१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
समाज

रुकुम पश्चिममा जीप दुर्घटना : ८ जनाको मृत्यु, ५ गम्भीर घाइते

रुकुम पश्चिमको बाफिकोट गाउँपालिका र आठबिसकोट नगरपालिकाको सिमाना झारमारेमा भएको जीप दुर्घटनामा ८ जनाको मृत्यु भएको छ भने ५ जना गम्भीर घाइते भएका छन्। मृतकहरूको परिचय खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।  

खंगलाबाट स्यालाखदीतर्फ गइरहेको रा १ ज ४२२ नम्बरको जीप शुक्रबार दिउँसो दुर्घटनामा परेको हो। दुर्घटनाग्रस्त गाडी सडकबाट ७०० मिटर तल खसेको र अहिले घटनास्थलमा स्थानीयवासी र सुरक्षाकर्मीले उद्धार कार्य जारी राखेका छन्।  

स्थानीय युवा विजय अधिकारीले भने, ‘अहिलेसम्म ८ जनाको शव फेला परेको छ, पाँच जना घाइतेलाई सक्दो छिटो स्वास्थ्य संस्थातर्फ लैजाने तयारी भइरहेको छ।’ अधिकारीका अनुसार घटनास्थल अत्यन्तै भिरालो क्षेत्रमा रहेकोले उद्धार कार्यमा कठिनाइ भएको छ।  

दुर्घटनामा गाडी चालक टोपजंग बुढा गम्भीर घाइते भएका छन्। प्रारम्भिक जानकारी अनुसार जीपमा सिट क्षमताभन्दा बढी यात्रु सवार थिए।

रुकुम पश्चिम प्रहरीले घटनापछि उद्धार कार्यलाई प्राथमिकता दिइएको र घाइतेहरूलाई नजिकैको स्वास्थ्य संस्थामा उपचारका लागि पठाइएको जानकारी दिएको छ। दुर्घघटनाको थप विवरण आउन बाँकी छ। 

प्रकाशित: ७ कार्तिक २०८२ १९:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App