माध्यमिक शिक्षा परीक्षा (एसइई) को पहिलो दिनमै उत्तरपुस्तिका व्यवस्थापनमा लापरबाही गरेको भन्दै जुम्लामा एक केन्द्राध्यक्ष र निरीक्षकलाई पदमुक्त गरिएको छ।
तातोपानी गाउँपालिका–५ स्थित दुर्गा मावि लाम्रा केन्द्रमा अंग्रेजी विषयको उत्तरपुस्तिका ‘हराएको’ र पछि अव्यवस्थित रूपमा भेटिएको पुष्टि भएपछि केन्द्राध्यक्ष मुकुन्दराज शर्मा र निरीक्षक हरिदेवी रावललाई कारबाही गरिएको हो।
उत्तरपुस्तिका हराएको हल्ला चलेपछि शिक्षा विकास तथा समन्वय इकाइ जुम्लाका प्रमुख रमेश लुवार नेतृत्वको टोलीले घटनास्थलमै पुगेर झण्डै सात घण्टा लामो अनुसन्धान गरेको थियो।
परीक्षाको विश्वसनीयतामाथि नै आँच आउने गम्भीर लापरबाही गरेको ठहर गर्दै समितिले दुवै जनालाई परीक्षा अवधिभर केन्द्रमा जान नपाउने गरी बर्खास्त गरेको हो।
सशस्त्र प्रहरी बलका एसपी देवबहादुर बोहरा र स्थानीय प्रहरी प्रमुखको रोहबरमा मुचुल्का उठाएर लाहाछाप लगाइएको उत्तरपुस्तिकाको पोको अनुसन्धान टोलीले खोलेको थियो।
परीक्षणका क्रममा बाहिरबाट नयाँ उत्तरपुस्तिका थपिएको प्रमाण नभेटिए पनि गन्ती प्रक्रियामा त्रुटि देखिएको थियो।
घटनालगत्तै सोही विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर शाहीलाई नयाँ केन्द्राध्यक्षको जिम्मेवारी दिइएको छ। दुर्गा माविसहित चार विद्यालयका १ सय ४२ विद्यार्थी सहभागी उक्त केन्द्रमा अब निरीक्षण प्रणाली थप कडा पारिने शाहीले बताएका छन्।
इकाइले जिल्लाका अन्य केन्द्रमा भने परीक्षा शान्तिपूर्ण रहेको जनाएको छ।
यस वर्ष पहिलोपटक जिल्लामै उत्तरपुस्तिका परीक्षणको काम सुरु भएको छ। प्रमुख जिल्ला अधिकारी दिपक पौडेलका अनुसार शुक्रबारदेखि कडा सुरक्षा घेराभित्र परीक्षण कार्य भइरहेको छ।
सरकारको निर्देशनअनुसार एक महिनाभित्रै नतिजा प्रकाशन गर्ने लक्ष्यसहित विषय शिक्षकहरूको रोस्टर तयार पारेर काम अघि बढाइएको छ।
जुम्लामा अंग्रेजी विषयतर्फ नियमिततर्फ २ हजार ९१ र ग्रेडवृद्धितर्फ ५४ विद्यार्थी सहभागी भएका छन्।
परीक्षालाई मर्यादित बनाउन प्रमुख जिल्ला अधिकारी र इकाइ प्रमुख नेतृत्वको बहुस्तरीय टोलीले जिल्लाभर अनुगमन गरिरहेको छ।
प्रकाशित: २१ चैत्र २०८२ २०:५८ शनिबार





