१४ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
समाज

दुर्गममा सर्पदंशको उपचार पाउन कठिन

कालीकोटको खाँडाचक्र नगरपालिका– ५ कार्कीवाडाका २१ वर्षीय लोकेन्द्र कार्कीलाई लासी घरमा सुतिरहेका बेला गत साउन २८ गते बिहान पाँच बजे सर्पले डस्यो। उनी आत्तिँदै चिच्चाए। आफन्तले थाहा पाएपछि लोकेन्द्रलाई बोकेर सवा एक घन्टाको उकालो छेका र कर्णाली राजमार्ग हुँदै तीन घन्टापछि जिल्ला अस्पताल मान्म पुर्‍याए। त्यतिञ्जेल उनी बेहोस भइसकेका थिए।

सदरमुकाम मान्ममा सर्पदंशको उपचार सुविधा थिएन। चिकित्सकले सुर्खेत रेफर गरे। एम्बुलेन्स खोजेर सुर्खेत लैजाने क्रममा लोकेन्द्रको बाटोमै मृत्यु भयो। ‘घरबाट अस्पताल पुर्‍याउनै ढिलो भइसकेको थियो।’, जिल्ला अस्पतालबाट रेफर गर्ने डा. शुभनारायण ठाकुरले भने, ‘घरको आर्थिक अवस्था कमजोर भएकाले आफन्तले हेलिकोप्टरको खर्च बेर्होन सकेनन्, एम्बुलेन्समा पठाइयो, बाटोमै मृत्यु भएछ।’

लासीमै गत वर्ष खाँडाचक्र नगरपालिका– ५ ढाडगाउँका ३० वर्षीय मणिचन्द्र चौलागाईंलाई सर्पले डसेको थियो। तरकारी खेती गरेर परिवार पाल्ने चौलागाईंलाई करेसाबारीमा काम गर्ने क्रममा सर्पले डसेको पत्नी कल्पना चौलागाईंले बताइन्। मणिचन्द्रलाई पनि लोकन्द्रलाई झैं जिल्ला अस्पताल मान्म पुर्‍याइयो। मान्मबाट प्रदेश अस्पताल सुर्खेत रेफर गरेको पाँच घन्टापछि कर्णाली राजमार्ग हुँदै सुर्खेत लैजाने क्रममा दैलेखको राकम पुग्दा चौलागाईंको मृत्यु भयो।

अघिल्लो वर्ष शुभकालिका गाउँपालिका– ६ हाउडीका २६ वर्षीय धनप्रसाद आचार्यलाई घाँस काट्दा सर्पले डस्यो। मान्म पुग्नै पैदल दिनभर लाग्ने हाउडीबाट बिरामी ल्याउन कठिन भएकाले हेलिकोप्टर मगाएर एक घन्टाभित्रै सुर्खेत पुर्‍याउँदा आचार्यको ज्यान बच्यो। हेलिकोप्टरको भाडा मात्र पाँच लाख लागेको थियो। सुर्खेतमा १५ दिन आईसियूमा राखेर उपचार गरेपछि उनी निको भए। त्यतिबेला शुभकालिका गाउँपालिकाले हेलिकोप्टरको भाडा तिर्ने भने पनि रकम नदिएको आचार्यले गुनासो पोखे।

त्यस्तै दुई वर्षअघि पचालझरना गाउँपालिका– १ सिकुकी ३५ वर्षीया केशरी खड्कालाई सर्पले डसेपछि सुरुमा झारफुक गर्न लाग्दा मान्म नपुग्दै मृत्यु भयो।  कर्णालीका दुर्गम जिल्लामा घरनजिक सर्पदंशको उपचार सुविधा नहुँदा घाइतेको ज्यान जाने घटना बढिरहेका छन्। जिल्ला अस्पतालमा समेत उपचार नहुने भएकाले सर्पले डस्दा कतिपयले गाउँमै झारफुक गर्दा ज्यान गुमाइरहेका छन्।

पछिल्ला वर्ष हिमाली जिल्लामा पनि सर्पदंशका घटना हुन थालेको जिल्ला अस्पताल कालीकोटले जनाएको छ। कालीकोटको नदी किनार क्षेत्रमा अत्यधिक गर्मी हुन्छ। गर्मी ठाउँमा विशालु शर्प हुने गरेको पाइन्छ। पहिले फाट्टफुट्ट देखिने सर्पदंशका घटना अचेल बढी देखिन थालको जनस्वास्थ्य अधिकृत कटक महतले बताए।

उनले भने, ‘कर्णालीका १० जिल्लामध्ये सर्पदंशको उपचार सुविधा सुर्खेतमा मात्र छ। पाँच वर्षयता सर्पले डसेका १० जनामध्ये तीनजनाको मृत्यु भएको छ।’ तर अस्पतालले रेफर गरेर ज्यान गुमाएका सर्पदंशका बिरामीको तथ्यांक छैन।

सर्पदंश उपचार केन्द्र स्थापनासम्बन्धी मापदण्ड २०७७ अनुसार सर्पदंशको उपचारका लागि डाक्टर रुम, नर्सिङ स्टेसन, बिरामी बेड लगायतका भौतिक संरचना, भेन्टिलेटर, अक्सिजन सिलिन्डर, आईसियू, रेफ्रिजेरेटर, प्यासेन्ट मोनिटर लगायत उपकरण, मेडिकल अफिसर एकसहित सातजना जनशक्ति हुनुपर्ने उल्लेख छ।

भौगोलिक विकटताले माथिल्लो कर्णालीका कालीकोट, जुम्ला, मुगु, हुम्ला र डोल्पाबाट स्थलमार्ग हुँदै सुर्खेत पुग्न कम्तीमा १२ घन्टादेखि दुई दिनसम्म लाग्छ। सर्पदंशका बिरामीका लागि सरकारले हेलिकोप्टर सेवा निःशुल्क गर्नुपर्ने स्थानीयको माग छ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्ला तीन आर्थिक वर्षमा कर्णालीभरि सर्पदंशको उपचारका लागि आठ सय एकजना अस्पताल आएका छन्। आर्थिक वर्ष २०७९/८० मा कर्णालीका १० वटै जिल्लामा दुई सय आठजना, २०८०/८१ मा दुई सय ६९ र २०८१/८२ मा तीन सय २४ जना सर्पले डसेपछि स्वास्थ्य संस्था आएका छन्। यो अवधिमा ६ सय १४ जना कम विषालु सर्पले टोकेका र एक सय ८७ जना बढी विषालु सर्पले डसेका बिरामी अस्पताल भर्ना भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।

सर्पले डसेपछि रक्तसञ्चार नै रोकिने गरी डोरीले बाँध्ने, ढिलो अस्पताल लैजाने गर्दा मृत्युको जोखिम बढी हुन्छ। सर्पको डसाइ र रोकथामका उपायबारे समुदायस्तरमा चेतना फैलाउन सके मृत्युको जोखिम घटाउन सकिने स्वास्थ्यक्रर्मी बताउँछन्।

प्रकाशित: २२ भाद्र २०८२ १०:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App