१७ फाल्गुन २०८२ आइतबार
image/svg+xml
समाज

राउटे किशोरीलाई बाह्य समुदायबाट जोगाउनै मुस्किल

दिनदिनै किन असुरक्षति बन्दैछन् राउटे

नेपालको एक मात्रै घुमन्ते समुदाय राउटे लेकबेशी नगरपालिका–९ स्थित खाँणदेवी सामुदायिक वनमा बस्न थालेको दुई साता हुन लाग्यो । शुक्रबार मध्यराति यहीँ बस्तीमा एक युवकले राउटे युवतीमाथि बलात्कार प्रयास गरे ।  

आफ्ना महिलामाथि मध्यरात बस्तीमा प्रवेश गरेर बलात्कार प्रयास भएपछि राउटे युवाहरुले उनलाई नियन्त्रणमा लिएर शनिबार बिहान प्रहरीको जिम्मा लगाए । उनीमाथि जबर्जस्ती करणी उद्योगमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

गत जेठमा सामाजिक सञ्जालमा भाइरल हुने मनसायले चार राउटे युवतीसँग गुडिरहेको ट्रकमा गलत नियतसहितको दुर्व्यवहारपूर्ण भिडियो खिच्ने कार्यमा संलग्नलाई प्रहरीले पक्राउ गर्‍यो । राउेट युवतीसँग गरिएको गलत हर्कतसहितको भिडियो सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक भएपछि सुर्खेत प्रहरीले त्यसको अनुसन्धान गरेको थियो ।  

सार्वजनिक भएको भिडियोमा युवतीहरुलाई दुर्व्यवहार गर्ने कार्यमा संलग्न दैलेखको आठविस नगरपालिका–३ का तपेन्द्र शाहीलाई दैलेख प्रहरीले पक्राउ गररे सुर्खेत प्रहरीको जिम्मा लगायो । उनीमाथि साइबर अपराध र दुर्व्यवहार मुद्दामा चलाइयो ।

२०७८ जेठमा सुर्खेतको गुर्भाकोट नगरपालिकाको बोटेचौर नजिकै राउटे समुदायका दुई युवती सामान किन्न बजार आएको बेला होटलमा जबजस्ती मदिरा सेवन गराएर युवाहरुले यौनजन्य क्रियाकलाप गरेको भिडियो सार्वजनिक भयो । यौन दुर्व्यवहार गरेको भिडियो सामाजिक सञ्जालमार्फत बाहिरिएको थियो ।  

गुर्भाकोट नगरपालिकाका स्थानीय तीन जना युवाले उनीहरूलाई होटलमा मदिरा सेवन गराएर बेहोस भनाएपछि होटलको कोठामा लिइ आफूहरू अर्धनग्न बनेर भिडियो बनाएका थिए ।  

यो घटनमा संलग्न गुर्भाकोट नगरपालिका–९ का चौमन घर्तीमगर र भुपेन्द्र बुढामगरलाई जिल्ला अदालत सुर्खेतले सात/सात वर्ष कैद र जनही दुई लाख रुपैयाँ जरिवानासहितको फैसला सुनायो । हाल उनीहरु कारागारमा छन् ।

पछिल्लो समय राउटे बाह्य समुदायबाट असुरक्षित हुन थालेका यी केही प्रतिनिधि उदाहरण हुन् । राउटे बस्तीमा मानिसहरूको घुलमिल बढ्न थालेपछि उनीहरूमाथि यस्ता थुप्रै घटना भएका छन् । राउटे समुदाय असुरक्षित बन्दै गएको छ । केही वर्ष पहिलेसम्म राउटेहरू शहर बजार घुम्ने र अन्य समुदायका मानिससँग घुलमिल हुने गर्दैनथे । राउटे समुदाय अहिले खुलेर सबैसँग घुलमिल हुन्छन् । उनीहरूले पछिल्लो समय सबैजसो समुदायमा पुगेर अन्न तथा नगद सहयोग माग्ने गरेका छन् । राउटे समुदायको गरिबी, अभाव र सोझोपनाको फाइदा उठाउँदै केही व्यक्तिहरूले उनीहरूमाथि गलत हर्कत गर्ने गरेका छन् । जसका कारण रूपान्तरण भएर भर्खरै सामाजीकरणको मूलप्रवाहमा आउन थालेको यो समुदायमा झनै असुरक्षा बढेको छ ।

