तिब्बती क्षेत्रबाट भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको भीषण विनाशकारी बाढीपछि निर्जीवन बिमा कम्पनीहरूमा दाबी भुक्तानीको दायित्व थपिएको छ। बाढीबाट भएको क्षतिको विवरण संकलनसँगै विभिन्न १३ वटा निर्जीवन बिमा कम्पनीमा परेको ५८३ वटा प्रारम्भिक बिमा दाबी रकम मात्र झन्डै २६ अर्ब रुपैयाँ नाघेको नेपाल बिमा प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार यसअघि नै विभिन्न विपद् तथा दुर्घटनाबाट ठुलो दाबी भुक्तानीको दबाबमा रहेका बिमा कम्पनीहरूलाई यस बाढीले थप आर्थिक भार सिर्जना गरेको छ। कुल दाबीमध्ये सबैभन्दा ठुलो रकम दी ओरियन्टल बिमा कम्पनीमा परेको छ।
प्राधिकरणका अनुसार सो कम्पनीमा मात्र १३ अर्ब चार करोड रुपैयाँबराबरको दाबी परेको छ। यसैगरी युनाइटेड अजोड इन्स्योरेन्समा चार अर्ब ९७ करोड, सानिमा जिआइसीमा दुई अर्ब १० करोड, सिद्धार्थ प्रिमियरमा एक अर्ब ८८ करोड र शिखर इन्स्योरेन्समा एक अर्ब ८७ करोड रुपैयाँ बराबरको बिमा दाबी परेको छ।
अर्को बिमा कम्पनी हिमालयन एभरेस्ट इन्स्योरन्समा ६४ करोड ८७ लाख रुपैयाँ, नेको इन्स्योरेन्समा ५१ करोड ७० लाख रुपैयाँ र सगरमाथा लुम्बिनी इन्स्योरेन्समा २४ करोड २३ लाख रुपैयाँ बराबरको दाबी परेको प्राधिकरणले जनाएको छ।
बाढीबाट परेको बिमा दाबीको ठुलो हिस्सा इन्जिनियरिङ तथा ठेकेदार बिमाअन्तर्गत रहेको छ। यस क्षेत्रमा मात्र २० अर्ब ५० करोड ७७ लाख रुपैयाँ बराबरको दाबी परेको प्राधिकरणले जनाएको छ। सोही बाढीका कारण सञ्चालनमा रहेका तथा निर्माणाधीन गरी झन्डै डेढ दर्जन जलविद्युत् आयोजनामा ठुलो क्षति पुगेको छ। यससँगै बाढीले जनधनमा समेत व्यापक असर पारेको छ।
रसुवा र नुवाकोटका बाढी प्रभावित नदी तटीय क्षेत्रमा पुगेर उद्धार तथा क्षतिको विवरण संकलन गरिरहेका सरकारी अधिकारीहरूको प्रारम्भिक अनुमानअनुसार करिब दुई हजार घर डुबानमा परेका छन्।
प्राधिकरणले जानकारी गराएअनुसार सम्पत्ति बिमातर्फ दुई अर्ब ३४ करोड र मोटर बिमातर्फ एक अर्ब ५५ करोड रुपैयाँ बराबरको दाबी परेको छ। त्यस्तै परिवहन बिमाअन्तर्गत ८९ करोड ७७ लाख रुपैयाँ बराबरको दाबी परेको छ।
व्यवसायीले रसुवागढी नाकामा मात्र बाढीका कारण सात सयभन्दा बढी नयाँ गाडी र दुई सयभन्दा बढी कन्टेनर बगाएको बताएका छन्। यस बाढीबाट ठुलो मानवीय क्षतिसमेत भएको छ। सरकारले अहिलेसम्म एक हजारभन्दा बढी मृतकको शव फेला परेको बताएको छ।
अझै ठुलो संख्यामा मानिसहरू बेपत्ता रहेको अनुमान गरिएको छ। यस बाढीपछि स्वास्थ्य बिमातर्फ समेत अहिलेसम्म चार करोड १६ लाख रुपैयाँ बराबरको दाबी परेको बिमा प्राधिकरणले जनाएको छ।
बाढीले रसुवा र नुवाकोटको त्रिशूली नदी तटीय क्षेत्रमा रहेका ठुला जलविद्युत् आयोजना तथा पूर्वाधारमा भएको क्षतिका कारण इन्जिनियरिङ तथा ठेकेदार बिमाअन्तर्गत मात्र साढे २० अर्ब रुपैयाँभन्दा बढीको दाबी परेको छ। यस्तो ठुलो दाबीले बिमा कम्पनीहरूको अन्डरराइटिङ नाफामा दबाब सिर्जना गर्न सक्ने देखिन्छ।
विशेषगरी पुनर्बिमा कभरेज पर्याप्त नभएका वा ठुलो ‘रिटेन्सन’ आफैंले बेहोर्नुपर्ने कम्पनीमा यसको प्रभाव तुलनात्मक रूपमा बढी पर्न सक्छ। तर ठुलो दाबी रकम देखिँदैमा त्यति नै रकमले कम्पनीको मुनाफा घट्छ भन्ने हुँदैन। बिमा कम्पनीहरूले जोखिमअनुसार पुनर्बिमा गराएका हुने भएकाले दाबीको ठुलो हिस्सा पुनर्बिमा कम्पनीबाट फिर्ता प्राप्त हुन सक्छ।
सोही कारण बाढीबाट परेको कुल दाबी र सम्बन्धित बिमा कम्पनीले वास्तविक रूपमा बेहोर्नुपर्ने दायित्वबिच ठुलो अन्तर हुन सक्ने छ। अन्ततः कम्पनीको वास्तविक वित्तीय प्रभाव पुनर्बिमा संरचना, रिटेन्सन तथा दाबीको अन्तिम मूल्यांकनपछि मात्र स्पष्ट हुने छ।
प्रकाशित: १९ भाद्र २०८३ १२:५२ शुक्रबार




-600x400.jpg)
