अर्घाखाँची जिल्लामा तीन हजार ११८ हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको छ। जिल्लामा आठ हजार ५४४ हेक्टर सिँचाइ योग्य जमिन रहेकामा ३६.४९ प्रतिशत जमिनमा सिँचाइ सुविधा पुगेको हो।
जलस्रोत र सिँचाइ विकास डिभिजन कार्यालय अर्घाखाँचीका डिभिजन प्रमुख भेषराज भुसालले जिल्लामा २१ हजार २४७ हेक्टर जमिनमा खेती भइरहेको जानकारी दिए। त्यसमध्ये आठ हजार ५४४ हेक्टर सिँचाइयोग्य जमिन रहेकामा तीन हजार ११८ हेक्टरमा सिँचाइ सुविधा पुगेको उनले बताए।
जिल्लास्थित जलस्रोत र सिँचाइ विकास डिभिजन कार्यालयले आयोजित वार्षिक प्रगति समीक्षामा डिभिजन प्रमुख भुसालले एक वर्षमा १२३ सिँचाइ आयोजना सम्पन्न भएको जानकारी दिए।
उनका अनुसार गत आर्थिक वर्ष २०८१/८२ मा जिल्लाभरका १३३ मध्ये १२३ आयोजना सम्पन्न भएका, दुई आयोजना कार्यान्वयनको चरणमा छन् र आठ आयोजना मापदण्डअनुसार नभएकाले तिनमा काम भएको छैन।
गत आर्थिक वर्षमा कार्यालयको कुल बजेट १६ करोड ७५ लाखमध्ये १४ करोड ४९ लाख ४५ हजार खर्च गरी भौतिक प्रगति ९७.९९ प्रतिशत र वित्तीय प्रगति ८६.५३ प्रतिशत भएको कार्यालयका लेखापाल शिवहरि खनालले जानकारी दिए।
कार्यालयले उत्कृष्ट कार्यसम्पादन गर्ने अर्घा कन्स्ट्रक्सन, समयभन्दा अगावै उत्कृष्ट कार्यसम्पादन गर्ने लुम्बिनी निर्माण सेवा, उत्कृष्ट रूपमा आयोजना कार्यान्वयन गर्ने चौवाटार जलस्रोत उपभोक्ता समिति र ३६ वर्षसम्म (कार्यालयको संस्थापक कर्मचारीका रूपमा) काम गरेर अनिवार्य अवकाश हुने डम्बरबहादुर खत्रीलाई सम्मान गरेको छ।
जिल्ला समन्वय समितिका प्रमुख जिवनारायण कोइरालाले सिँचाइ विकास डिभिजनले असारे विकास रोकेर जेठ मसान्तसम्म सबै योजना सम्पन्न गरी भुक्तानी गरेकोमा प्रशंसा गर्दै सिँचाइबिना कृषि उत्पादन नबढ्ने बताए।
प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले हरेक कार्यालयका विकास निर्माणका गतिविधिमा जिल्ला प्रशासन कार्यालयले समन्वय गरेर काम गर्ने बताए।
कार्यक्रम जलस्रोत र सिँचाइ विकास डिभिजन कार्यालय अर्घाखाँचीका लेखापाल शिवहरि खनालको स्वागत मन्तव्य र सूचना अधिकारी रामजी भट्टराईको सञ्चालनमा सम्पन्न भयो।
समीक्षा कार्यक्रममा शीतगङ्गा नगरपालिका प्रमुख छविलाल पौडेल, भूमिकास्थान नगरपालिकाका प्रमुख झविलाल थापा, छत्रदेव गाउँपालिकाका अध्यक्ष चन्द्रमान श्रेष्ठ, मालारानी गाउँपालिका अध्यक्ष दलबहादुर भट्टराई, पाणिनि गाउँपालिकाका अध्यक्ष टेकराज न्यौपानेलगायत जिल्लास्थित राजनीतिक दलका प्रतिनिधि, विभिन्न कार्यालयका प्रतिनिधि, सिँचाइ र जलउपभोक्ता, सञ्चारकर्मीलगायतको सहभागिता थियो।
जलस्रोत र सिँचाइ विकास डिभिजन कार्यालय अर्घाखाँचीअन्तर्गत जरेखोला बगाले ५०० फाँट सिँचाइ योजना सन्धिखर्क–४ र छत्रदेव–६ को कार्य निर्माण सम्पन्न गर्नुपर्ने म्याद एक वर्ष रहेकामा लुम्बिनी निर्माण सेवा, सन्धिखर्क–८ ले दुई महिना १८ दिनमा सम्पन्न गरेको सिँचाइ कार्यालयका डिभिजन प्रमुख भुसालले जानकारी दिए।
उनका अनुसार लुम्बिनी निर्माण सेवा, सन्धिखर्क–८ का प्रोपाइटर नारायण पौडेलले निर्माण सम्पन्न गर्नुपर्ने म्याद एक वर्ष रहेकामा दुई महिना १८ दिनमा सम्पन्न गरी अब्बल निर्माण व्यवसायीका रूपमा स्थापित भएका छन्। रासस
प्रकाशित: २३ श्रावण २०८२ १५:१० शुक्रबार





