१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
समाज

जेष्ठ नागरिकको भवनमा इटहरी प्रहरी कार्यालय स्थानान्तरण गरिँदै

प्रहरी कार्यालयका लागि आवश्यक निर्माणको काम हुँदै । तस्बिर: अमर खड्का/नागरिक

जेन–जी पुस्ताको आन्दोलनका क्रममा विस्थापित भएको इटहरीको इलाका प्रहरी कार्यालय निर्माणको अन्तिम चरणमा पुगेको छ । प्रहरी कार्यालय इटहरीको रंगशाला पछाडि रहेको जेष्ठ नागरिकको भवनमा अस्थायीरुपमा स्थानान्तरण गर्ने तयारी भएको  हो ।  

सुरक्षा चुनौती मानिएको इलाका प्रहरी कार्यालय यतिबेला प्रहरी चौकी तरहराको नयाँ भवनमा सरेकाले गर्दा इटहरी उपमहानगरपालिकाको अग्रसरतामा इटहरी रंगशाला पछाडि स्थानान्तरण गर्न लागिएको हो । यसका लागि इटहरी वडा नं. ९ का वडाध्यक्ष जितेन्द्र थापाको संयोजकत्वमा छ सदस्यीय समिति बनाइएको छ । समितिका सदस्य इटहरी नागरिक समाजका पूर्वअध्यक्ष सन्त डुम्जनका अनुसार अब ब्यारेक, कार्यालयका कोठा फिनिसिङ्, खाना पकाउने स्थान र शौचालय निर्माणको काम बाँकी छ । यी सवै काम तीब्ररुपमा भइरहेको र एकसाता भित्र सबै सकिने डुम्जनको भनाइ छ ।  

इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी सुभाष हमालका अनुसार बुधबारदेखि नै जुन जुन निष्कृय शाखाहरु स्थानान्तरणको काम थालिएता पनि सक्रीय शाखा सार्न भने समय लाग्नेछ । ‘फिनिसिङ्को कामसँगै इन्टरनेट जडान गर्न बाँकी छ,’ उनले भने, ‘केही निष्कृय शाखा भने बुधबारदेखि नै सार्न सुरु गरेतापनि पूर्ण रुपमा सार्न भने सातादेखि दस दिन लाग्छ ।’

जेन–जी आन्दोलनको पहिलो दिन भदौं २३ गते इटहरीमा दुई जनाको मृत्यु भएपछि त्यसको भोलिपल्ट आक्रोशित समूहले विभिन्न सरकारी कार्यालय, सार्वजनिक पद धारण गरेका व्यक्ति र प्रहरी कार्यालयलाई निसाना बनाएर आगजनी तथा तोडफोड गरेको थियो । जसमा प्रहरी कार्यालयतर्फ इलाका प्रहरी कार्यालय इटहरीसँगै हलगडा प्रहरी चौकी र इलाका प्रहरी कार्यालय पकली आगजनी गरेका थिए ।  

हलगढा र इलाका प्रहरी कार्यालय पकली दुवै पुर्नस्थापित भइ सकेका छन । इलाका प्रहरी कार्यालय पकलीमा स्थानीयबासीले चन्दा संकलन गरेर पूर्णरुपमा मर्मत गरेर पुर्नस्थापित भएको हो । इटहरीको भने तत्काल मर्मत गर्ने अवस्था नभएकाले वैकल्पिक व्यवस्था गर्नैपर्ने हुँदा रंगशाला कार्यालय पछाडि रहेको जेष्ठ नागरिकको भवन उपमहानगरपालिकाको अगुवाईमा तयारी गरिएको हो ।

जेनजी पुस्ताको आन्दोलनका कारण खनार प्रहरी र जनता बस्तीको प्रहरी चौकीमा आशिंक क्षति भएको थियो । तरहराको प्रहरी चौकी जलाउन गएको समूहलाई भने स्थानीयले प्रतिकार गरेपछि जोगिएको थियो । त्यही जोगिएको प्रहरी चौकीको नयाँ भवनसँगै वन कार्यालयको हलभित्र यतिबेला इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी बसिरहेका छन् । इलाका प्रहरी कार्यालयका दुईवटा गाडी पनि जलेका थिए । इलाका प्रहरी कार्यालय आगजनी तथा तोडफोड हुँदा कम्तीमा पाँच करोडको क्षति भएको जानकारी दिइयो ।  

इटहरीमा डिएसपीको दरबन्दीमा इलाका प्रहरी कार्यालय छ । त्यस्तै, इटहरीको जनसंख्या वृद्धिसँगै इलाका प्रहरी कार्यालय पकलीले पनि चारवटा वडा वडा नं. १५, १६, १७ र १८ को शान्ति सुरक्षालाई आफ्नो क्षेत्राधिकारभित्र राखेर हेर्ने गरेको छ । इटहरीको तरहरामा नयाँ र पुरानो गरेर दुईवटा, खनार र वडा बालग्राममा स्थायी प्रहरी चौकी रहेको छ । यस्तै, तालतलैया, हवाई चोक, पूर्वी गैसार, हलगढा, जनताबस्ती, पुष्पलाल चौक, बुढी खोला र शान्ति झोडामा अस्थायी प्रहरी चौकी रहेको छ । यहाँ सिआरभी प्रहरीको बिट पनि रहेको छ। अहिले इटहरी मातहात १६१ प्रहरीको दरवन्दी छ । इलाका प्रहरी कार्यालयमा भने अलगै इनिस्पेक्टरको नेतृत्वमा प्रहरीको दरबन्दी रहेको  छ ।  

प्रकाशित: ११ कार्तिक २०८२ १८:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App