“नेपालमा फ्युचर छ?” भन्ने प्रश्नलाई आधार मानेर देशभित्रै अवसर खोज्ने र भविष्य निर्माण गर्ने उद्देश्यसहित एक नयाँ अभियानको सुरुवात हुँदैछ । अभियान आगामी सेप्टेम्बर ६ मा सुरु हुनेछ ।
यस अभियानले विद्यार्थी, पेशेवर, उद्यमी तथा विदेशबाट फर्किएकाहरुलाई नेपालका सम्भावना देखाउन, प्रेरणादायी कथा प्रस्तुत गर्न र आपसी सहकार्य बढाउन प्लेटफर्म उपलब्ध गराउने दाबी आयोजकको छ। यो अभियानले उनीहरूलाई यस प्रश्नको जवाफ खोज्ने, आशा फर्काउने र नेपालभित्रै सफलता र अवसरका कथाहरू देखाउने एउटा मञ्च प्रदान गर्नेछ ।
आयोजकका अनुसार यो प्रवासनविरोधी नभई विकल्प समर्थक अभियान हो जसले युवाहरुलाई नेपालमै अवसर खोज्ने वा विदेश जाने स्वतन्त्र निर्णय गर्न प्रेरित गर्नेछ।
कार्यक्रममा हाइभेलायाकी सिइओ प्रनयना केसीसहितले विभिन्न उद्यमीका प्रेरणादायी अनुभव साटासाट गर्नेछन् । सिइओ केसी आफैं पनि लामो समय विदेशमा बसेर केही गर्ने उद्धेश्यसहित नेपाल फर्किएकी हुन् । केसीसहितका नेपालका स्टार्टअपहरूको सफलताको अनुभवले नेपालमा नै भविष्य खोजिरहेका युवाहरुका लागि हौसला प्रदान गर्ने अपेक्षा आयोजकले गरेको छ ।
अभियानअन्तर्गत ३ फरक कार्यशालाहरू (वर्कसप) सञ्चालन गरिनेछ भने २१ जना टप लिडरहरूद्वारा अलग मेन्टरशिप सेसनहरू उपलब्ध गराइनेछन् । नेपालमा चलेका कम्पनीहरुका एचआर र मार्केटिङ प्रमुखहरुलाई बोलाइएको कार्यक्रममा व्यवसायलाई नेटवर्किङ गर्ने अवसर पनि प्रदान गरिने आयोजकको भनाइ छ ।
अभियानको टिकट आइएमईको खल्तीमार्फत् खरिद गर्न सकिनेछ।

प्रकाशित: ३ भाद्र २०८२ १३:०९ मंगलबार