राउटेसँग लामो समयदेखि काम गर्दै आएको सोसेक नेपालका कार्यकारी निर्देशक हिरासिंह थापा बाह्य समुदायबाट राउटे समुदायलाई बचाउन गाह्रो भइरहेको बताउँछन् । ‘अनावश्यक बस्तीमा प्रवेश गर्ने, उनीहरुबाट काम लिनका लागि मदिरालगायतका सूर्तिजन्य पदार्थहरु खुवाउने मात्रै होइन्, पछिल्लो समय राउटे युवतीमाथि बलात्कार तथा यौनजन्य घटना पनि भइरहेका छन्,’ उनले भने, ‘नेपालकै एकमात्र घुमन्ते समुदायलाई बाह्य समुदायबाट बचाउन आवश्यक छ ।’

राउटे मुखिया प्रकाश शाहीले बिहान आफूहरु नउठ्दै बस्तीमा बाह्य मानिसहरु आउने गरेको बताउँदै पछिल्लो समय आफूहरु राति सुतेको बेला पनि आउने गरेको बताए । ‘बाहिरका मानिस आउँदा महिला–केटाकेटीहरु खान पनि अप्ठ्यारो मान्छन्,’ छाप्रोभित्रै पसेर के–के पकाए भनेर पनि हेर्छन्,’ उनले भने, ‘हाम्रो सुरक्षानै भएन्, गोपनीयतानै रहेन् ।’

राउटे युवा दीपक शाहीले बाह्य व्यक्तिलाई आफूहरुको बस्तीमा नआइदिन आग्रह गरे । ‘बरु हामी पनि दुनियाँको बस्तीमा जाँदैनौं, जंगलमा सिकार गर्न मात्रै जान्छौं,’ उनले भने, ‘दुनियाँ पनि हाम्रो बस्तीमा आउन भएन् ।’

दिउँसोको समयमा राउटे बस्तीमा राउटे भन्दा धेरै बाह्य व्यक्तिहरुको उपस्थिति रहन्छ । ‘बस्तीभित्र मात्रै होइन्, उनीहरुका छाप्रामा पसेर फोटो खिच्ने, भिडियो बनाउने, टिकटक बनाउँदा उनीहरु असजिलो मान्छन्, तर पनि केही भन्दैनन्,’ सोसेक नेपालका कर्मचारी लालबहादुर खत्रीले भने, ‘फोटो, भिडियो खिच्न नमाने मदिरा, सूर्तिजन्य पदार्थ दिएर फकाउँछन् पनि ।’

बस्तीमा बाह्य व्यक्तिको अनाधिकृत प्रवेशले विभिन्न घटनाहरु भइरहेको उनको भनाई छ । ‘पछिल्लो समय बस्तीमा आएर राउटे युवतीमाथि दुर्व्यवहार गर्ने युवा पनि दिनभरी यहीँ बस्तीमा थिए,’ उनले भने, ‘राति छाप्रोभित्रै पसेर बलात्कार प्रयास गरेछन् ।’ उनले नियमित सुरक्षाकर्मीको व्यवस्था भइदिए राउटेलाई सुरक्षित राख्न सहज हुने बताए ।

राउटे समुदायमा पुरुषभन्दा महिला बढी जोखिममा रहेका छन् । राउटेहरू अहिले अन्य सुमदायका बस्ती नजिकै बस्ने गर्दा उनीहरूको आनीबानीमासमेत परिवर्तन आएको छ । राउटे समुदायका अधिकांश व्यक्तिहरू अहिले मदिराको लतमा फसेका छन् । अहिले राउटे बस्तीमा ४० घर छन् । उनीहरुको जनसंख्या १३५ छ ।

कार्यान्वयन भएन आयोगको सिफारिस

राष्ट्रिय मानव अधिकार आयोगले नेपालको एक मात्रै फिरन्ते जीवन बिताउने राउटे समुदायको संरक्षण, सुरक्षा र उनीहरुको प्रथाजनित अभ्यासको निरन्तरताका लागि विशेष कानुनी व्यवस्था गर्न तीन तहका सरकारलाई दिएको निर्देशन दुई वर्ष हुँदा पनि कार्यान्वयनमा आउन सकेको छैन ।

