२३ भाद्र २०८३ मंगलबार
image/svg+xml
समाज

सर्सिया नदी प्रदूषण गर्ने उद्योगीलाई सुध्रन उद्योगमन्त्री यादवको सातदिने समय

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले वीरगन्ज-पथलैया औद्योगिक करिडोरका उद्योगीहरूलाई सिर्सिया खोला प्रदूषण रोक्न एक साताको समय दिएकी छन्।

सोमबार मन्त्रालयमा उद्योगीहरूसँगको छलफलका क्रममा मन्त्री यादवले वातावरण संरक्षणसम्बन्धी कानुनी मापदण्ड उल्लंघन गरेर सिर्सिया खोला प्रदूषण गर्ने उद्योगहरूले प्रदूषण नियन्त्रण नगरेमा सात दिनपछि कारबाही सुरु गरिने भन्दै चेतावनीसमेत दिएकी हुन्।

वीरगन्ज-पथलैया औद्योगिक करिडोरमा रहेका अधिकांश उद्योगले उद्योगबाट निस्कने रसायनयुक्त पानीलाई सिधै सिर्सिया नदीमा मिसाउने गरेको उनले आरोप लगाइन्। खोला प्रदूषण गर्नेलाई पटकपटक सजग गराउँदा पनि हालसम्म सिर्सिया खोलाको प्रदूषण रोक्न कुनै सुधार नदेखिएको भन्दै उनले गुनासो गरिन्। 

खोला प्रदूषणका कारण यस क्षेत्रका जनताले निरन्तर गुनासो गरिरहेकाले मन्त्रालय यस विषयमा गम्भीर भएको उनले बताइन्। ‘तपाईंहरूलाई एक हप्ताको समय छ’, उनले उद्योगीसँगको बैठकमा भनिन्, ‘के-के सुधार गर्नुपर्ने हो, आजै थाल्नुहोस्। आगामी साता मन्त्रालयको विशेष टोली स्थलगत निरीक्षणका लागि आउने छ र त्यसपछि नियमअनुसारको प्रक्रिया अगाडि बढाइने छ।’ विगत लामो समयदेखि यस क्षेत्रका किसान र सर्वसाधारणले सिर्सिया नदीलाई पुनर्जीवन दिन माग गर्दै आएका छन्।

यस क्षेत्रका उद्योगहरूबाट निस्केको प्रदूषित पानी खोलामा छाड्दै आएकाले बाराको सिमरा, जितपुर, पर्साको सिर्सिया, ताजपुर, रामगढवा, रामवन, रानीघाटलगायत दर्जनौं गाउँका लाखौं बासिन्दा सिर्सिया खोलाको प्रदूषणले प्रभावित भएको उनले बताइन्।

उद्योगहरूले वातावरण संरक्षण ऐनको दायरा उल्लंघन गरी दूषित पानी खोलामा पठाउँदा स्थानीय जनजीवन, पशुपालन र समग्र मानव स्वास्थ्यमा गम्भीर संकट उत्पन्न भएको मन्त्री यादव बताइन्। उद्योगीहरूलाई यो विषयलाई केवल औपचारिक बैठकका रूपमा मात्र नलिन र तत्काल सुधारका कार्य थाल्न निर्देशनसमेत दिइन्। उद्योगीहरूले आफ्ना उद्योगबाट निस्कने रसायनयुक्त पानी र फोहोर व्यवस्थापन नगर्दा वीगन्जको ‘लाइफलाइन’ मानिने सिर्सिया नदीको अस्तित्व संकटमा परेको छ। दस/दस जरिवाना गर्दा पनि प्रदूषण नियन्त्रण गरेनन्।

गत साउन पहिलो हप्ता उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत रहेको उद्योग विभागले सिर्सिया नदीमा फोहर फ्याँक्ने ६ वटा उद्योगलाई १० लाखका दरले जरिवाना गर्ने निर्णय गरेको थियो। उद्योग विभागका महानिर्देशक जितेन्द्र बस्नेतले १० लाखका दरले जगदम्बा स्टिल इन्डस्ट्रिज लिमिटेड, बारा, हुलास स्टिल इन्डस्ट्रिज प्रालि बारा, शिवशक्ति घिउ उद्योग प्रालि, बारा, सुशील वनस्पति प्रालि, पर्सा, अन्नपूर्ण भेजिटेबल प्रोडक्ट्स, बारा र अशोक स्टिल इन्डस्ट्रिज प्रालि बारालाई जरिवाना गरिएको बताएका थिए।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवको अगुवाइमा सिर्सिया नदी दुर्गन्धित गर्ने उद्योग तथा कलकारखानालाई प्रदूषण नियन्त्रण गर्नका एक महिनाको समयसीमा दिइएको थियो। एक महिनाको अवधिमा उद्योग कलकारखानाबाट निस्कने फोहोरमैला तथा प्रदूषण नियन्त्रण नगरेको भन्दै उद्योग विभागले १२ वटा उद्योगलाई कारबाही प्रक्रिया अघि बढाएको थियो।

उद्योग विभागले मधेस प्रदेश सरकारमातहत पर्ने ६ वटा उद्योग तथा कलकारखानालाई आवश्यक कारबाहीका लागि सिफारिस गरेको थियो। यसअघि वातावरण विभागको प्राविधिकसहितको अनुगमन टोलीले बारा र पर्साका २१ उद्योगको स्थलगत निरीक्षण गरी फोहोर पानीको नमुना संकलन गरेको थियो।

नमुना संकलन गरेकामध्ये १२ वटा उद्योग कलकारखानाबाट निस्कने पानी प्रदूषित भेटिएपछि कारबाही प्रक्रिया अघि बढाइएको थियो। सिर्सिया नदी वीरगन्ज-पथलैया औद्योगिक करिडोरका उद्योगबाट वर्षौंदेखि रसायनयुक्त फोहोर पानी मिसिँदै आएपछि अत्यधिक प्रदूषित हुँदै आइरहेको छ।

प्रकाशित: २३ भाद्र २०८३ १२:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App