१९ मंसिर २०८२ शुक्रबार
image/svg+xml
समाज

जापानको सपना सडकको वास

नेपालका प्रायः युवाका आँखामा रातभरि बुनेका सपना भनेकै अहिलेको जल्दोबल्दो अवस्थामा वैदेशिक रोजगार हो। आमाका थाकेका हातलाई विश्राम दिने र घरमा लागेको ऋणको भारी चुक्ता गर्ने सपनाले युवाहरूलाई वैदेशिक रोजगारतिर डोर्‍याएको छ।

त्यही उज्यालो भविष्य खोज्दै पाल्पाका २७ वर्षीय हेमराज लम्साल (नाम परिवर्तन) ले वैदेशिक रोजगारीका लागि गाउँ छाडे। सुनौलो भविष्यको रङ खोज्दै उनी एजेन्टको विश्वासमा गत वैशाखमा जापान पुगे, तर विदेशमा गएर टन्न कमाउने उनको सपना सपनाजस्तै भयो।

भाषा नसिकीकन उडेको उनको त्यो साहस र एजेन्टको मीठो बोलीको भरोसा गरेर लाखौं ऋणको भारी बोकेर जापानतिर लागे। जापान उड्दा उनलाई लागेको थियो- अब जीवन सुन्दरमय बन्यो।

तर जब जापानको चिसो रातले उनलाई ढाक्यो, तब मात्रै लाग्यो यो विपना अब सपना भइदिए हुन्थ्यो। एजेन्टले १२ लाख ६० हजार रुपैयाँ लिएर उनलाई जापान पुर्‍याएको थियो। त्यहाँ भाषाको आवश्यकता पर्दैन, नेपालीले खोलेको होटेल हो भन्दै उनलाई एजेन्टले झुटो आश्वासन दिएको थियो। त्यही झुटो आश्वासनका भरमा उनी जापान पुगेका थिए।

भाषा नसिकीकन लाखौंलाख खर्चेर जापान पुगेका उनको सुनौलो भविष्य निराशामा परिणत भयो। जीवनमा ठुलो मोड आउँछ भन्ने आशाले जापानको बाटो उनले रोजेका थिए। एजेन्ट सन्दीप विष्टले गाउँघरमा जापानको तलब, सुविधा र उज्यालो भविष्यका कथा सुनाएर लम्सालले तय गरेको लक्ष्य ठुलो थियो।

‘जापानी भाषा सिक्नु पर्दैन, नेपालीकै कम्पनीमा काम गर्ने हो। तिमी ढुक्क भएर बिदेसिँदा हुन्छ। त्यहाँ पुगेपछि काम पनि सजिलो, काम गर्ने ठाउँ पनि आफ्नै नेपालीको’, एजेन्टको यस्तो आश्वासनले लम्साल ढुक्क भएर जापान उडेका थिए, तर उनलाई जापान पुगेपछि कसैले काममा लगाएनन्।

जापानको चिसो सडकमा उनले दिनचर्या बिताउँदै गए। त्यहाँ पुगेपछि मात्रै उनले थाहा पाए, विदेश यात्रा ढुंगा चपाएजत्तिकै कठिन हुँदो रहेछ। एजेन्टले बाचा गराएको काम कहिल्यै आएन। न खाना न त बस्ने सुरक्षित ठाउँ।

काम गर्ने पर्खाइमा सात महिनासम्म उनले विदेशी आकाश र सडकलाई ओछ्यान बनाए। उनलाई जापान पुर्‍याउने एजेन्ट विष्टले पनि सबै सामाजिक सञ्जालबाट टाढा राखेको थियो। उनी एजेन्टबाट सम्पर्कविहीन भए। उनले काम नपाएपछि दिनभरि काम खोज्दै भौंतारिने र रात परेपछि सडकमै सुत्ने गरेको उनको पीडा छ।

अन्ततः ऋणले थिचिएको उनको काँध झन् धेरै भारी हुँदै गएपछि नेपाल वैदेशिक रोजगार उद्धार नेपालसँग आफ्नै देश फिर्ता गरिदिनू भन्दै हात फैलाउन थाले। ऋण बोकेर जापान पुगेका उनी पीडा लिएर गत कात्तिक २१ गते नेपाल फर्किए। फर्कंदा उनका हातमा न कमाइ, न जापानको त्यही सपना। बरु उनीसँग झन् धेरै ऋणको बोझ थपिएको छ।

एजेन्टको भित्रभित्रै ठगीको खेलमा परेका उनी नेपाल फर्किएर वैदेशिक रोजगार उद्धार नेपालमा विष्टविरुद्ध उजुरी दिएका छन्। जापान जाँदाको लागेको ऋण एजेन्टसँग उठाउन उनी धेरै ठाउँ धाए, तर उनको गुनासो सुन्ने ठाउँ एक मात्रै भयो– वैदेशिक रोजगार उद्धार नेपाल। अहिले उनी एजेन्टविरुद्ध उजुरी दिँदै न्याय खोज्दै छन्।

