसो संक्रमितहरू किसान, बंगुरको खोर र हाँसपालन नजिक भएका किसान तथा व्यवसायीहरूमा भेटिएको शाखाले जनाएको छ। चिकित्सकका अनुसार क्युलेस प्रजातिको लामखुट्टे प्रायः धानखेत नजिक, बंगुरको खोर र हाँसपालन घरदेखि नजिक भएमा संक्रमणको जोखिम उच्च हुन्छ।
गत वर्षको तुलनामा भदौमा कम संख्यामा मृत्यु देखिए पनि थप दुई महिना यो रोग संक्रमण जोखिम कायमै रहेको डा. गौतम बताउँछन्। यो र्वषको भदौभित्र ३३ जिल्ला र ७६ वटा पालिकामा जापानिज इन्सेप्लाइटिसको संक्रमण भेटिएको छ।
मृत्यु रोक्न अति प्रभावित जिल्लामा तत्कालै खोप दिने तयारी
संक्रमणबाट हुने मृत्यु रोक्ने उद्देश्यले सरकारले यो वर्ष असोज १ देखि र ५ गतेदेखि बढी प्रभावित जिल्लाहरूमा जापानिज इन्सेपलाइटिस विरुद्धको खोप दिने भएको छ। असोज १ गतेदेखि झापामा ४८ हजार ५ सय जनालाई असोज ५ गतेदेखि कैलालीमा १ लाख २५ हजार भाइल खोप दिइनेछ।
यसअघिको अभियानमा १५ वर्षमुनिका बालबालिकालाई दिने गरेको यो खोप यो वर्ष सबै उमेर समूहलाई दिन लागिएको शाखाले जनाएको छ। यो वर्ष कैलालीको घोडाघोडी, लम्कीचुवा, धनगढीमा अत्यधिक संक्रमण देखिएको छ।
साउनदेखि कात्तिकसम्म चार महिना जापानिज इन्सेप्लाइटिस संक्रमणको जोखिम रहेकाले थपको मृत्यु हुने जोखिम रहेको परिवार कल्याण महाशाखा खोप शाखाले जनाएको छ। यो रोगको संक्रमणबाट बच्ने मुख्य उपाय यो रोगविरुद्धको खोप नै मुख्य उपाय भएको डा. गौतम सुझाउँछन्।
यसका साथै झुलको प्रयोग गर्ने, हाँस, सुँगुर जस्ता जनावरको पालन घरदेखि टाढा मात्र राख्ने/गर्ने, घरमा जाली राख्ने उपाय पनि अपनाएर लामखुट्टेको टोकाइबाट बच्न सकिने उनको सुझाव छ।
प्रकाशित: २६ भाद्र २०८३ १२:०८ शुक्रबार





