श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले यस वर्षको अन्तर्राष्ट्रिय आप्रवासन दिवस विशेष उत्साह र विविध कार्यक्रमका साथ सप्ताहव्यापी रूपमा मनाउने भएको छ।
हरेक वर्ष डिसेम्बर १८ तारिखका दिन विश्वभर मनाइने यो दिवसको सन् २०२५ को संस्करण ‘२५औँ अन्तर्राष्ट्रिय आप्रवासन दिवस’ नेपालमा पुस १ गतेदेखि ७ गतेसम्म मनाउने निर्णय सरकारले गरेको हो।
मन्त्रालयका अनुसार आप्रवासन क्षेत्रमा देखिएका चुनौतीको व्यवस्थापन र अवसरको सदुपयोग गर्ने उद्देश्यले यस वर्ष विशेष तयारी गरिएको छ। दिवसलाई अर्थपूर्ण बनाउनका लागि अन्तर्राष्ट्रिय र राष्ट्रिय दुवै स्तरका नाराहरू तय गरिएका छन्।
यस वर्षको अन्तर्राष्ट्रिय मूल नारा ‘आप्रवासीहरूको योगदानको सम्मान तथा उनीहरूको अधिकारको संरक्षण’ रहेको छ भने नेपालको राष्ट्रिय नारा ‘श्रम आप्रवासनका चक्रमा सुशासनः सुरक्षित, मर्यादित र सीपयुक्त आप्रवासन’ तय गरिएको छ।
यी नाराहरूमार्फत सरकारले श्रम आप्रवासनको सम्पूर्ण चक्रमा सुशासन कायम गर्ने, श्रमिकको योगदानको उच्च कदर गर्ने तथा उनीहरूको अधिकार संरक्षण गर्दै रोजगारीलाई सुरक्षित र मर्यादित बनाउने लक्ष्य लिएको मन्त्रालयले स्पष्ट पारेको छ।
दिवसलाई व्यवस्थित र प्रभावकारी बनाउन श्रम मन्त्रालयका सहसचिव पिताम्बर घिमिरेको संयोजकत्वमा मूल समारोह कार्यक्रम व्यवस्थापन समिति गठन गरिएको छ।
मन्त्रालयको नेतृत्वमा सरोकारवाला सरकारी तथा गैरसरकारी निकाय, विभिन्न विकास साझेदार संस्था तथा आप्रवासनको क्षेत्रमा क्रियाशील संघ–संस्थाहरूको सहकार्यमा साताव्यापी कार्यक्रमहरू सञ्चालन गरिनेछन्।
सप्ताहव्यापी कार्यक्रम अन्तर्गत सचिवस्तरीय सन्देशहरू सामाजिक सञ्जालमार्फत व्यापक रूपमा प्रवाह गरिनेछ। यसका साथै सञ्चारकर्मीहरूसँग विशेष अन्तरक्रिया, रक्तदान कार्यक्रम, नि:शुल्क स्वास्थ्य शिविर, विभिन्न खेलकुद प्रतियोगिता, सचेतनामूलक वाकथन र वादविवाद प्रतियोगिताजस्ता रचनात्मक क्रियाकलापहरू समावेश गरिएका छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेश जाने र फर्किने श्रमिकहरूलाई लक्षित गरी सन्देशमूलक सामग्री वितरण गर्ने तयारी समेत रहेको मन्त्रालयले जनाएको छ।
मन्त्रालयले यो दिवस केवल केन्द्रमा मात्र सीमित नराखी विदेशस्थित नेपाली कूटनीतिक नियोगहरू, सातै प्रदेश र सबै स्थानीय तहहरूमा समेत मनाउन आग्रह गरेको छ।
विदेशस्थित नियोग र स्थानीय सरकारहरूलाई आ-आफ्नै तहबाट सचेतनामूलक, अन्तरक्रियात्मक तथा सहभागितामूलक कार्यक्रमहरू आयोजना गर्न मन्त्रालयले विशेष अनुरोध गरेको छ।
श्रम मन्त्रालयले अन्तर्राष्ट्रिय आप्रवासन दिवस २०२५ लाई औपचारिकतामा मात्र सीमित नराखी सबै सरोकारवालाहरूको सक्रिय सहभागितामा नतिजामूलक बनाउने लक्ष्य लिएको छ।
सुरक्षित, मर्यादित तथा सीपयुक्त श्रम आप्रवासनको प्रवर्द्धनका लागि सरकारी प्रयास मात्र पर्याप्त नहुने भन्दै मन्त्रालयले निजी क्षेत्र, नागरिक समाज र सञ्चार जगतको हातेमालो र सहयोगको अपेक्षा गरेको छ।
प्रकाशित: १ पुस २०८२ १४:५७ मंगलबार