लम्सालजस्तै अर्का रामेछापका रमेश शेर्पा (नाम परिवर्तन) पनि जापानपीडित रहेका छन्। उनले पनि वर्किङ भिसामार्फत कुक वा होटेल काममा जाने भन्दै १८ लाख रुपैयाँ बुझाई एजेन्ट आङबाबु लामाको मीठो बोलीमा जापानको सुन्दर भविष्य देखेर फसे।

नेपाली रेस्टुरेन्टमै काम हुन्छ, भाषा नचाहिने भन्दै यस्तै एजेन्टको मिठो आश्वासनमा उनी गत जेठमा जापान उडेका थिए, तर लम्सालको जस्तै कथा शेर्पाको पनि उस्तै छ। जापानमा काम कहिल्यै आएन। सपना ठुलो देखियो। ती देखेका सपना पूरा हुन्छन् कि भन्दै शेर्पाले ६ महिना जापानमा बेवारिसे तवरले बिताए, तर उनको सपना जापानमा कहिल्यै पूरा भएन। उनी जस्तो विदेश पुगेका थिए, त्यस्तै स्थितिमा खाली हात नेपाल फर्किए।

पछिल्लो समय वैदेशिक रोजगारीका नाममा जापान पुग्ने नेपालीहरू ठगीमा फस्ने घटना तीव्र बन्दै गएको छ। नेपालबाट काम लगाइदिन्छु भन्दै लाखौं असुलेर पठाइने तर जापान पुगेपछि अलपत्र पारिने युवाहरूको पीडा छरिएर आएका छन्।

वैदेशिक रोजगार उद्धार नेपालका अध्यक्ष इन्द्रलाल गोलेका अनुसार नेपालबाट लाखौं ऋण लिएर जापान उड्नेहरूको सपना दुःखीको जीवनजस्तै बन्न थालेको छ। यहाँका एजेन्ट र दलालहरूले जापान जान किन भाषा चाहियो र? होटेलमा काम छ, मासिक ३/४ लाख सजिलै कमाइन्छ भन्दै १५–२० लाख रुपैयाँ रकम असुल्ने गरेको उनले बताए।

उनका अनुसार दैनिक ३/४ वटा फोन आउँछ वाट्सएप र फोनमार्फत काम पाइएन, खान र बस्न पाएनौं, उद्धार गरिदिनुस् भनेर। युवाहरूले जापानको वर्किङ भिसामार्फत कुक वा होटेलका काममा जाने आशामा पैसा बुझाउँछन्। नेपालीले नै जापानमा होटेल खोलेका छन् भने भाषा नजानेको भए पनि हुन्छ, ३/४ लाख मासिक तलब हुने सपनाले अझ युवा लोभिने गरेको उनी बताउँछन्।

‘नेपाली युवा जापानमा काम नपाएर भौंतारिएका हुन्छन्’, उनले भने, ‘अनि सडकमै बस्नुपर्छ। कतिलाई सडकबाटै हामीले उद्धार गरेका छौं। हिजोआज नेपालमा जापान जाने हुटहुटी दिनदिनै बढ्दो छ, तर एजेन्टहरूको जालोमा अड्किएर, भाषाविना अन्धाधुन्ध उडेर जापान पुग्छन् अनि त्यहाँ गएका कत्तिले जीवन नै अन्धकार बनाइरहेका छन्।’

सात महिना, आठ महिना, कतिपय एक वर्षसम्म पनि काम नपाएर भोकै बस्न पुगेका युवा ‘मलाई नेपाल फर्काइदेऊ’ भन्दै रोइकराई उद्धारको गुहार आउने गरेको गोलेले नागरिकसँग भने। ‘हामीकहाँ जापानबाट उद्धारका मुद्दा दिनदिनै बढिरहेका छन्। मिठो सपना देखाएर लैजाने र पछि बिचल्ली बनाइदिने यो स्थिति बढिरहेको छ’, उनले भने।

जापानजस्तो विकसित देशको सपना धेरैलाई लोभलाग्दो लाग्छ, तर लोभभन्दा अगाडि सत्य थाहा नभए सपना नै जीवनको सबैभन्दा ठुलो बन्न पुग्छ। एजेन्टहरूको मिठो भाषण र झुटा आश्वासनको लहलहैमा परेर धेरै नेपाली युवा लाखौं लाख ऋण उठाएर जापान उड्छन्, तर त्यहाँ पुगेपछि काम नपाएर अलपत्र पर्ने उनले बताए।

उनका अनुसार आशा–भरोसा सबै भत्किएपछि कतिले बुझाएको सबै रकम उठाइदेऊ भन्दै नेपाल फर्केर उद्धार नेपालको ढोका ढकढक्याउन आउने गर्छन्। उनीहरूका माग, पीडा र बिचल्लीका यस्ता घटना हिजोआज दिनैभरि दोहोरिने दर्दनाक कथा बनिरहेका छन्।

वैदेशिक रोजगार विभागमा सरकारी उजुरीहरू कमै आउने गरेको विभागका अधिकारीहरू बताउँछन्। सरकारी तथ्यांकमा भने जापानसम्बन्धी उजुरी न्यून देखिन्छ।

प्रकाशित: १९ मंसिर २०८२ १०:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App