१६ वर्षीया इनिशा विकको बलात्कारपछि हत्या भएको घटनामा परिवारले २७ दिनपछि शव बुझेका छन्। इनिशा फागुन २३ गते वीरेन्द्रनगर-१ स्थित घरबाट विद्यालय जान निस्किएकी थिइन्। त्यसपछि उनी नजिकैको जंगलमा अचेत अवस्थामा फेला परेसँगै उपचारका क्रममा उनलाई मृत घोषणा गरिएको थियो। घटनापछि प्रहरीले अनुसन्धान सुरु गलगत्तै उनको बलात्कारपछि हत्या भएको निष्कर्ष निकालिएको थियो।
अस्पतालको पोस्टमार्टम रिपोर्ट, डिजिटल प्रमाण तथा अन्य तथ्य संकलन गर्न समय लागेकाले शव लामो समयसम्म कर्णाली प्रदेश अस्पतालमा राखिएको थियो। कानुनी प्रक्रिया पूरा भएसँगै परिवारले शव बुझ्न सहमति जनाएको प्रहरीले जनाएको छ।
यसैबीच, जिल्ला अदालत सुर्खेतले घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका चार नाबालकलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ। न्यायाधीश दीपक ढकालको इजलासले मंगलबार उनीहरूलाई बालसुधार गृहमा राखेर मुद्दा अगाडि बढाउन निर्देशन दिएको हो।
अदालतले शव परीक्षण प्रतिवेदनका आधारमा पीडितमाथि अत्यन्त यौन हिंस्रक तरिकाले करणी गरिएको ठहर गरेको छ। रिपोर्टअनुसार यौनाङ्गमा गम्भीर क्षति र अत्यधिक रक्तस्रावका कारण मृत्यु भएको पुष्टि भएको छ। अदालतले आरोपितमध्ये एकले दिएको ‘सहमतिमा सम्बन्ध भएको’ भन्ने बयानसँग तथ्य नमिलेको जनाएको छ।
प्रहरी अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले चारै जनाविरुद्ध जबरजस्ती करणी तथा ज्यान मार्ने अभियोगमा मुद्दा दर्ता गराएको थियो। घटनाको गम्भीरता र उपलब्ध प्रारम्भिक प्रमाणका आधारमा अनुसन्धान पूरा नहुँदासम्म थुनामै राखेर मुद्दा अघि बढ्ने जिल्ला अदालत सुर्खेतले जनाएको छ।
अदालतको पूर्णपाठ







प्रकाशित: १९ चैत्र २०८२ ११:२८ बिहीबार