आयोगले २०८० चैतमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई सम्बोधन गरेर तीन तहका सरकार र गैरसरकारी कार्यालयहरुलाई राउटे समुदायका बारेमा गर्नुपर्ने कामहरु बुँदागत रुपमा लेखेर पठाएको थियो । बुँदागत निर्देशनमा आयोगले राउटेहरुका लागि घुम्ती प्रहरी चौकी स्थापना गर्न, संरक्षित क्षेत्र घोषणा गर्न, मदिरा र सुर्तिजन्य पदार्थ बिक्री–वितरण बन्द गर्न, राउटे खाम्ची भाषाको पाठ्यक्रम विकास गर्न निर्देशन दिइएको छ ।  

आयोगले संघीय सरकारलाई राउटेको सामाजिक, सांस्कृतिक संरक्षणका लागि संरक्षित क्षेत्र घोषणा गर्न र राउटेको बस्ती स्थानान्तरणसँगै स्थानान्तरित हुने गरी घुम्ती प्रहरी चौकी स्थापना गर्न निर्देशन दिइएको छ भने प्रदेश प्रदेश सरकार र स्थानीय तहलाई राउटे समुदायका नागरिकहरुलाई प्रशासन, पञ्जिकरण, खाद्यान्न, राहत, पोषण, स्वास्थ्यलगायतका सेवाका लागि राउटेको बस्ती स्थानान्तरणसँगै स्थानान्तरित हुने गरी घुम्ती एकीकृत सेवा केन्द्र स्थापना गर्न निर्देशन दिएको छ ।  

आयोगले राउटे समुदायको उत्थान, मुलप्रवाहीकरण तथा सशक्तीकरणका लागि एकीकृत आवधिक कार्ययोजना तर्जुमा गरी कार्यान्वयन गर्न, राउटेका मामिलामा काम गर्न कुनै खास निकायलाई जिम्मेवारी तोक्न पनि निर्देशन दिइएको छ । आयोगको पत्रमा राउटे समुदायको गोपनीयताको अधिकार संरक्षणको लागि राउटेको स्वतन्त्र पूर्वसूचित मन्जुरी विना कुनै पनि श्रव्य दृश्य सामाग्री तयार, संकलन र प्रसारण नगर्न/नगराउन भनिएको छ ।

स्थानीय तहलाई राउटे समुदायलाई आयातित मदिरा तथा सुर्तीजन्य पदार्थ बिक्री वितरण कार्य नियमन गर्न, सामाजिक सुरक्षा भत्ता दिइरहेको गुराँस गाउँपालिका दैलेखलाई तत्काल जेष्ठ नागरिक, एकल महिला र अपाङ्गता भएका व्यक्तिहरुलाई परिचयपत्र उपलब्ध गराउन, राउटे समुदायको खाम्ची मातृभाषाको पाठ्यक्रम विकास गरी घुम्ती विद्यालय सञ्चालन गर्न, राउटे बस्तीमा स्वच्छ खानेपानी उपलब्ध गराउन भनिएको छ ।

आयोगले दिएका यी निर्देशन दुई वर्ष हुँदा पनि एउटै कार्यान्वयनमा आउन सकेको छैन् । गुराँस गाउँपालिकाका प्रवक्ता दीपेन्द्र वलीले घुम्ती प्रहरी चौकी स्थापनाका लागि सुरक्षा निकायसँग पटक–पटक पहल गरिएपनि कार्यान्वयन हुन नसकेको बताए । ‘प्रहरी नहुँदा राउटे बस्तीमा विभिन्न विकृतिहरु आए, राउटे जहाँजहाँ जान्छन्, त्यहीँ मदिराका पसलहरु स्थापना हुन थाले,’ उनले भने, ‘आयोगको निर्देशन अनुसार घुम्ती प्रहरी चौकी स्थापनाका लागि पहल गरिएपनि कार्यान्वयन गर्न सकेका छैनौं ।’  

उनले प्रहरी नहुँदा अनधिकृत राउटे बस्ती प्रवेश गर्ने र गलत सन्देश प्रवाह गर्ने काम भइरहेको बताए । अहिले राउटे समुदायका लागि संघीय सरकारले दिने सामाजिक सुरक्षा भत्ता मात्रै गाउँपालिकाले वितरण गर्दै आइरहेको छ ।

प्रकाशित: २६ आश्विन २०८२ १९:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App